नेपाल र चीनको विषयमा पछिल्लो समय विभिन्न कुराहरू बजारमा आएका छन्। अझै भारतीय मिडियाको कुरा सुन्दा कतिपय तर्क हास उठ्दो पनि छ। खुला सीमा र नेपालसँगको सदियौंदेखिको सम्बन्ध भएका कारण चीनसँग हाम्रो सुमधुर बन्दै गएको सम्बन्ध पक्कै पनि भारतका लागि प्रियकर लाग्ने कुरा होइन। उनीहरूले सीमाको विवादलाई लिएर सन् १९६२ मा युद्ध लडिसकेका छन्।
जसरी नेपालमा जनस्तरमा भारतको दादागिरीलाई लिएर बेलाबेलामा आवाज उठ्ने गरेको छ। त्यस्तै भारतमा पनि चीनलाई गाली गरेर राजनीति गर्ने पुरानै परम्परा हो। तर, पछिल्लो समय चीनमा सी चिङफिङ र भारतमा नरेन्द्र मोदीको उद्यसँगै दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै गइरहेको बेला एक्कासी सम्बन्ध बिग्रिएको छ। यो पनि रोचक विषय हो।
तर, यतिबेला हामी नेपाल र चीनबीच कुरा गरिरहेका छौं। नेपालमा चिनियाँ राजदूतको सक्रियता बढेपछि धेरैले यसलाई हस्तक्षेंपको रूपमा अपब्याख्या गर्न खोजेका छन्। भारत मिडियाले त आफ्नो परिधी नाघेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हनी ट्रयाप’ मा परेको भन्न समेत भ्यायो।
वास्तवमा यहाँका तथाकथित बुद्धिजीवि र मिडियाले नबुझेको एउटा कुरा के हो भने, नेपालमा कम्युनिष्ट पार्टीको सरकार छ। र, नेपालको कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाईचारा सम्बन्ध स्थापित भइसकेको छ। यो घाम जत्तिकै छर्लङ भएको विषय हो। यही कुरालाई पचाउन सकिरहेका छैनन्।
चीन जहिले पनि नेपालमा स्थिर सरकार होस् भन्ने चाहन्छ। चीनको वरिपरि १४ वटा देश छ। त्यसैले उ सबैतिर स्थिरता होस् भन्ने नै चाहना राख्छ। सधै झगडा गर्ने छिमेकी हामीले त रुचाउँदैनौ भने चीनले झन् रुचाउँने कुरै होइन। त्यसैले नेपालको विषयमा उसको ‘स्ट्याण्ड’ लाई त्यही रूपमा बुझ्दा हुन्छ।
बीचमा नेकपाभित्र शीर्ष नेताहरू बीच देखिएको मतभेदलाई धेरैले भारत र चीनबीचको तानातानीको रूपमा केलाउने प्रयास पनि गरे। तर, त्यसलाई त्यो रूपमा भन्दा पनि चीनले नेपालमा लामो समयपछि बनेको करिब दुई तिहाईसहितको सरकारलाई तोकिएको कार्यकालसम्म काम गर्न दिनुपर्छ भन्ने सन्देश हो।
नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएयता आजसम्म कुनै सरकारले पूर्ण कार्यकाल पुरा गरेको छैन। २०१५ सालमा नेपाली कांग्रेसले दुई तिहाई बहुमतसहित बिपी कोइरालाको सरकार स्थापना भएपनि राजा महेन्द्रले १८ महिनापछि नै ‘कू’ गरेका थिए।
त्यसयता दोस्रो पल्ट नेपालमा लगभग दुई तिहाई बहुमतसहितको सरकार निर्माण भएको छ। त्यति बेला चीन यो भूमिकामा थिएन। अहिले चीन चारैतर्फ आफ्नो प्रभाव फैलाउने अभियानमा लागेको छ। यस्तो अवस्थामा आफू नजिकैको छिमेकमा गडबडी भएको पक्कै पनि उसले हेर्न चाहदैन।
यहाँ धेरैले नेकपाको एउटा समूह चीनतर्फ ढल्किएको र अर्को समूह भारततर्फ ढल्किएको रूपमा ब्याख्या पनि गरेका छन्। तर, चीनका लागि यसले कुनै अर्थ राख्दैन र राख्न पनि हुँदैन। चीनका लागि प्रधानमन्त्री केपी ओली जति महत्वपूर्ण छन्, त्यति नै पार्टीका बरिष्ठ नेता पुुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन्। नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच सुमधुर सम्बन्ध भएका कारण चीनले नेकपामा रहेका सबै नेतालाई उत्तिकै माया गर्छ।
बीचमा केपी ओलीको सरकार गिर्छ भनेर थुप्रै अनर्गल प्रचार गरियो। लौ आजै गिर्छ, भोली नै गिर्छ भनेर प्रचारप्रसार गरियो। चीनले यसलाई स्वभाविक मान्छ। घरभित्र स्वभाविकरूपमा झगडा हुने गर्छ।
देशले भर्खरै काचुली फेर्दैछ। केपी सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपाली नक्सामा समावेश गरेर ऐतिहासिक काम गरेको छ। यस्ता अवस्थामा पार्टी फुट्ने कुरा अनावश्यक हो।
नेपालको विषयमा चीनको धारणा स्पष्ट छ। उसले नेपालको कुनै पनि कुरामा आफू साथ भएको बताइसकेको छ। महामहिम राजदूतले पनि स्पष्ट पारिसकेको अवस्थामा यो कुरा मिडियामा घुमाईरहेको देखेर मलाई अचम्म लाग्छ।
भारतसँग नेपालको अहिलेको विवाद नितान्त भारतले उब्जाएको विषय हो। भारतले सर्वप्रथम नेपालको भूभाग आफ्नो नक्सामा समावेश गराएपछि विवाद उब्जिएको थियो। नेपालले यस विषयमा कुटनीतिक असहमति जनाउँदा जनाउँदै रक्षा मन्त्री राजनाथ सिंंहले नेपाली भूमि मिचेर लिपुलेक जाने बाटो निर्माण गरेपछि समस्या झन् बल्झिएको हो। यसमा केपी ओली मात्र होइन, अरू कुनै प्रधानमन्त्री भएको भए पनि बोल्नु पथ्र्यो। बोल्नु हुन्थ्यो जस्तो मलाई लाग्छ।