फ्रन्टलाइनका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमणमा

कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि फ्रन्टलाइनमा खटिएर सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै धमाधम संक्रमणको चपेटामा पर्न थालेका छन् । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि कतिपय ठाउँमा स्वास्थ्य संस्था बन्द गरिएका छन् भने तराईका केही स्वास्थ्य संस्थामा अत्याश्यक अन्य सेवासमेत अवरुद्ध भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८६ स्वास्थ्य संस्थामा कार्यरत दुई सय ४८ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । यो संख्या अझै बढी हुने मन्त्रालयकै आकलन छ । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना गरेर ६ सय ७५ सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

धेरै संक्रमित हुने स्वास्थ्यकर्मीमा डाक्टर, नर्स, अनमी छन् । केही उपचारकै क्रममा छन् भने केही निको भएर घर फर्किए पनि सेवामा जान सकेका छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार तराईका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक संक्रमित हुँदा डायलाइसिस, रेडियोलोजि, एनेस्थेसियाजस्ता महत्वपूर्ण सेवा पनि अवरुद्ध भएका छन् । 

गत ३० वैशाखमा नेपालमा पहिलोपटक कपिलवस्तुमा एक नर्समा संक्रमण देखिएको थियो । त्यसयता संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या क्रमशः बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले यही गतिमा स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गए स्वास्थ्य सेवा नै बन्द गर्नुपर्ने डरलाग्दो अवस्था आउन सक्ने बताए । ‘यही अवस्थामा स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने हो भने केही समयपछि स्वास्थ्य संस्थाहरू बन्द हुने स्थिति आउन सक्छ । त्यो भयावह अवस्थामा पुग्नबाट जोगिनुपर्नेछ, त्यसको विकल्प छैन ।’

प्रकाशित मिति: : 2020-08-10 08:26:52

प्रतिकृया दिनुहोस्