‘श्रमबिना सफलता मिल्दैन’

ब्राण्ड स्टोरी-९

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले नेपालकै पहिलो ब्राण्डिङ शो  'ब्राण्ड स्टोरी' सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के-कस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको नवौं शृंखलामा हामीले केजीएच ग्रुपका प्रमुख कर्ण शाक्यलाई प्रस्तुत गरेका छौं।

 ब्राण्ड स्टोरी-९ 

राजमार्ग जस्तो सिधा हुँदैन जीवन, जीवनको यात्रामा धेरै मोड र घुम्ति हुन्छन्, कहिँ कतै दोवाटा भेटिन्छन्। अन्यौल हुनसक्छ, यस्तो बेला गन्तव्य आफैंले निधारण गर्ने हो। यस्तो गन्तब्य बनाउनुहोस् तपाईले पछ्याएको गोरेटोले तपाईलाई सहि गन्तव्य पुर्‍याउन सकोस्।

पुर्ख्यौली सुन पसलमा करीव एक वर्ष काम गरे पनि कर्ण शाक्यलाई त्यो व्यापारीक कामले सन्तुष्ट दिएन। देश दुनियाँ घुमिसकेका उनलाई आफै केही गरौं भन्ने मन जाग्दै थियो। एक दिन व्यवसाय गर्ने सोंच पनि बनाए। र आमासँग पैसा मागे। आमाले पनि छोराको आग्रह अनुसार झोलीबाट झिकेका रूपैयालाई एक एक गरी जिव्रोमा थुक लगाएर गन्दै दिइन्। ती झोलीका पैसामा आमाको कति ममता थियो, पैसा गनाइमा आमाको सावधानी र सतर्कताले उनको मेरो मुटु छोयो। उनलाई लाग्यो, ‘मैले त्यो पैसा सक्दो चाँडो फिर्ता गर्नेछु,’ त्यो नै उनका लागि व्यवसायीक प्रेरणा बन्यो।

सुन पसलको दैनिकीबाट बाहिरिएर सफल उद्यमी बनेका उनै पर्यटनविद्, उद्यमी र लेखक कर्ण शाक्यलाई बिएल नेपाली सेवाको ब्राण्ड स्टोरीमा प्रश्तुत गरेका छौ।

‘तपाई कहिल्यै कामदार नबन्नुस्, उद्यमी बन्नुस् । अरुलाई जागिर दिने हैसियत राख्नुस्। श्रमजीवी र कर्मयोगी बन्नुस्, तपाईको सफलता धेरै टाढा छैन’, शाक्यले सधै दोहोर्‍याउने वाक्य हो यो।

‘तपाईँले मनमा इमान्दारी, काँधमा जिम्मेवारी र मस्तीस्कमा समझदारी लिएर अघि बढ्नु पर्छ। काम गर्ने क्रममा तपाइलाई धेरैपटक समस्या आउने छन् । समस्या त भाग्यमानीको ढोका हो नि! जव तपाईका अघिल्तीर समस्या आउने छन्, ती समस्याका पुच्छर भएर समाधान पनि आइरहेका हुने छन् । यो ध्रुव सत्य कुरा हो । हरेक समस्याका समाधान हुन्छन्, यदि समाधानको विकल्पनै छैनन् भने ती समस्यानै होइनन्’, उनले भने।

जस्तोसुकै अवस्था भए पनि विदेशमा बस्नु र काम गर्नु भनेको नोकर नै भएको उनी भन्छन्। ‘तपाई स्वदेशमै उद्यामी बन्नुस् । उद्यमी बन्न धेरै बाटाहरु छन्, धेरै विकल्पहरु छन् । केही गर्न सक्नुहुन्न भने एउटा मम पसल भएपनि खोल्नुस् । तपाई त्यसको मालिक बन्न सक्नुहुने छ । त्यसमा तपाइले कम्तिमा आधा दर्जनलाई रोजगारी पनि दिन सक्नुहुने छ । आहा कति सन्तोष हुन्छ, मालिक बन्नुमा । मालिक आफ्नो घडिको सुइमा चल्छ, नोकर जहिल्यै पनि अर्काको सुइमा । धेरै फरक छ, मालिक र नोकरमा’, उनको सुझाव छ।

हाम्रो अरूलाई गाली गरेर नायक बन्ने प्रबृत्ति छ, तर आफूले गर्ने प्रबृत्ति छैन । अरुले गरेको देखेका छौं, तर आफूले गर्न खोज्दैनौं। अरुलाई गाली गरेर नायक बन्नु मुर्खता हो। तर होसीयार भने बनाउनुपर्छ जस्तो लाग्छ उनलाई। ‘हो मैले धेरै ठाउँमा सुनेको छु, हामी गरिव छौं रे!, अहँ मलाई त्यस्तो लाग्दैन, हामी मुर्ख छौं, अरुलाई सिकाएर पनि आफू गर्दैनौं । यो देश चोरले विगारेको होइन, उसले त एउटा घरमा चोरी गर्छ, नेताले विगारेको पनि होइन, विदेशीले विगारेको पनि होइन, भ्रष्टाचारीले विगारेको पनि होइन, हो यो देश हामीले नै विगारेको हो,’ उनले भने, ‘जुन देशमा उद्यमीको पहिचान हुँदैन, सम्मान हुँदैन, त्यहाँ उद्यमशिलताको विकास पनि हुँदैन। यसमा हामीले राज्यलाई पनि केही सजग बनाउनु पर्छ, तर अल्छि बनेर होइन।’

मैले पनि सुन बेचेर माटो किनेको हुँ। अहिले त्यही माटोमा सुन फलेको छ। कानले सुनेर मुल्याङ्कन नगर्नुस्, आँखा खोलेर हेर्नुस्।

श्रमबिना सफलता मिल्दैन भन्ने सोचका साथ अघि बढेका शाक्यले अहिले काठमाडौंसहित विभिन्न ठाउँमा सात वटा होटल सञ्चालन गर्छन् । ‘उमेर ढल्किँदै गए पनि मेरो मनमा जोशजाँगर अझै घटेको छैन,’ शाक्यले भने, ‘श्रम नगरे लामो समय बाँच्न सक्दिनँ जस्तो लाग्छ।’ उनी अहिले पनि होटलमा विभिन्न पेन्टिङ गर्छन् भने पुस्तक लेखनमा पनि सक्रिय छन् ।

सन् १९६८ मा काठमाडौं गेष्ट हाउसबाट होटल व्यवसाय सुरु गरेका थिए। नेपाल प्राकृतिक सुन्दरताको धनी देश भएकाले कुनै दिन नेपालमा धेरै पर्यटक आउँछन् भन्ने भएकाले नै आफूले होटल व्यवसायमा हात हालेको बताए । प्रकृतिमैत्री होटल सञ्चालन गर्ने सोचका साथ अघि बढेका शाक्यले बूढानीलकण्ठमा पार्क भिलेज होटल सञ्चालनमा ल्याए । होटल सञ्चालनअघि उनले तीन हजार पाँच सय वटा रुख रोपेको बताउँछन् । उनै शाक्यले सुरु गरेको होटल व्यवसायले अहिले करिब ८ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।

केजीएच ग्रुपका काठमाडौंको ठमेलमा काठमाडौं गेस्ट हाउस, बूढानीलकण्ठमा पार्क भिलेज होटल, नक्सालमा माया म्यानोर बुटिक होटल, पोखरामा हिमालयन फ्रन्ट होटलवाटरफ्रन्ट रिसोर्ट, लुम्बिनीमा बुद्धमाया ग्रान्ड होटल तथा चितवन राष्ट्रिय निकुञ्जमा मारुणी सेन्चुरी लज सञ्चालनमा छन् ।

 उनै कर्ण शाक्यको संघर्षको कथा यस पटकको ब्राण्ड स्टोरीमा।

 ब्राण्ड स्टोरी शृ‌ंखला  

ब्राण्ड स्टोरी-८   ब्राण्ड स्टोरीः शुद्धता र ताजाको ‘प्रतीक’ नोभा मिल्क

ब्राण्ड स्टोरी-७   ५० हजार लगानीबाट सुरु भएको नेपा डान्स एकेडेमी यसरी बन्यो मुलुककै ठूलो डान्स स्कुल

ब्राण्ड स्टोरी-६   ब्राण्ड स्टोरीः संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी डिशहोम
ब्राण्ड स्टोरी-५ ब्राण्ड स्टोरीः युवा पुस्ताको रोजाई बिजी बी

 ब्राण्ड स्टोरी -४  ब्राण्ड स्टोरीः एपेक्स कलेज, जसले शिक्षा क्षेत्रमा नौलो प्रयोगको आँट गरेर सफल भयो

 ब्राण्ड स्टोरी- ३ कर्मचार्य ग्रुप, गुणस्तरमा सम्झौता कहिलै गर्दैन

 ब्राण्ड स्टोरी -२ ब्राण्ड स्टोरी:  नायिका श्वेता खड्का, रिसेप्सनिष्टदेखि सफल व्यवसायीसम्म

 ब्राण्ड स्टोरी -१  ब्राण्ड स्टोरीः ‘राष्ट्रको सञ्चार’ को १०० वर्षे इतिहास

प्रकाशित मिति: : 2020-08-03 19:00:00

प्रतिकृया दिनुहोस्