कोरोना भाइरसको महामारी र चैतदेखि लगाइएको लकडाउनले ठप्प भएका चितवनका होटलहरू सञ्चालनको तयारी भएको छ ।
यही साउन १५ गतेदेखि सरकारले होटल सञ्चालन गर्न दिने भएपछि सौराहाका व्यवसायी बन्द भएका होटललाई सञ्चालन गर्ने तयारीमा जुटेका छन् ।
आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ । र्यालीमा १७ सहभागी थिए ।
सौराहामा क्षेत्रीय होटल सङ्घको तर्फबाट टिसर्ट प्रदान गर्दै सङ्घका अध्यक्ष दीपक भट्टराईले साइकलयात्रीलाई बिदाइ गरे ।
कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटक क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए । ‘अब हामी सौराहा खुला गर्दैछौँ भन्ने सन्देश दिन थालेका छौँ, त्यसका लागि तयारी पनि गरिरहेका छौँ,’ उनले भने ।
बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र स्वास्थय चेतनासमेत जगाउने उद्देश्यले गरिएको साइकलयात्रा पर्यटन प्रबर्द्धनका लागि महत्वपूर्ण रहेको बताए ।
सौराहामा ११० होटल सञ्चालनमा छन् । चार महिनादेखि सबै ठप्प छन् ।