२०२५ साल (सन् १९६८) तिरको कुरा हो, भारतका तत्कालीन राष्ट्रपति जाकिर हुसेन खान नेपालको राजकीय भ्रमणमा आएका थिए। उनी मुसलमान भएकाले पशुपतिनाथ मन्दिर, मुक्तिनाथ, जनकपुर, लुम्बिनी जाने कुरो भएन। काठमाडौं बाहिर पोखरा जाने कार्यक्रम राखिएछ।
जाकिर पोखरा गएपछि गर्ने भाषण तयार भइसकेको थियो। फलानो मितिमा यति बजे अगाडि भाषण प्रचारप्रसार नगर्नू भन्ने (इम्बार्गो) सहितको भाषण गोरखापत्रलाई प्राप्त भएको रहेछ। फलस्वरूप जाकिर पोखरा जाने तय भएको दिन त्यो भाषण गोरखापत्रमा छापियो।
तर, मौसम खराब भएकाले जाकिरको पोखरा भ्रमण भएनछ। त्यतातिर गोरखापत्रले ख्याल गरेनछ। त्यसले गाल पर्ने नै भयो।
पोखराको त्यो भाषणमा माछापुच्छ्रे हिमाल, फेवाताल, आदिको अनुपम सौन्दर्य, लालिमा आदि वर्णनको सन्दर्भमा ‘मैले मेरा दुइटै आँखाले देखेकी जाज्वल्यमान सौन्दर्यकी साक्षात् जीवन्त मूर्ति जस्तै लाग्यो’ भन्ने आशयको अंश पनि छापिएछ।
खास कुरा त, जाकिर हुसेनको एउटा आँखा बिग्रेको रहेछ। एउटा आँखाले मात्र देख्दा रहेछन्। तर, भाषणमा ‘दुइटै आँखाले देखेकी....’ भन्ने पदावली थियो। यसले राष्ट्रपतिको अपमान भो भन्ने व्याख्या भएछ। भारतका तेस्रो राष्ट्रपति (कार्यकाल १९६७ मे – १९६९ मे) थिए, उनी।
त्यो भाषणको मस्यौदा भारतीय राजदूतावास वा विदेश मन्त्रालय कसले गरेका थिए, त्यो थाहा भएन। तर, उनले गर्दै नगरेको भाषण छापियो, नगएको ठाउँ गए भन्ने छापियो। अर्को, दुई आँखाको सन्दर्भ भाषणमा पर्नु अर्को त्रुटि थियो। साह्रै भावुक भएर भाषणको मस्यौदा गर्दा त्यस्तो हुन गएको होला।