चम्किलो उदाएको सूर्यले बिहान भएको संकेत दिईसकेको भए पनि म बेडमा पल्टिरहेको थिएँ । बुवा र आमाको भरपूर माया पाएर हुर्केको एक्लो छोरा भएर होला मैले माग्नु अगावै घरमा हरेक ईच्छा पूर्ति हुन्थ्यो । मलाई थाहा छ म आफ्नो बुवा र आमाको लागि ज्यान हो तर पनि खै किन हो किन बुवा र आमा भने मेरो लागि त्यति मूल्यवान् हुन सक्नुभएन । मेरो लागि त साथीसँग भेट्नु र उनीहरूसँग दिन बिताउनु जति महत्वपूर्ण अरू केही हुन्थेन जीवनमा। अँ कहिलेकाहीं म बुवाको बिजनेसमा टेण्डर हाल्ने काममा सहयोग गर्थें। बस् त्यति हो मेरो उहाँहरुप्रतिको कर्तव्य पालना!
म के के सोच्दासोच्दै फेरि भुसुक्कै निदाएछु। बुवाले बोलाएपछि झसङ्ग भएर म बिउँझिएँ। ‘बाबु छिटो उठ त सात नै बजिसक्यो कति सुतेको?,’ बुवाको यस्तै बानीले हरेक पटक मलाई उहाँप्रति बितृष्णा पैदा हुन्छ। मैले झर्किदै उठेर सिरक फालेर कराएँ, ‘लकडाउनले कलेज बिदा छ। हजुरको काम छ भन्दैमा मैले पनि सुत्न नपाउने भन्ने छ र?’ बुवाले उस्तै न्याउरो अनुहार पारेर मलाई भन्नुभयो, ‘म अफिस जान लागेको। आज एउटा टेण्डर तयार पार्नुछ सहयोग गरिदिन्छौ कि भनेर.........,’ बोल्दा बोल्दै उहाँको बोली रोकियो।
बुवाको मनासाय बुझेर मैले फेरि उहाँलाई भनिहालेँ, ‘ह्या बुवा पनि सधैं मेरो सहयोग खोजेर हुन्छ त? मेरो आफ्नै हजारौं तनावहरु छन् । म सधैं हजुरको पछिपछि लाग्न पनि त सक्दिनँ।’
‘ठिकै छ बाबु मेरो काम म आफैं गर्छु। तिमीलाई केही भन्दिनँ,’ एकछिनपछि फेरि बुवाले मलाई हेर्दै भन्नुभयो, ‘बरू गेट खोलिदिन्छौ कि?’ मैले बुवाको कुरा सुनेको नशून्यै गरेपछि उहाँ आफैं गेट खोलेर निस्किनुभयो।
आमा माथि पूजा कोठामा पूजा गर्दै हुनुहुन्थ्यो। बुवा घरबाट निस्किनासाथ म फेरि टिभी खोलेर हेर्न थालेँ। अचानक फोनको घण्टी बज्यो। बुवाले नै गर्नुभएको रहेछ। बुवाको त्यो फोनले फेरि मलाई असह्य भयो, ‘यो बुवा पनि निस्किन पाएको छैन फेरि फोन गरिसक्नुभयो।’ मैले यसपटक भुन्भुनाउँदै फोन उठाएँ। बुवाले केही असहज मानेरै भन्नुभयो, ‘बाबु मेरो फाईल त्यहाँ टेबलमाथि छुटेछ लिएर आईदेउ न प्लिज म यहीं पसल नजिक छु।’ म रिसले फनफनिदैं उहाँलाई फाईल पुर्याउन गएँ अनि झर्किदैँ भनेँ, ‘आफ्नो सामान आफैं लिएर निस्किन पर्दैन? सधैं यस्तै गर्नुहुन्छ,’ यति भनेर उहाँको मुख पनि राम्रोसँग नहेरी फाईल हातमा थमाईदिएर आएँ।
म घर फर्कनासाथ आमा मेरो अगाडि चिया लिएर आउनुभयो अनि मोबाईलमा एकोहोरो हेरिरहेको मेरो नजिकै बसेर मायाले बोलाउनुभयो, ‘बाबु ल यो चिया पिउ है।’ चियाको एक घुट्को मात्रै के पिएको थिएँ। म बेस्सरी कराउन थालेँ, ‘ममी तपाईँ पनि कहिल्यै मिठो चिया बनाउनुहुन्न। यस्तो चिया त म खान्नँ। भो बरू तपाईँ नै खानुहोस् यो चिया।’ मेरो त्यस्तो रूखो बोलीले आमाको गला अवरूद्ध भयो। ‘म अर्को चिया बनाएर ल्याउँछु बाबु,’ भनेर सुक्कसुक्क गर्दै उहाँ भान्छातिर लाग्नुभयो। मलाई अर्को चिया बनाएर दिँदै भन्नुभयो, ‘म एकछिन बाहिर पुगेर आउँछु राम्रोसँग ढोका लगाएर बस है।’
मलाई आमाको कुराले हरेक पटक दिक्क लाग्थ्यो। मैले फेरि रिसाउँदै भनेँ, ‘म बच्चा होइन आमा यो गर त्यो नगर भनेर सिकाउन पर्दैन। यत्रो ठूलो भईसकेँ तै पनि मलाई बच्चा जस्तो व्यवहार किन गर्नुहुन्छ?,’ मेरो यस्तो बचन सुनेर भारी मन लिएर चुपचाप आमा घरबाट बाहिर निस्किनुभयो।
आमा र बुवा दुबै बाहिर जानुभएपछि मैले आफूलाई संसारकै खुशी व्यक्ति झैं ठानेँ। मलाई खुल्ला पन्छी झैं महसुस हुन थाल्यो। म आफूलाई मन लागको काम गर्न पाउने सम्झेरै मनमनै गदगद भएँ। म ल्यापटपमा फिल्म हेर्न थालेँ। म फिल्म हेर्नमा यति मख्ख हुन थालें कि मैले घडिको सुई घुमेको पनि पत्तो पाईनँ। घडिले सात बजाईसकेपछि ढोकाको घण्टी बज्यो। म उठेर ढोका खोल्न गएँ। ढोकामा आमालाई देखेँ। आमा थकित मुद्रामा भित्र पस्नुभयो। आमाको आगमनलाई बेवास्ता गर्दै म आफ्नै पारामा ल्यापटपमा मस्त भएँ। सधैं सात बजेसम्म घर आईपुग्ने बुवा नौ बजेसम्म पनि नआईपुग्दा भने मेरो मन अत्तालियो। मैले गएर खाना पकाईरहनुभएकी मेरी आमासँग प्रश्न गरेँ, ‘बुवा किन यस बेलासम्म आउनुभएन आमा?’ सायद धेरैपछि मैले नम्र र मिठो बोलेको सुनेर होला आमाको मुहारमा मैले अनौठो किसिमको प्रशन्नता देखेँ। आमाले पनि उस्तै मिठो स्वरमा जवाफ फर्काउनुभयो ‘आज बुवाको मिटिङ छ रे बाबु त्यसैले आउन ढिलो हुन्छ रे।’
बेलुकाको खाना आमा र म सँगै बसेर खायौं । खाना खाएर आमा आफ्नो कोठामा सुत्न जानुभयो। म ‘लाउन्ज रूम’ मा बसेर ल्यापटपमा सदा झैं मुभि हेर्न थालेँ। अचानक राति एघार बजे मेरो मोबाईल बज्यो। मैले मनमनै सोचेँ, ‘यति राति फोन गर्ने को होला?’ डराउँदै फोन उठाएँ। उताबाट आवाज आयो, ‘हेलो म पुलिस स्टेशनबाट बोल्दैछु, तपाईँ तीर्थराज नेपालको को हुनुहुन्छ? रातको एघार बजे पुलिस स्टेशनबाट आएको फोनले मेरो होसहवास गुम्यो। मेरो मनमा हजारौं नकारात्मक कुराहरु नाँच्न थाल्यो। मैले अक्मकिँदै फोनको जवाफ दिएँ , ‘हजुर म ......म उहाँको छोरा हो।’ उताबाट पुलिस मेरो बोलीको कुनै पर्वाह नगरी बोलिरह्यो, ‘आज तपाईको बुवाको बाईक दुर्घटनामा मृत्यु भयो। उहाँको ब्यागमा भएको मोबाईलमा तपाईको नम्बर ‘कल लिस्ट’ मा भेटेँ अनि फोन गरेको।’ फोन राख्नासाथ मलाई सारा ब्रम्हाण्ड घुमायो।
म दाँया बाँया केही नहेरी सरासर बाईक स्टार्ट गरेर पुलिस स्टेसन पुगेँ। आत्तिदै मैले पुलिसलाई कारूणिक स्वरमा विनम्र अनुरोध गरेँ, ‘सर म तिर्थराजको छोरा। म मेरो बुवाको अनुहार हेर्न चाहन्छु। मेरो कुरा सुनेर त्यहाँ भएका पुलिसहरु चुप भए। बुवाको लाश क्षतविक्षत भएको कारण देखाएर पुलिसहरुले मलाई बुवाको लाशलाई हेर्न दिएनन्।
मैले यतिका दिन आफ्नो बुवाप्रति गरेको व्यवहारले आफैंलाई धिक्कार्न थालेँ। बुवासँग रूष्ट भएर बोलेको सम्झेर म आफैंलाई आफैंसँग रिस उठ्यो। आफूले गरेको व्यवहारप्रति मलाई आत्माग्लानी भयो। म मनमनै सोच्न थालेँ, ‘अब यो खबर म आमालाई कसरी दिऊँ? म धेरै मुस्किलले बल्ल बल्ल घर पुगेँ। घर पुगेर बिरालोको चालमा मैले गेट खोलेर भित्र पसेँ र गएर ओच्छ्यानमा पल्टिएँ। तर आँखामा निन्द्रा आउने कुनै छाँटकाट थिएन।
आफ्नो बेडरूममा गएर सरासर ड्रयर खोलेँ, चुरोट झिकेँ अनि त्यसमा गाँजा भरेर मुखमा च्यापेको मात्रै के थिएँ मलाई केही याद आयो। उडाउन त मैले यतिका दिनसम्म गाँजाको धुँवा उडाईरहेको थिएँ तर मैले त्यो सँगै आफ्नो परिवारको सपना र उहाँहरुको मप्रतिको विश्वास उडाएको रहेछु। अब जीवनमा म ओत लाग्ने ठाउँ पनि त छैन। बरू म आफैं मेरी विधुवा आमाको छाहरी बन्नुपर्छ। त्यसैले मैले अब गाँजाको धुवाँमा आफ्नो जीन्दगी उडाउन बन्द गर्नुपर्छ। यहिँ सोचेर मैले आफूसँग बचेका सबै चुरोट र गाँजाहरुलाई डस्टबिनमा लगेर फालिदिएँ। त्यो रात मैले आफूलाई बदल्ने अठोट गरेर बल्ल बल्ल निदाएँ।
भोलिपल्ट धुम्म परेको आकाश अनि कालो बादल हेरेर मेरो आँखा नचाहँदा नचाहँदै बर्सिन थाल्यो। पूजाकोठाबाट निस्केको आमा रातो धोतीमा देखा पर्नुभयो अनि मलाई सोध्नुभयो, ‘बुवाले त हिजो फोन पनि गर्नुभएन, घर पनि आउनुभएन लौन मलाई त पिर लाईसक्यो। सधैं खबर गर्ने मान्छेले किन यसपटक केही नभन्नुभएको होला?’
आमाले बोलिरह्ँदा मैले मनमनै सोचेँ, ‘अब मेरी आमाले रातो धोती लाउने पनि यही पल अन्तिम रहेछ।’ म सोचिरहेँ ‘कसरी भनुँ म आमालाई यस्तो हृदयविदारक घटना?’ आमाले मेरो निधारमा रातो टिका लगाईदिनुभयो । आमाले टिका लगाईदिनासाथ मैले आमाको खुट्टामा ढोगेँ। सधैं राम्रोसँग बोल्न पनि नखोज्ने छोराले आज अचानक खुट्टामै ढोगेको देख्दा आमाले अचम्म मान्दै मलाई सोध्नुभयो, ‘बाबु के भो तिमीलाई, तिमी सन्चै त छौ नि?,’ आमाको बोली सुनेर मैले रूदैं भनेँ, ‘म ठिकै छु आमा, मलाई माफ गर्दिनू। बु.....बुवा...........मेरो बिचैमा रोकिएको बोली सुनेपछि आमाले आत्तिदैं सोध्नुभयो, ‘के भो बुवालाई भन न?’ उहाँको हातबाट पूजाको थाली खस्यो। पूजाको थालीमा राखिएको बलेको दियो पनि खस्यो तर अचम्म! त्यसरी भूइँमा खस्दा पनि दियो निभेन। त्यो देखेर म आश्चार्यचकित भएँ।
त्यतिखेरै बाहिर बाईकको आवाज आयो। आवाज बुवाकै बाईकको थियो। मेरो मुटुको बेग झनै बढ्न थाल्यो। ‘आखिर कसले लिएर आयो होला बुवाको बाईक?’ बाईक रोकियो अनि बाईकबाट ओर्लिएका ती पुरूष सरासर हाम्रो घरभित्र आए। अघिल्लो रात मरेको खबर आएको बुवा आफ्नो आँखाको सामुन्ने हुनुहुन्थ्यो। यो देखेर आश्चार्यभावमा मैले उहाँलाई सोधेँ, ‘बुवा, हिजो त .....तर तपाई कसरी.....यो सब.........।’
सायद म जन्मेर बुझ्ने भएदेखि पहिलोपटक बुवाले मेरो आँखामा आफ्नो लागि त्यो माया देख्नुभएको थियो । मेरो कुरा सुनेर बुवाले बिस्तारमा भन्न सुरू गर्नुभयो, ‘बाबु मैले हिजो पार्क गरेको ठाउँबाट बाईकमै चाबी छोडेछु। मेरो बाईक कसैले लिएर गयो। ब्याग र मोबाईल बाईकमै थियो। सबै त्यो मान्छेले लिएर गयो। त्यो मान्छे चढेर गएपछि बाईक दुर्घटनामा परेछ। पुलिसले मेरो बाईक, मोबाईल र डकुमेन्ट सबै फेला पारेपछि म नै हो भन्ने ठानेछ। मैले आश्चार्य मान्दै भनेँ, ‘अनि पुलिसले त..........” मैले भन्न खोजेको कुरा बुझेर बुवाले फेरि आफैं भन्नुभयो, ‘ब्यागमा भेटिएको मोबाईलमा पुलिसले सायद कल लिस्टमा तिम्रो नम्बर देखेर होला मेरो मृत्युको खबर तिमीलाई दियो।’
बुवा र मेरो कुरा सुनिरहनु भएकी आमाले केही नबुझेर सोध्नुभयो, ‘होइन के कुरा हो यो मैले त केही बुझिनँ।’ यसपटक अलि भावुक हुँदैं मैले भनें, ‘ठिकै भयो आमा तपाईले केही सुन्नुभएन र बुझ्नु भएन। नत्र जिवित रहेका आफ्नो श्रीमानको मृत्युको खबरले तपाईको के हालत हुन्थ्यो म कल्पना पनि गर्न सक्दिनँ।’ मैले सायद पहिलोपटक बुवा र आमाको अगाडि दुई हात जोडेर भनेँ ‘मलाई माफ गरिदिनुस् बुवा, आमा। आजदेखि मेरो कारणले तपाईँहरूले कहिल्यै पनि दुःखी हुनुपर्ने छैन। म आजदेखि बुवाको बिजनेसमा मात्रै होइन आमाको भान्छामा पनि सहयोग गर्छु। मेरो कारणले तपाईँहरूको आँखामा कहिल्यै आँशु आउनेछैन। मैले शिर झुकाएँ अनि बुवा र आमाले मेरो शिरमा आफ्नो हात राखेर आशिर्वाद दिनुभयो।