काेराेना संक्रमित बढ्न थालेपछि बारामा अनिश्चितकालीन निषेधाज्ञा

काेराेना संक्रमितकाे संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

शुक्रबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको महामारीलाई ख्याल गर्दै कलैया,जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, सिम्रौनगढ नगरपालिका, बरियारपुर र वीरगञ्ज–पथलैयासहितका क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

निषेधाज्ञा अवधिमा  सवारी साधन सञ्चालन गर्न र हिँडडुल गर्न पाइने छैन भने अत्यावश्यक सेवा प्रवाह गर्नेबाहेक सम्पूर्ण कार्यालयहरु समेत बन्द गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पण्डितले बताए।

निषेधाज्ञा अटेर गरेर घरबाहिर निस्कनेलाई सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ।

कोरोना महामारीको जोखिम बढ्दै गएको र सर्वसाधारणले सावधानी नअपनाएका कारण निषेधाज्ञा जारी गर्नु परेको प्रशासनले जनाएको छ।

यसैबीच प्रदेश २ को उच्च अदालतले भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने आदेश दिसकेको छ।
 

प्रकाशित मिति: : 2020-07-31 21:04:03

प्रतिकृया दिनुहोस्