काेराेना संक्रमणबाट वीरगञ्जमा थप दुईजनाकाे मृत्यु

वीरगञ्जमा बिहीबार थप २ जना कोरोना भाइरस संक्रमितकाे मृत्यु भएको छ।

गण्डकस्थित अस्थायी कोभिड अस्पताल उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएका वीरगञ्ज १० आदर्शनगरका ५७ वर्षीय पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएकाे मेसु डा. मदन उपाध्यायले जानकारी दिए।

उनका अनुसार मुटुरोगी ती पुरुषमा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि गत मंगलबार दिउँसो अस्पताल भर्ना गरिएको थियो। 

उपचारकै क्रममा बुधबार राति करिब १० बजेपछि स्वास्थ्य झन् बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

यस्तै गत साउन २० गते राति आफ्नै घरमा मृत्यु भएका वीरगञ्ज ११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

साउन २० गते राति मृत्यु भएका वृद्धको कोरोना परीक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकाे थियो।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-08-06 21:39:51

प्रतिकृया दिनुहोस्