वीरगञ्जमा मृत्यु भएका दुबै जनामा कोरोना पुष्टि, मृतक ५४ पुगे

वीरगञ्जमा मृत्यु भएका दुबै जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालमा बिहिबार मृत्यु भएका एक र घरमा नै मृत्यु भएका भएका अर्का एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे हाे।

नारायणी अस्पतालले राति साढे ११ बजे सार्वजनिक गरेको रिपोर्ट अनुसार मृतकहरुमा काेराेना संक्रमण देखिएको हाे।  

मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार मृतकहरु वीरगञ्ज १६ नगवा निवासी ३५ वर्षीय पुरुष र छपकैया निवासी ६५ वर्षीय पुरुष हुन्।

३५ वर्ष पुरुषलाई ५ गतेदेखि ज्वरोको लक्षण देखिएको थियो। एक सातादेखि ज्वरो आएपछि उनको विभिन्न क्लिनिकमा उपचार गरिएको थियो। 

तर ठीक नभएपछि उनलाई त्यहाँबाट तराई अस्पताल पाठइएकाे थियाे। त्यहाँबाट पनि साउन १३ गते नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा रेफर गरिएकाे थियाे। उनको साउन १५ गते साँझ साढे ७ तिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

उनको शव अहिले कोभिड अस्पतालको आकस्मिक कक्षमै राखिएको छ।

यस्तैगरी, वीरगञ्ज महानगरपालिकास्थित छपकैया टोलका अर्का एक मृतकमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ज्वरोको लक्षण देखिएका ६५ वर्षीय ती पुरुष अस्पताल भर्ना भएका भने थिएनन्।

सरकारी जागिरबाट अवकाश प्राप्त उनी केही दिनदेखि बिरामी हुँदा घरमै औषधि खाइरहेको थिए। उनको घरमा नै मृत्यु भएको र उनको मृत्यु भएपछि प्रहरीले अस्पतालमा खबर गरेको थियो। मृत्युपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। 

हाल उनको शव नारायणी अस्पतालको शव गृहमा राखिएको डा. उपाध्यायले बताएका छन्।

पछिल्लो पटक वीरगञ्जमा दुई संक्रमितको मृत्यु भएसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।

यसअघि बिहीबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा पर्साका दुई जनाको मृत्यु भएको जानकारी दिएको थियो। 

प्रकाशित मिति: : 2020-07-30 23:54:57

प्रतिकृया दिनुहोस्