गुलाफ

कथा

(यो भाग लेख्दै गर्दा म सम्झिरहेछु ती बोटहरू, जहाँबाट सजिलै गुलाफ फुल्छ, फर्किन्छ र झर्छ (मर्छ)!)

एक साँझ। अफिसबाट रूम फिर्दै थिएँ। अचानक एउटा कार मेरो अगाडि आएर रोकियो। कार निख्खर कालो र ब्रान्डेड थियो। कुनै सेलेब्रेटीले चड्ने वहान जस्तै। कार मेरो अगाडि रोकिएको यो ठिक सत्य कुरा हो। तर किन? यै एउटा प्रश्न काफि ठहरियो म एकै पटक भयभित र अचम्मित हुन।

केही बेरमै कारको ढोका खुल्यो। केटी जसले थाइकट कपाल काटेकि थिई, हातमा ट्याटु खोपेकि थिई, नाइटो नछोपेकि थिई र आधा जिन्स लगाएकी थिई। ऊ कसैको आदेशमा टाउको हल्लाउँदै मेरो सामुन्नेमा आइपुगी। केही नबोली खाम दिएर जाँदै थिई। अचानक रोकिई। आधा फर्कि। र ‘नच्यात्नु होला,’ भनेर कारमा चढी। अँ ठिक त्यति बेलै गए ऊसँगै हुत्तिएर हावाका कणहरु। उडेर धूलोका अणुहरु।

के म यो परिस्थितिलाई पत्याउँ? मानिदिउँ म सत्य नै भोग्दै छु?

उसले हातमा थमाईदिएको खाम तिर हेरेँ। बाहिर लेखिएको थियो, ‘आहान।’ के मलाई चिनेको छ? मैले त छैन चिनेको, अहँ पटक्कै छैन! फेरि कसरी थाहाँ पाइ मेरो नाम? म नजिक आएर अटो रोकियो। चडेँ। गुड्यो। के होला खाम भित्र? के लेखिएको हुन सक्ला? कतै धम्की? अहो! चस्कियो छाति। झस्कियो मन। अनि नच्यात्नु होलाको अर्थ? अटो रोकियो। उत्रिएँ। भाडा दिएँ। ढोका खोलेँ। भित्र पसेँ। बन्द गरेँ। कपडा बदलेँ। दुई गिलास पानी घुट्काएँ। लामो सास फेरेँ। अनि उघारे खाम। मन।

आहान,

चिन्यौं? त्यै तिमीले नचिनेर छाडिदिएको बिरूवा। जो बढेर फुल्दो पनि रहेछ। फल्दो पनि रहेछ। सम्झ्यौ? त्यै किनार जो खोलासँगै समुन्द्रसम्म पुग्दोरहेछ। उसको पनि आफ्नै रहर, बाटो र गन्तव्य हुँदो रहेछ। अब त चिन्यौं? अब त सम्झ्यौं? स्याबास! अन्ततः तिमी चिन्न सफल भयौ। अन्ततः तिमी सम्झिन सक्ने भयौ। सुहाना। सही पढ्यौ। सुहाना। एकदमै सही सुन्यौ। सुहाना। दुरूस्तै अनुहार बनायौ मुटुमा।

अनि म यो के सुन्दै छु आहान। तिमीले विवाह गर्‍यौ रे, हो? विवाह.........!

उफ!

यसपछि के पढेँ कुनै होस नै रहेन। किनकि यो त्यहिँ प्रश्न हो र ऊ त्यहिँ पात्र हो। जसबाट म भागेर आएको थिए। जीवनको यो अन्तिम किनारासम्म। जीवनको यो अन्तिम सिमानासम्म। जीवनको यो अन्तिम क्षितिजसम्म। जीवनको यो अन्तिम जीवनसम्म।

निकै अबेरसम्म सोचमग्न भएको रहेछु। आफू भित्र कतै हराएको, कतै रूमलिएको र ठ्याक्कै कुन चिज? अँ साँच्चि म आफू भित्र ठ्याक्कै आफू खोज्दै पो रहेछु। जो गुमेको थियो। तत्कालीन परिस्थितिको मनोविज्ञान र समयको उग्र आवेगमा, गुम्नु नै अन्तिम विकल्प भएर अथवा बनाएर (जो नहुन पनि सक्थ्यो)।

अचानक ‘पानी’ ‘पानी’ ‘पानी’... प्यासी आवाजको तीनै प्ररारले म झल्यास्स भएँ। आफूलाई खाटमा पल्टिएको पाएँ। पत्रलाई सिरान मुनि घूसारी दिएँ।

जो भुइँको ओछयानमा पल्टिएकि छिन् र अहिले पानी मागिरहेकि छिन्। उनी मेरी श्रीमती हुन्।

जुरूक्क उठेँ। फिल्टरबाट एक गिलास पानी भरेँ। गएर सिरानमा बसेँ। उनको टाउको अलिकति उठाएँ। कुम आफ्नो काँधमा अडाएँ। अनि बिस्तारै पानी खुवाइदिएँ। खाइरहँदा मेरा आँखामा उनी यसरी हेरिरहेकि थिइन्। मानौं मेरो आँखामा उनले ‘उनी र म’ वायुमा बादल भएर उडिरहेको देखिनँ। वा जलमा जल राजा र जल रानी भएर बगिरहेको देखिनँ। कि देखिनँ, जुन लागेको रातमा गहिरो चुम्बनमा समाधिस्त भएको!

तिर्खा मेटिएछ क्यार! गिलासबाट मुख अलग्याइन्। गिलास एकातिर राखिदिएँ। जब म उनलाई सजक भएर सुताउँदै थिएँ, उनले भनिन्, ‘म मुर्दालाई किन प्रेम गर्नु हुन्छ? प्रेम त्यसलाई गर्नुहोस् जसलाई गरिन्छ।’

जुरूक्क उठेँ। तर त्यस भन्दा अघि भन्न भ्याइहालेँ, ‘चिहानले मुर्दालाई सधैं चोखो, सत्य र एकनास प्रेम गर्छ।’

गम्छ। सोच्छ।

‘विवाहको कुरा के उसले भर्खरै थाहा पाएकि हो?’

गम्छ। सोच्छ।

‘अनि यो कसरी सम्भव भयो खोज्न? यहाँ यति टाढा आएर बसेको मेरो ठेगान? वा बेठागान? मेरो अफिस? वा मेरो बास? मेरो निजत्व? वा अस्तित्व?’

गम्छ। सोच्छ।

‘वास्तवमा ऊ कसको खोजीमा आएकि हो? मेरो, जो अरू कसैको श्रीमान् भइसकेको छ वा आहानको, जो विगतका पन्नामा भेटिन सक्छ, नभेटिन सक्छ।’

ऊ श्रीमतीलाई कोठामा एक्लै छोडेर चोकतिर निस्कन्छ। रातको करीव आठ बजेतिर।

त्यो दिन म अलि ढिलो घर पुगेको थिए। आकाश हेर्दा पानी पर्ला पर्ला जस्तो थियो। चालै गेट खोलेँ। बाइक पार्क गरेँ। गेट लगाएँ। सचेततापूर्वक यताउता हेरेँ।

त्यो दिन अरू दिन जस्तै सामान्य थियो। शिवाय यी हर्कतहरू-मेरो उपस्थितिको स्वागतमा सधैं भुक्ने कुकुर त्यस दिन किन भुकिरहेको थिएन? (कुकुर नभुक्नुलाई त्यति महत्व नलिँदा पनि हुन्छ, तर मेरो मनोविज्ञानसँग जोडिएको हुनाले मैले लगिहालेँ, अफसोच छु यो कुरामा।), भान्साबाट उदास अनुहार लगाएर आमा र बहिनीहरू किन हेरिरहेका थिए? किन किन कराइरहेको थिएन रात जन्मिए देखि कराउँदै आएको किरो? किन अँध्यारो विरूद्धमा लड्न पिठ्यूँमा जुन बोकेर आइरहेका थिएनन् किरीहरू? जुन आकाशमा पनि त थिएन! मन छातिमा पनि त थिएन!

सायद यी हर्कतहरू संकेत थिए सुहाना, हाम्रा सपनाहरूमा आगो लाग्न आटिरहेको! सुहाना सुनिरहेकि छौनी, सायद ती हर्कतहरू संकेत थिए, कोही हाम्रा सपनाहरुमा आगो लगाउन आटिरहेको!

विशालताको अहममा समुन्द्र मज्जैले सुतिरहयो।

दनदन दन्किरहयो हाम्रो आलीङ्गन....

जुनको कामुक्तामा आकाश भुलिरहयो

दनदन दन्किरहयो हाम्रो प्रेम...

ए आमा, के तपाईँलाई थाहा थिएन र, म सुहानालाई माया गर्छु भन्ने? ठ्याक्कै सत्र पटक तपाईसित उसको भेट गराएको थिएँ। ठयाक्कै सत्र पटक तपाईँको ऊ सित भेट गराएको थिएँ। घरमै बुवा नभएको मौका पारेर ऊ ठयाक्कै तीन पटक आएकी थिई। खाना बनाएर खुवाएकि पनि थिई। आमा, ऊ हजुरलाई खुब मन पर्थिन् र?

तर आमा, तिमी एकदम कमजोर आमा रहिछ्यौ। धेरै नै निरीह, अर्थविहीन। र यति धेरै घाति कि आफू जसरी अर्काको घरबाट रूदैरूदै आयौं। त्यसरी नै ल्यायौं। र उफ्रीउफ्री नाच्यौ मेरो बिहेमा। धेरै धेरै बधाई छ आमा। मिस यू।

तरकारी ल्याएर फर्किन्छ। पकाउँछ। पस्किन्छ। श्रीमतीलाई खुवाउँछ। आफू खान्छ।

(यो भाग सक्दै गर्दा म हेरिरहेछु ती बोटहरु, जसबाट गुलाफ फुल्छ, फक्रिन्छ र झर्छ (मर्छ)!)

अर्को भागमा भेट हुने नै छ,

विदा!

प्रकाशित मिति: : 2020-08-15 14:33:52

प्रतिकृया दिनुहोस्