दृष्टिविहीन दम्पतीको सहयोगमा जुट्दै ‘इन्जिनियर एण्ड नर्स रिभोलुस्नरी सोसाइटी’

जुम्ला तातोपानी गाउँपालिकाकाे सर्मीमा अन्तरजातीय विवाह गरेका दृष्टिविहीन दम्पतीलाई सहयोग गर्न इन्जिनियर र नर्सहरु जुटेका छन्। 

अन्तरजातीय विवाह गरेका मानबहादुर कुँवर र गोरिकला सुनार जात र अशक्तताका कारण अपहेलित भएर समाजमा बस्न गाह्राे भएपछि गीत गाउँदै गाउँगाउँ हिँडिरहेका छन्। 

पछिल्लो समय काेराेनाकाे कारण गाउँगाउँ गएर गाउन असजिलो भएपछि उनीहरुकाे जिविकोपार्जनमा समस्या आएकाले ‘इन्जिनियर एण्ड नर्स रिभोलुस्नरी साेसाइटी फेसबुक ग्रुप’ सहयोगमा जुटेको इन्जिनियर नवीन जैशीले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘दृष्टिविहीन दम्पतीलाई खाद्यान्न, बस्नेबास र शौचालयकाे समस्या छ,’ उनले भने, ‘फेसबुक ग्रुप बनाएर हामी उहाँहरुकाे सहयोगका निम्ति जुटेका छाैं।’

हाल उनीहरु गाँउबाट केही टाढा गएर बसेका छन्। उनीहरुकाे हौसलाका लागि सहयोगको आवश्यकता रहेको इन्जिनियर विरेन रावलले बताए।

‘हरेक दिन संकलन भएको सहयोग हाम्राे फेसबुक ग्रुपबाट सार्वजनिक गरिनेछ,’ उनले भने, 'साउन महिनाको अन्तिमसम्म जुटेकाे सहयोग उहाँहरुलाई उपलब्ध गराइने छ।’

अन्तरजातीय विवाह गरेका दृष्टिविहीन दम्पतीकाे अवस्थाले आफूहरु भावुक भएकाे नर्स सृजना वलीले बताइन्। ‘थोपा थोपा मिलेर नै समुन्द्र बन्ने भएकाले हामी सानाे सानाे रकम उठाएर उहाँहरुका समस्या समाधान गर्ने काेसिस गर्नेछाैं,’ उनले भनिन्।

फेसबुक ग्रुपकाे माध्यम अपनाइ दुखमा परेकालाई सहयाेग जुटाउने काममा लाग्दा सबैतिरबाट राम्राे प्रतिक्रिया आएकाले आफूहरु उत्साहित भएर काममा लागिरहेकाे अद्दितीय सुवेदीले जानकारी दिए। 

समाजप्रति उत्तरदायी हुनु र धेरै युवालाई सामाजिक कार्यमा जुटाउन पनि यस्ता काम गर्नुपर्ने आवश्यकता रहेकाे स्वइच्छा तुलाधरले बताइन्।

सबैको साथ र सहयोग भएको खण्डमा समाजकाे पिँधमा रहेका जाे काेहीकाे सहयोगकाे लागि हरदम तयार रहन ग्रुप बनाइएको जैशीले थपे।

उनका अनुसार सहयोगका निम्ति सागर न्यौपानेको नाममा रहेको माचापुच्छ्रे बैंककाे थापाथली शाखाको खातालाई प्रयाेग गरिएकाे छ। 

सहयोगका लागि माछापुच्छ्रे बैंक लिमिटेड, थापाथली
खाता नं: 25-40-524-218935-01-8
खातावालाको नाम: sagar nyaupane

प्रकाशित मिति: : 2020-08-03 13:17:08

प्रतिकृया दिनुहोस्