वीरगञ्जमा झाडापखाला लगेकाे बालकलाई लगाइयाे चक्कर, काेराेनाकाे रिपाेर्ट आउनुअघि नै मृत घाेषणा

नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जमा १३ वर्षीय एक बालकको मृत्यु भएको छ।

झाडापखाला र बान्ताको विरामी बाराको बारागढी गाउँपालिका २ सुखीपत्रा निवासी १३ वर्षीय बालक सुशिलकुमार साहको मंगलबार बिहान १० बजे मृत्यु भएको हो।

सुशिलका भिनाजु उपेन्द्र साहका अनुसार आइतबार राति करिब ४ बजे थप उपचारका लागि वीरगञ्ज ल्याएका थिए।

‘५ वटा अस्पताल धाउँदा पनि कसैले भर्ना लिएनन्। त्यसपछि  बिहान ७ बजेतिर सुशिललाई लिएर घन्टाघर चोकमा पुगेको थिएँ।  प्रहरीको भन्सुनले दोस्रो पटकमा नेसनल मेडिकल कलेजले भर्ना लियो,’ उपेन्द्रले भने।

उनका अनुसार सुरक्षामा तैनाथ प्रहरीले नारायणी अस्पताल लैजान सल्लाह दिएका थिए। ‘जिल्लाको प्रहरी प्रमुख र सिडिओको फोन नम्बर पनि दिएका थिए। नारायणीको आकस्मिक कक्षमा पुग्दा त्यहाँका स्वास्थ्यकर्मीले बच्चा सिकिस्त रहेकाले आइसीयूमा भर्ना गर्नुपर्छ भन्दै फिर्ता पठाइदिए,’ उपेन्द्र भने।

त्यहाँबाट नेसनल मेडिकल रेफर गरिएको थियो।आइसीयुमा उपचार नगरी छुट्टै कोठामा राखेको झन्डै २४ घन्टापछि सुशिलको मृत्यु भएको उपेन्द्र बताउँछन्।

चक्करमाथि चक्कर

उपेन्द्रका अनुसार उनीहरु पहिला नेसनल अस्पताल पुगेका थिए। तर स्वास्थ्यकर्मीले आइसीयू खाली नभएकाले तराई अस्पताल लिएर जान सुझाएका थिए।

 उपेन्द्र सुशिललाई नेसनलमै छाडेर तराई अस्पताल पुगे। तर बेड खाली नभएपछि फर्किएका थिए।

यता उनी पानीट्यांकी क्षेत्रमा रहेको एलएस न्युरो अस्पतालमा पनि गएको थिए। तर उनलाई न्युरोमा सुरुमै १० हजार रुपैयाँ एडभान्स जम्मा गर्न लगाए। तर आइसीयुमा भर्ना गर्ने बेला भर्ना नै नगरि अन्यत्र लैजान आग्रह गरेको उपेन्द्र बताउँछन्। 

त्यसपछि उनी लिंक रोडमा रहेको भवानी हस्पिटल पनि गए तर, त्यहाँ पनि बेड खाली छैन् भनेपछि अन्तमा सुशिललाई लिएर घन्टाघर चोकमा पुगेका थिए।

प्रहरीको आग्रहमा भर्ना 

 सुशिललाई लिएर उपेन्द्र दोस्रो पटक बिहान फेरि ९ बजे मेडिकल कलेज पुगेका थिए। भर्ना पनि लिए।

‘नाकमा अक्सिजनको पाइप लगएर एउटा कोठामा राखिदिए। तर आकस्मिक कक्ष वा आइसीयूमा राखेनन्। त्यसपछि कोही उपचार गर्न आएनन्,’ उनले भने।

उनका अनुसार सोमबार बिहान भर्ना गरेर एकैचोटी राति करिब ९ बजेको समयमा पीपीई सेट लगाएर स्वास्थ्यकर्मी सुशिललाई हेर्न आएका थिए। उनीहरु औषधि दिएर गएका थिए।

मेडिकल कलेजका स्वास्थ्यकर्मीले दिउँसो बच्चाको कोरोना परीक्षण गराउनु पर्छ भन्दै नारायणी पठाएका थिए। 

‘कलेजले हामीसँग दुईवटा पीपीई सेटसमेत खरिद गर्न लगायो। र म आफैँ स्वाब दिन सुशिललाई नारायणी पुर्‍याएँ,’ उपेन्द्र भन्छन्।

मंगलबार बिहान कोरोनाको रिपोर्ट लिन नारायणी प्रयोगशाला पुग्दा सुशिलको मृत्यु भइसकेको थियो।

प्रकाशित मिति: : 2020-08-11 18:26:07

प्रतिकृया दिनुहोस्