दैनिक १३ घन्टा टेम्पो चलाएर परिवार पाल्दै आएकी काभ्रेकी सोनाम तामाङ अहिले केही निरास देखिएकी छन्।
लामो समयको लकडाउनपछि खुलेको सार्वजनिक यातायातमा उनी सदाझै बिहान ७ बजे टेम्पो लिएर निस्कने र बेलुका ८ बजेसम्म चलाए पनि ग्याँस भर्न पैसा समेत कमाउन सक्दिनन्।
पछिल्लो समय राजधानीमा कोरोना भाइरसको महामारी समुदायस्तरमै फैलिएपछि टेम्पु चढ्ने मान्छे स्वभाविकै रूपमा घटेका छन्। कोही आक्कल झुक्कल चढेपनि डरै डरमा यात्रा गराउनुपर्ने हुन्छ।
दिनभरी ८ टिभसम्म टेम्पो चलाए पनि मुस्किलले ५ सय रूपैयाँ पनि कमाइ हुन्न।
‘अहिलेको अवस्थामा मान्छे नै छैनन्। पहिले झैँ कमाई हुन्न मान्छे नै हुदैन्। मुस्किलले १/२ जना मान्छे भेटिन्छ अनि कसरी कमाइ हुन्छ,’ उनले बिएल नेपाली सेवासँग भनिन्।
कोरोनाको भय थपिए पनि परिवारको गुजारा चलाउन दिनभरी टेम्पो चलाउने गरेको उनले बताइन्।
२०४५ सालमा काभ्रेको पाँचखालमा जन्मिएकी सोनाम तामाङले साधारण लेखपढ गरेकी छन्। सानैदेखि पढाईमा रुचि नभएकी उनले जसोतसो ५ कक्षासम्म पढिन्। ‘घरको आर्थिक अवस्था त्यति जानुक थिएन तर मलाई नै पढ्न मन नलागेपछि पढाई बिचैमै छोडेँ’, उनले भनिन्।
९ वर्षकै उमेरमा पढाई छोडेर काठमाडौं आएकी उनी चाबहिलमा दिदीसँगै बस्न थालिन्।
दिदीले पनि त्यतिखेरै टेम्पो चलाउने गरेकी थिइन्। दिदीकै संगतले उनी पनि टेम्पोप्रति आकर्षित भइन्। तर उमेर सानै भएकाले सिलाई बुनाईका तालिम दिइन्। त्यसपछि काम गर्न थालिन् धेर थोर कमाइन पनि ।
काममा अतिनै लगनशील र मिहेनती उनको २०६१ सालमा दिदीके देवर आयुष तामाङ्गसँग बिहे गरिन्। परिवारकै सहमतिमा बिहे भयो। आयुष पेन्टिङको काम गर्थे। बिहे गरेको दुई वर्षपछि पहिलो सन्तान जनम्इन्। त्यसको ५ वर्षमा माइलो छोरा र त्यसको ७ वर्षपछि कान्छो छोरा जन्माइन्। उनीहरूलाई राम्रै स्कुलमा पढाइरहेका थिए।
तीनै वटा छोरा जन्मिएपछि उनको सिलाई कामबाट भएको कमाइले पुग्न छोड्यो। श्रीमानको कमाइ पनि त्यति राम्रो थिएन। त्यसपछि उनले दिदीले जस्तै टेम्पो चलाउने निधो गरिन्।
२०६८ सालबाट उनले टेम्पो चलाउन थालिन्। पहिलेको भन्दा कमाई राम्रो हुन थाल्यो। काम पनि सजिलो लाग्न थाल्यो। त्यसपछि बिहान ७ बजे कोठाबाट बाहिरिने उनी साँझ ८:३० बजे तिर फर्कन थालिन्।
कामप्रतिको लगावले उनी दैनिक कम्तिमा ३५ सय जति कमाउँथिन्। ‘जीवन सहजै थियो। जेनतेन चल्दै आएको जीवनमा कोरोना भाइरसले ब्रेक लगाइदियो।
उनको कमाई कोरोनाको हल्ला चलेदेखि घट्न थाल्यो। झन् लकडाउन भएदेखि त जीवन नै डामाडोल भयो।
करीब ४ महिनाको लकडाउनले उनको जीवनमा धेरै उतारचढाव आए।
खान बस्न मुस्किलले सके पनि बाँकी अवस्था नाजुक छ।
सरकारले अहिले लकडाउन खोले पनि आफ्नो पेशामा भने बेक्र लागेको उनले बताइन्।
कोरोनाको भय भए पनि आफ्नो परिवारको गुजारा केही मात्रामा धानिने भएकाले मात्र दिनभरी टेम्पो चलाउनु परेको उनले बताइन्।
अहिले जस्तै यो पेशामा असर परिरहे बिकल्प खोज्ने बेला आएको उनले बताइन्। 'यही काम गर्ने मन छ, तर अली पछिसम्म पनि यस्तै भइरहे पसल खोलेर बस्छु होला’ उनले भनिन्, 'घाटा लाग्ने काम गर्नु पनि त भएन नि।' कोरोनाको डर छिट्टै हटे आफूलाई ढुक्क हुने उनको भनाइ छ।