पहिरोका प्रत्यक्षदर्शी भन्छन्- दुई मिनेटमै सर्वनाश

बाह्रखरी

काठमाडौं

अक्षर काका

बिहीबार रातभरि पानी परेको थियो । दुई-तीनदिन थामिएको पानी राति एकैपटक पर्दा सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीका आशाबहादुर दोङको मनमा संशय पनि उत्पन्‍न भएको थियो ।

गाउँमुनिका खेतका गह्रा पनि फुटेका छन् । बस्तीमाथि पनि धाँजा फाटेर मानिस छिर्न मिल्ने चिरा परेका छन् । कतै गाउँ सोहोर्ने त होइन ? उनले पूरा सोच्‍न पनि भ्याएका थिएनन्, एक्कासि धाँजा फाटेका मुनिपट्टि सानो पहिरो चल्यो ।

उनले पहिरो जानथाल्यो भनेर गाउँलेलाई सचेत गराउन पनि पाएनन् । ठूलो आवाजका साथ पहिरो चलिहाल्यो । त्यसपछि के-के भयो उनी सम्झन सक्दैनन् । दुई मिनेटमै गाउँलाई आधा छिमल्यो । डेढ सयभन्दा बढी घर रहेको झुरुप्प परेको बस्ती आधा पहिरोले निल्यो । 

पहिरोले ३७ घरमा क्षति पुर्‍याएको छ । ३८ जना हराएका मध्ये चारजनाको शव फेला परिसकेको छ । पहिरोले पुरेका स्थानमा चलमलाउन छाडेका हातखुट्टा देखिइरहेकाले जीवितै भेटिने सम्भावना रौंबराबर पनि छैन । “हेर्दाहेर्दा गाउँ छोप्यो । मैले केही सोच्‍नै सकिनँ । भूकम्प जाँदा पनि यति अताल्लिएको थिएन । म त ज्यान जोगाउन भागेछु । फर्किएर जाँदा सबै कुरा छोपिसकेको थियो,” आशाबहादुरले बाह्रखरीसँग भने ।

प्रकाशित मिति: : 2020-08-14 13:51:46

प्रतिकृया दिनुहोस्