वीरगञ्जमा एक दर्जन बढि स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना संक्रमण

वीरगञ्जमा एक दर्जन बढि स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पताल वीरगञ्जले बुधवार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार १५ महिलासहित ५३ जनामा कोराना संक्रमण पुष्टि भएको हाे। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ३ वर्षको बालकदेखि ६० वर्ष उमेर समुहका विभिन्न ठाउँका संक्रमित रहेका छन्।  

जसमा अस्पतालका दुई र एक अन्य गरी कूल ३ जना डाक्टर समेत संक्रमित भएका छन् भने एक दर्जन भन्दा बढि स्वास्थ्यकर्मीहरु संक्रमणको चपेटामा परेका छन्। 

रिपोर्ट अनुसार नारायणी अस्पताल एवं विर्तामा सञ्चालनमा रहेको अलि अर्थो ट्रमा सेन्टरका चिकित्सक,नारायणी अस्पतालाका सर्जन डाक्टर र एक जना आफ्नै बुवाबाट कन्ट्रयाक्ट ट्रेसिङगमा परेकी महिला डाक्टर रहेकी छन्। 

अस्पतालका एम्बुलेन्स चालक समेत संक्रमित भएका छन्। अस्पतालका सर्जिकल र आइसियुमा खटिने स्टाफ नर्स तथा अन्य स्वास्थ्यकर्मी तथा पहिलेका चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन्। 

त्यसैगरी,चण्डीप्रसाद गणका एक मेजरका कन्ट्रयाक्ट ट्रेसिङमा परेका १० जनासमेत संक्रमण पुष्टि भएकाे छ। 

बाँकी अस्पतालको क्वाटरमा बस्ने एवं वीरगञ्जको १,२,३,४,५,६,८,९,११,१२,१६,२५ गरि विभिन्न वडाका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङमा आएका परिवारजनका सदस्य रहेको खुलेको छ। यसअघि बुधबार मात्रै ३४ जनामा कोरोना संक्रमण देखिएको थियो। 

दुई कोरोना संक्रमितको मृत्यु 

वीरगञ्जमा बुधबार छुट्टाछुट्टै अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ ७० वर्षीय र नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारार्थ ६८ वर्षीय वृद्धको मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। 

मेडिकल कलेजमा बिहान करिब ३ बजेको समयमा मृत्यु भएका ७० वर्षीय वृद्धको साँझ नारायणी अस्पतलाको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाए। 

चिकित्सकका अनुसार वीरगन्ज महानगरपालिका–६ माइस्थान निवासी ती वृद्ध मिर्गौला र दमका बिरामी थिए। उनको छातीमा पानीसमेत जमेको थियो।

यसैगरी गण्डक अस्पतालको आइसोलेसनमा उपचाररत ६८ वर्षीय पुरुषको बुधबार बिहान पौने ११ बजेतिर मृत्यु भएको छ।

मृतक पुरुष वीरगञ्ज महानगरपालिका ५ रेशकोठी निवासी हुन्। 

सुपरिटेन्डेन्ट डा. उपाध्यायका अनुसार मुटुमा समस्या देखिएपछि उनी पछिल्लो ६ दिनदेखि गण्डकको आइसोलेसनमा उपचाररत थिए।

उनका अनुसार वीरगञ्जकाे एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वासप्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो।

कोरोना पोजिटिभ देखिएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको थियाे।

उनको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ। 

पर्सामा विगत एक साता यता एक भारतीय नागरिकसहित ८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

दुवै मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

अस्थायी कोभिड गण्डक अस्पतालको आईसियुमा अझै ४ जना संक्रमितको अवस्था गम्भिर रहेको र उनीहरुको आइसियुमा उपचार भइरहेको डा. निरज सिंहले बताए।

प्रकाशित मिति: : 2020-07-30 06:01:16

प्रतिकृया दिनुहोस्