प्रहरीको ‘मोस्ट वान्टेड’ सुचीमा रहेका जाली नोट कारोबारी अन्सारी पक्राउ

नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सुचीमा रहेका जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्। 

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई आज बिहान ८ बजे निजगढबाट पक्राउ गरेको हो।

काठमाडौंको दरबार मार्गमा केही हप्ता पहिले भएको १५ किलो सुनकाण्डका मुख्य अभियुक्त हुन। 

उक्त प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको रहेको प्रहरीले जनाएको छ।

सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परेपनि फरार भएका थिए ।

अन्सारीसँगै फरार रहेका भारतको गुजरातका सञ्जय पटेल भने अझै पक्राउ परेका छैनन् । 

१३ गते बिहान सुन्धाराबाट प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि अन्सारी, पटेल, निलेश सखियालगायतको गिरोहले भारत लैजाँन लागेको सुनचाँदी त्यहीँ छाडेर भागेका थिए ।

त्यसको भोलिपल्ट मुख्य आरोपी निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेललाई प्रहरीले पूर्वी नवलपरासीको दुम्कीबासबाट पक्राउ परेका थिए।

साउन १३ गते काठमाडौंबाट बरामद गरिएको सुनचाँदी अन्सारीले वीरगञ्जसम्म पुर्‍याइदिने र त्यहाँबाट सखिया आफैंले गुजरात लिएर जाने तयारीमा रहेको प्रहरी स्रोतले बताएको छ ।

उनी‍ पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीको खास मान्छे पनि हुन्। तर युनुसकै समूहमा भए पनि पछिल्लो पटक उनले आफ्नै समूह सञ्चालन गरिरहेका थिए।

अन्सारी बारा निवासी भएपनि प्रायः वीरगञ्जको तेजारथ टोलमा भएको घरमा बस्ने गर्छन्। उनले उतैबाट काराेबार चलाउने गरेकाे पनि प्रहरी स्राेतले बताएकाे छ।

यसअघि उनी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजारको नक्कली नोट ओसारपसारमा संलग्न रहेकाे खुलेको थियो।

तर उनी लगभग ३ वर्ष १० महिना फरार भए। तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोईले २०७२ जेठमा उनलाई पक्राउ गर्‍यो। 

प्रहरीका अनुसार युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने ठूलो व्यक्ति उनी पर्छन्। 

प्रकाशित मिति: : 2020-08-13 10:34:04

प्रतिकृया दिनुहोस्