बुवाको कोरोना संक्रमणबाट मृत्यु, छोरा क्वारेन्टाइनमा, मुस्लिम समुदायले गरे अन्तिम संस्कार

कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु निकै पिडादायी हुन्छ। नत संक्रमित हुँदा आफन्तले भेट्न पाउँछन् नत मृत्यु भएपछि।

यसको मुख्य कारण मृतकका आफन्त पनि संक्रमित नहुन भन्नु नै हो। सरकारका अनुसार कोरोना भाइरस संक्रमितको शव जातीय संस्कार अनुसार जलाउने वा गाड्ने गरिएको छ।

संक्रमितले प्रयोग गरेको कपडा वा शवलाई छुँदा कोरोना भाइरस सर्ने चार प्रतिशत मात्र सम्भावना हुने भएकोले परिवार र आफन्तले डराएर शव छुन चाहदैनन्। यस कारण सुरक्षाकर्मीले सद्‌गति गर्नु परेको छ।

सुरक्षा व्यवस्था अपनाएर परिवारलाई परम्परा अनुसार शवको सद्गति गर्न भने दिन सकिने छ।

तर पर्साको वीरगञ्ज महानगरपालिका १३ मा एक हिन्दु धर्मका कोरोना पीडित पुरुष व्यक्तिको मृत्युपछि अन्तिम दाहसंस्कार गर्न मुस्लिम समुदायका व्यक्तिहरु मिलेर गरेका छन्। उनको आफन्त आउन नमानेपछि त्यही टोलका स्थानीय मुस्लिम समुदायले हिन्दु रितिरिवाज अनुसार दाहसंस्कार गरेका हुन्।

वडाअध्यक्ष तुफान अन्सारीका अनुसार शिवनगरका बासिन्दा लालबाबु शाह केही अघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। 

अस्पतालको आइसोलेसनमा बसेर उपचार गराएपछि उनी केही दिनपछि निको भएर घर फर्किएका थिए। 

‘केही दिनपछि निको भएर उहाँ घर फर्किनुभएको थियो। उहाँको रिपोर्ट नेगटिभ आएर घरफर्किनु भएको हाे,’ वडाअध्यक्ष अन्सारीले भने। 

तर केही दिनपछि शाहलाई स्वास्थमा गडबडी महसुस भयो। उनलाई परिवारका सदस्यले वीरगञ्जस्थित बयोधा अस्पताल लगे। उनको स्वास्थ्यमा थप समस्या आएपछि आइसोलेसनमा राखेर उपचार गराउँदा गराउँदै मृत्यु भयो। 

उनको मृत्युपछि कोरोना संक्रमण भएको रिपोर्ट आयो। ‘पहिला पनि कोरोन संक्रमित भएका कारण कोरोनाकै कारण मृत्यु भएको हो भनेर अनुमान लगाउन गाह्रो थिएन्,’ वडाअध्यक्ष अन्सारीले भने, ‘ पछि रिपोर्ट आएपछि परिवार डराएको हुनुपर्छ।’ 

उनका अनुसार चिकित्सकले मृत्यु भएको खबर दिएर अन्तिम दाहसंस्कार गर्न भनियो। तर आफन्त अगाडी सरेनन्। 

हुन त शनिबार मात्रै जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको शवबाट कोरोना भाइरस नसर्ने भन्दै जनमानसमा रहेको आशङ्का मेटाउने प्रयास गरे। उनले विभिन्न सञ्चारमाध्यमबाट हुने प्रेस ब्रिफ्रिङमै उक्त कुरा बताएका थिए। 

उनले हाल शव व्यवस्थापन गर्दा सुरक्षात्मक सामग्री प्रयोग गरेका सीमित सेनाबाट हुँदै आएपनि सुरक्षा अपनाएर शव व्यवस्थापन गर्न सकिने बताए। यसको कारण पनि पछिलोपल्ट अग्रभागमा खटिने धेरै सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण भएकै कारण हो। अहिलेसम्म स्पष्ट खाका नबने पनि काेराेना संक्रमितकाे शव सेनाले नै व्यवस्थापन गर्दै आएकाे छ।

यता बारामा शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी पनि कोरोन संक्रमित भएपछि शव व्यवस्थापनमा मृतकका आफन्तै अगाडी सर्नुपर्ने अवस्था आएको छ। 

यसैलाई मध्यनजर गर्दै शाहको शवलाई पनि सेनाले जिम्मा लिन सकेन। चिकित्सको अन्तिम भरोसा भनेको अब आफन्त थियो। 

तर, त्यो भरोसा छिन भरमै टुट्यो। मृत्युपश्चात उनको शव व्यवस्थापनमा कोही आएनन्।

‘मृतकको जेठो छोरा राजा बाबु क्वारेन्टाइनमा छन्। उनी आउन नसक्ने जानकारी गराएपछि शव कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चल्न लाग्यो। शवलाई यसरी नै राख्न त भएन। अनि हामीले यसलाई व्यवस्थापन गर्ने निर्णय गर्‍यौं,’ स्थानीय मन्सुर खान भन्छन्।

यसपछि उनीहरुले शवको व्यवस्थापन हिन्दु परम्परा अनुसार नै गर्ने योजना बनाए। ‘हिन्दु परम्परामा बाबु मर्दा छोरोले कपाल काट्ने र दागबत्ति दिने परम्परा छ। तर अबसोच उनका कान्छो छोराको कपाल काट्दिने पनि कोही भएनन्,’ खान सुनाउछन्। 

त्यसपछि मानवताको लागि भएपनि मृतकको अन्तिम बिदाइ गर्न मुस्लिम समुदाय अगाडी सरेको खान बताउछन्। 

‘विश्व आपदाको क्रममा रहेपनि हाम्रो समाजमा कोरोना लागेको व्यक्तिलाई घृणाको नजरले हेरिरहे छ। यस्ताे बेला हामीले एक सहासी कदम चाल्यौं। हामीले कोरोना संक्रमितको शवलाई व्यवस्थित गर्‍यौं, त्यो पनि रितिरिवाज अनुसार’, उनी भन्छन्। 

उनी नैकाटोला र राधेमाईका केही व्यक्तिले गर्दा नै मानवता जिउँदै हुने अनुभूति समाजलाई गराउन सफल भएको बताउछन्। 

शव व्यवस्थापनमा सघाउनु जनप्रतिधिको पनि दायित्व रहेको उनको भनाइ छ।

केही महिना अगाडी गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरस संक्रमित दुई व्यक्तिको शव व्यवस्थापनमा स्थानीय सर्वसाधारण र सरकारी अधिकारीबीच विवाद हुँदा झडप भएको थिया‍े। 

यता बारामा पनि शव व्यवस्थापनकाे क्रममा स्थानीय बाटाे नै अवराेध गरेर भाजाे हाल्ने काम गरेका थिए।

अवरोध गर्ने प्रयास गर्नु पछाडिको कारण कोरोना भाइरस संक्रमितकाे शवको माध्यमबाट समुदायमा काेराेना संकरमण फैलन्छ भन्ने सर्वसाधारणमा भएकाे एक त्रास नै हो। 

तर कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिले हाछयुँ नगर्ने, सास नलिने र नखोक्ने भएका कारण शवबाट कोरोना भाइरस नसर्ने 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतम बताउछन्। 

‘कोरोना संक्रमितको शवबाट कुन मात्रामा र कसरी संक्रमण फैलन्छ ठ्याक्कै भन्न सकिँदैन,’ उनी भन्छन्, ‘सामान्यत सङ्क्रमितको मृत्यु भएको १० घन्टापछि अरूमा संक्रमण फैलने सम्भावना कम हुन्छ।’

तर शव व्यवस्थापन कार्यविधि २०७६ का अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरे पनि शव सद्गगतको क्रममा अपनाउनु पर्ने कार्यविधि तय गरिएको उनले बताए।

उनले सद्गगत गर्नुपूर्व आफ्नो कूल परम्परा अनुसार शवलाइ नछोई कम्तीमा एक मिटर टाढावाट पालैपालो हेर्न दिन सकिने कार्यविधिमा गरेको बताउदै डव्लूएचओको निर्देशिका अनुसार शवलाई र छुन नपाउने र शव हेर्न कम्तीमा एक मिटरको दूरी कायम गर्नुपर्ने बताए।

शवलाई अस्पताल वा घरबाट अन्तिम संस्कारका लागि लैजाने क्रममा अस्पताल एम्बुलेन्सका कर्मचारी सद्गगत गर्ने व्यक्तिहरू मृतकका आफन्तजनले पञ्जा, चश्मा, टोपी मास्क सहितको पीपीई प्रयोग गर्नुपर्ने मापदण्ड तय गरिएको उनले बताए। उनले उक्त कुराकाे प्रयाेग गरेर शव व्यवस्थापन गर्दा केही नहुने दावी समेत गरेका छन्।

तर शवलाई अन्तिम संस्कार गर्ने सम्बन्धमा सांस्कृतिक छनोट र उपलब्ध श्रोतलाई ख्याल गर्नुपर्ने उनले बताए।
 

प्रकाशित मिति: : 2020-08-16 22:21:31

प्रतिकृया दिनुहोस्