अयोध्यामा बन्ने राम मन्दिरमा जनकपुरबाट पाँचवटा चाँदीको ईट्टा थपिने, महन्त दास भारतमा

नेपाल र भारतबीच परापूर्वकालदेखि सांस्कृतिकसम्बन्ध भएको अयोध्यामा बुधबार हुने भूमि–पुजा कार्यक्रममा जानकी मन्दिरका महन्त रामतपेश्वर दास उपस्थित हुने भएका छन्। 

भारतमा लामो समयदेखि विवादीत बनेका राम जन्मभूमि अयोध्यामा मन्दिर बनाउन आज दिउँसो नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा भूमि–पुजा हुँदैछ। पुजामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुँदैछन्। 

उनी भूमि–पुजामा सहभागी बन्न मंगलबार भारततर्फ लागेका हुन्। कोरोनाका कारण नेपाल–भारतबीचको सीमा बन्द भएको अवस्थामा उनलाई सोमबार महोत्तरीको मटहानी नाकामा रोकिएको थियो। 

तरपछि जिल्ला प्रशासनले भारत प्रवेश गर्न स्विकृति प्रदान गरेपछि उनी अयोध्या पुगेका हुन्। उनलाई भारतीय सुरक्षाकर्मीको रोहवरमा अयोध्या पुर्याइएको थियो। महन्त दासले रामजन्म भूमिमा बन्ने मन्दिरमा जानकी मन्दिरबाट पाँचवटा चाँदीको ईट्टा चढाउने बताए। 

‘भगवान रामको ससुरालीबाट पाँचवटा चाँदीको ईट्टा शिलान्यास चढाइने छ,’ उनले भने। 

हिन्दु ग्रन्थअनुसार नेपालको जानकी मन्दिर र अयोध्याबीच सत्ययुगदेखि नै सम्बन्ध छ। नेपालको जानकीमा जन्मिएकी सीताको विवाह अयोध्याका राजा रामसँग भएको थियो। 

भारतमा रामको जन्मभूमिलाई लिएर लामो समयदेखि विवाद थियो। तर, गत वर्ष सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउन आदेश दिएपछि आज भूमि–पुजा हुँदैछ। 

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालको वीरगञ्जस्थित ठोरीमा भएको बताएपछि भारतका सन्त तथा महन्तले यसको विरोध गरेका थिए।

प्रकाशित मिति: : 2020-08-05 11:55:56

प्रतिकृया दिनुहोस्