करण जौहर फेरि विवादमा, संगठनको बदनाम गरेको भन्दै भारतीय वायुसेना असन्तुष्ट

भारतीय वायुसेनामा महिला पाइलटको भूमिकालाई लिएर फिल्म बनाएका बलिउडका चर्चित निर्माता निर्देशक करण जौहर गलत तथ्यका कारण विवादमा परेका छन्। 

हिन्दी फिल्ममा परिवारवादलाई प्रसय दिएर विवादमा रहेका करण युवा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा पनि विवादमा तानिएका थिए। 

करणको ‘गुञ्जन सक्सेसः द कारगिल गर्ल’ हालै ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो। चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपुरलाई मुख्य भूमिकामा राखिएको यो फिल्ममा भारतीय वायुसेनाको छवीलाई नकरात्मक देखाएको भन्दै करण माथि विवाद सुरु भएको छ। 

वायुसेनाले पहिले नै फिल्मको विषयवस्तुलाई लिएर आपत्ति जनाइसकेको छ। वायुसेनाले करण जौहर र धर्मा प्रोडक्सनमाथि झुटो कुरा बेचेको आरोप लगाएको थियो। 

‘गुञ्जन सक्सेसः द कारगिल गर्ल’ भारतीय वायुसेनामा १५ वर्ष काम गरेकी विङ कमाण्डर नम्रता चाण्डीको कथामा आधारित छ। चाण्डीले हालै आउटलुक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘फिल्म निर्माताहरू फिल्म सुरु हुनुभन्दा पहिले ‘कहानी काल्पनीक भएको र कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ’ भनेर रचनात्मक स्वतन्त्रताको आडमा मनलाग्दी गर्छन। सिनेमा बनाउने लाइसेन्स तथा रचनात्मक स्वतन्त्रता ‘कभी खुसी कभी गम’ जस्ता बबल गम सिनेमामा लागु हुन सक्ला। तर, नियम र प्रोटोकलमा स्थापित भारतीय वायुसेना जस्तो प्रतिष्ठित संस्थामा लागु हुँदैन।’

चाण्डीले फिल्ममा वायुसेनाको विषयमा राम्रोसँग रिसर्च पनि नगरिएको बताउँदै भनेकी छिन्, ‘फिल्ममा देखाए जस्तै मसँग कहिल्यै पुरुष सहपाठीले खराब व्यवहार गरेनन्। हो म नियुक्त हुनुअघि महिलाको लागि बेग्लै ट्वाइलेट थिएन, कपडा परिवर्तन गर्ने कोठा थिएन। तर, मेरो लागि सबैले कोठा छोडिदिन्थे। अझ, मेरो सुरक्षाका लागि सुरक्षाकर्मी बाहिर बसेका हुन्थे।’

करण जौहरले वायुसेनामा काम गर्ने सबै महिला अधिकारीको बेइज्जती गरेको भन्दै चाण्डीले असन्तुष्टी जाहेर गरेकी छिन्।

प्रकाशित मिति: : 2020-08-17 12:55:16

प्रतिकृया दिनुहोस्