डा. अतीन्द्र दाहाल
‘यो निर्वाचनमा कसैको हारजित भए पनि देश चाहिँ नहारोस्’ । पछिल्लो आम निर्वाचनको आसपास सामाजिक सञ्जालमा यस्ता भावनाहरू अधिक लेखिएका थिए । अन्ततः उक्त निर्वाचनले संसदीय प्रजातन्त्रलाई विरूप पार्न गलत अभ्यास गर्ने, राजनीतिक अस्थिरतामा रमाउने, नेपालको मौलिक अर्थतन्त्रलाई उदारीकरणका नाममा पूरै पराधीन बनाउने, घरका सदस्यभन्दा पाहुनाका अधिकार सशक्तीकरणको वकालत गर्ने शक्तिहरूलाई कम्तीमा एक कार्यकाल पूर्णविराम लगाइदियो । रोमाञ्चक सपना देखाएको शक्तिलाई सहज कार्यकारी परिवेशको प्रत्याभूति गराइदियो । अवरोधहीन सुरक्षित र सार्थक यात्राको बाटो प्रशस्त ग¥यो ।
तर आधाबाटोको यात्रासँगै राजनीतिमा असहज कम्पन छ । सत्तासीन दलभित्रको कलह अनि आरोप÷प्रत्यारोप असौन्दर्यात्मक तथा अशिष्टसमेत बन्दैछ । गलत प्रकारको प्रस्तुतिले प्रायः सही नै विषयवस्तुको गम्भीरतालाई पनि कमजोर बनाउँछ । मनोवैज्ञानिक रूपमा पनि आम जनविश्वास र आशा टुट्न सक्छ । कचहरी गर्नेहरूको दाउपेच अनि फाइदा÷बेफाइदा त अवश्य होला तर यसले आम नागरिकबीच घोर निराशा उत्सर्जन गर्दैछ ।