बलिउड निर्देशक तथा कलाकार निशिकान्त कामतको निधन

फोर्स र दृश्यम जस्ता फिल्मको निर्माण गरेका निर्देशक निशिकान्त कामतको सोमबार हैदराबादमा निधन भएको छ। उनलाई १७ दिनअघि अस्पताल भर्ना गरिएको थियो। 

सोमबार बिहान उनको निधनको खबर बाहिरिएको थियो। अभिनेता रितेश देशमुखले उनको निधन नभएको र उनी भेन्टिलेटरमा भएको जानकारी दिएका थिए। तर, साँझ उनी निधन भएको खबर प्रकासित भयो। 

कामतलाई लिभर सिसोसिस भएको थियो। उनलाई ३१ जुलाईमा हैदराबादको गचिबोवलीस्थित एआईजी अस्पालमा भर्ना गरिएको थियो। ५० वर्षीय कामतले मुम्बई मेरी जान, फोर्स, लय भारी (मराठी फिल्म), दृश्यम, रकी ह्याण्ड्सम र मदारी फिल्ममा निर्देशन दिएका थिए। 

सन् २००५ मा मराठी फिल्म ‘डोम्बिवली फास्ट’ मा निर्देशन गर्दै बलिउडमा डेब्यु गरेका कामतलाई पहिलो फिल्ममै मराठी फिल्मका लागि राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। दृश्यमबाट उनको नाम चर्चामा आएको हो। सन् २०१५ मा रिलिज भएको यो फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन जस्ता कलाकार सम्मिलित थिए। उनी राम्रो अभिनेता पनि थिए। 

उनले वे हाथ आने दे, सतच्या आत घरात (मराठी), ४०४ एरर नट फाउण्ड, रकी ह्याण्ड्सम, फुगे, ड्याडी, जुली–२, भावेश जोशी जस्ता फिल्ममा अभिनय गरेका थिए। 

सन् २०१६ मा रिलिज रकी ह्याण्ड्सममा उनी जोन अब्राहमको अपोजिट नेगेटिभ रोलमा थिए। उनको अन्तिम फिल्म भावेश जोशी थियो।

प्रकाशित मिति: : 2020-08-17 18:11:52

प्रतिकृया दिनुहोस्