घर पुर्ने, खेतबारी मास्ने सडक

सविता बुढा

बझाङको छविसपाथिभेरा गाउँपालिका-६ बिसौनाका मदन बिकको घरबाट एक कुना झरिसकेको छ।

ढुंगाको चिनाइ, माटोको गाह्रो र छत भएको घर उनले दस वर्ष अघि साढे तीन लाख खर्चेर बनाएका थिए।

केही समयअघि सडक बनाउन भन्दै डोजर आयो। डोजर चलाउनेले सोच-विचार  नगरी काम गरे।

उनको घर तलबाट सडकको ट्रयाक छ।  ट्र्याकभन्दा तलतिर स्कुल छ।

‘कुन दिन अब पुरै घर नै झर्छ होला,’ उनले भने।

उनको घर भत्कनुको कारण विकासका नाममा जथाभाबी बनाइएको सडक हो।

‘घरै जोखिम पार्ने गरी सडक खने। त्यहीँ तल स्कुलको फिल्ड बनाउन विद्यालयले जमिन काट्दा भासिएर घर भत्कने अवस्थामा छ,’ बिकले भने।

घर भत्कने हो कि भन्ने लागेर उनले सामान अर्काका घरमा राखेका छन्।

‘म त कामका लागि सदरमुकाम चैनपुरमा बस्छु तर गाउँमा घर भत्कने हो कि भनेर सामान चैतदेखि अर्काको घरमा राखेको छु,’ उनले भने।

घरमूनि सडक बन्दा आएको जोखिमबारे उनले गाउँपालिकालाई खबर गरिसकेका छन्। प्रहरीले मुचुल्का पनि बनाएर लगेका छन्।

‘स्थानीय तहको सरकारको नै जिम्मेवारी भएकाले केही मद्दत गर्छ कि भन्ने आश छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-08-18 10:49:54

प्रतिकृया दिनुहोस्