जुम्लाका चार जना किसानले पाए मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

जुम्लाका चार जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन्। जिल्ला कृषि विकास कार्यालयकाे मुल्यांकनका आधारमा चार जना किसानलाई पुरस्कार प्रदान गरिएकाे हाे।

पुरस्कार पाउने सिंजा गाउँपालिका–५ का किसान तथा लेखक रामसिंह रावल, तातोपानी गाउँपालिका–४ का गंगादेवि न्यौपाने रहेका छन्। उनीहरु दुबैलाई नगद २५ हजार रुपैयाँ र प्रमाणपज्ञ दिइएकाे छ।

त्यस्तै कृषक समुहतर्फ कनकासुन्दरी गाँउपालिका–५ स्थित नागरिक अर्गानिक कृषि सहकारी संस्था र हिमा गाउँपालिका–१ स्थित महादेव कृषक समुहलाई ५० हजार र ३५ हजार रुपैयाँ पुरस्कार दिएकाे छ। 

जुम्लाका आठवटा स्थानीय तह मध्ये प्रत्येक गाउँपालिकाबाट एक महिला र एक पुरुष किसान मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरेर जिल्लामा पठाउने गरिएकोमा जिल्लाको हिमा र तिला गाउँपालिकाले मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट किसानलाई पुरस्कृत गर्न सकेनन्।

पुरस्कारका लागि किसानले आवदेन नदिएपछि यी दुई स्थानीय तहले पुरस्कार दिएनन् भने सिंजा गाउँपालिकाले एक जनालाई मात्र पुरस्कृत गरेर पठाएको थियो।

मुख्यमन्त्री उत्कृष्ठ कृषक पुरस्कारको स्थानीय तह हुँदै जिल्ला र प्रदेश स्तरसम्म छनाेट गर्ने गरिएको छ। जिल्लाबाट उत्कृष्ट भएका चार किसानले कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री उत्कृष्ट पुरस्कारका लागि प्रतिस्पर्धा गर्न पाउनेछन्।

‘पहिलो पटक जेठ १५ गते सुचना प्रकाशित गरेर पुरस्कारका लागि आवेदन दर्ता गर्न सुचना जारी गरिए पनि त्यो अवधिमा किसानले सहभागिता जनाउन सकेनन्,’ कृषि विकास कार्यालयका छैटौं अधिकृत कमला थापाले भनिन्, ‘कोभिड–१९ काे प्रभाव परेपछि दुई पटक सुचना प्रकाशित गरेपछि थाेरै किसान मात्र गाउँपालिकाबाट पुरस्कृत हुन पाए।’

स्थानीय तहबाट पुरस्कृत भएर आएका किसानको व्यवसाय मुल्यांकन गरेर जिल्लामा पुरस्कारका लागि छनौट गरिएको मुल्यांकन समितिका सदस्य सचिव विरबहादुर महतले जानकारी दिए।

‘स्थलगत अनुगमन देखि किसानको रायसुझाव र परामर्शका आधारमा प्रदेश माताहतको पुरस्कारका लागि लड्न सक्ने किसानलाई जिल्लामा पुरस्कृत गरिएको हो,’ उनले भने, ‘पुरस्कारका लागि किसान छनौट गर्न निकै सकस भएको थियाे।’

उत्कृष्ट किसान पुरस्कार पाएपछि हौसला मिलेको किसान रामसिंह रावलको भनाइ छ। ‘मानिसका आधारभुत आवश्यकता गाँस, बास र कपास मध्ये गाँस मूख्य हाे। जुन कृषिसँग जोडिएको हुन्छ, उनी भन्छन्, ‘जबसम्म मानिसले खान पाउँदैन्। तवसम्म कुनै पनि काम हुन सक्दैन्। खाद्यन्नमा आत्मनिर्भर नहुँदासम्म संसारका कुनै पनि जीवजन्तूकाे अस्तित्व रहँदैन्।’

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले मुख्यमन्त्री उत्कृष्ट पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिने बताएका छन्। 

कृषि क्षेत्रमा दिइने अनुदानका कार्यक्रम पनि एक प्रकारकाे पुरस्कार रहेको बताउदैं उनले भने, ‘यो वर्ष पुरस्कृत हुने किसानको बारीमा आन्तरिक तथा बाह्य पर्यटक समेत अवलोकन गर्न सक्ने अवस्था हुनुपर्छ।’

 उक्त पुरस्कारले पुरस्कृत किसानलाई अझ मेहनत गर्न हौस्याएको कृषि अनुसन्धान केन्द्रका प्रमुख तिर्थराज रिजालको भनाइ छ।  ‘यो पुरस्कार पुरस्कृत किसानका लागि अवसर र चुनौति दुबै हो' उनले भने, 'किसानले अब आफु बढेर मात्र हुदैन्, समाजलाई अघि बढाउनु पर्ने संकल्प गर्न जरुरी छ।’  

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले सो पुरस्कार प्रदान गरेका थिए। उनले नेपाल कृषि प्रधान देश भनिएता पनि आत्मनिर्भर हुन नसकेको बताए।

‘राज्यले किसानमैत्री कार्यक्रम ल्याउँदैन्। अनुदानमुखी कार्यक्रम लक्षित किसानसम्म पुग्दैन्। विचौलियाले सबै फाइदा लिन्छन्। यी कार्यक्रम बाठाटाँठाको पोल्टामा मात्र पर्छन्। अव किसानका लागि सफ्ट लोनको व्यवस्था हुन जरुरी छ’ उनले भने। 
 
पछिल्लो समय जुम्लाका किसानकाे मेहनत निकै बढेकाे कृषि  कार्यालयका प्रमुख बालकराम देवकोटाको दाबी छ। 

उनले किसानका हकअधिकारका पक्षमा कृषि कार्यालयले सधैं वकालत गरिएको बताउँदै किसान मैत्री नीति, योजना र कार्यक्रम गर्न सदैव तयारी अवस्थामा रहेको प्रतिक्रिया दिए। ‘जिल्लामा पुरस्कृत किसान प्रदेश स्तरमा पनि पुरस्कृत हुने अपेक्षा गरेका छाैं,’ उनले भने।

प्रकाशित मिति: : 2020-07-22 18:19:12

प्रतिकृया दिनुहोस्