३५ वर्षदेखि भारी बोकिरहेका तिलक भन्छन्- मेरो भागमा सुख परेन क्यार !

सेतोपाटी

काठमाडौं

जुना श्रेष्ठ

तीन दशक बढी भयो तिलकको सुख-दुःखको साथी नाम्लो भएको। नाम्लोको पातोले उनको थाप्लोको भार बुझेको छ। यसको बरियोले पिठ्युँको दुखाइ भोगेको छ। थाप्लोको भारले उनको कर्म पूरा हुन्छ। पिठ्युँको दुखाइसँगै पे‍टमा आहारा पर्छ।

तर पाँच महिनायता तिलकको थाप्लोले सोचेजस्तो कर्म पाएको छैन। पिठ्युँको दुखाइ नभएकै कारण पेटमा राम्रो खाना पुगेको छैन। नाम्लोले आराम पाउँदा उनी पनि 'आराम' गर्दैछन्।

न्युरोड क्षेत्र सेरोफेरो, बांगेमुडाका भरिया हुन् ५६ वर्षीय तिलक सुवेदी।

यतिबेला काठमाडौं सुनसान छ। व्यापार-व्यवसाय ठप्प हुँदा ठूल्ठूला व्यापारीलाई मात्र होइन, योसँगै जोडिएका मजदुर समेत मर्कामा परे। बजार बन्द भएलगत्तै भरियाहरू थप समस्यामा परेको सामूहिक बोली तिलक सुनाउँछन्।

'पहिले आठ-नौ सय कमाउन सजिलो थियो। अहिले सय रूपैयाँ कमाउन गाह्रो छ,' तिलक भन्छन्, 'गोदामहरू बन्द छन्। स-साना पसलमा भरियाको उत्ति काम पर्दैन। हामीलाई काम पाउनै मुश्किल छ। हात-मुख जोड्नै धौधौ परिसक्यो।'

मैलो टि-सर्ट, त्यसमाथि जिन्सको ज्याकेट अनि झुत्रे पाइन्ट। गोडामा बलियो चप्पल लगाएका तिलक टन्टलापुर घाम होस् वा बर्खे झरी, सधैं बांगेमुडा चोकमै हुन्छन्। घाम चर्के त्यही पेटीमा निदाउँछन्, पानी परे ओत लाग्छन्। बिहान ७ बजे चिया-नास्ता खाएर उनी चोकमा काम कुर्न पुग्छन्।

काम होस्, नहोस् साँझ ७ बजेसम्म त्यहीँ वरिपरि हुन्छन्। अचेल बजार खुल्ने आशैआशमा दिन कटाउँदैछन्।

प्रकाशित मिति: : 2020-08-17 12:28:03

प्रतिकृया दिनुहोस्