भूगोल, इतिहास र संस्कृति

देशसञ्चार

काठमाडौँ

योगी नरहरिनाथ

विवेकशील देशले प्रथम आफ्नो भुगोल शुद्ध र सर्वाङ्गीण बनाउनुपर्छ। अनि इतिहासको मौलिक अनुसन्धान गरेर तथ्य सर्वाङ्गपूर्ण प्रकाश गर्नुपर्छ। भूगोल र इतिहासका शुद्ध दुवै  उच्च लक्ष ताकेर प्रगतिपथमा लम्कनुपर्छ। सभ्य राष्ट्रको यो पावन कर्तव्य हो।

तर कतिपय शताब्दीदेखि हामीले आफूलाई बिर्सन थालेका थियौँ र अझै ब्युँझेका छैनौँ। भूगोल र इतिहास त परै रहून्। मानचित्रसम्म शुद्धयाउन सकिएको छैन। अरुले जे जस्तो बनाइदिए, उसैमा मख्ख परेका छौँ। हाम्रो पनि केही कर्तव्य छ भने चेतना र आत्मविश्वास छैन।

देशका मानचित्रमा सामान्यतया वाञ्छनीय लमाइ चक्लाइ, उचाइ निचाइ, पर्वत, नदी, खोला नाला, वन, गाउँ, बाँझो, बुतो, जल वायु प्रकृति प्रभृति प्रत्येक कुराको यथार्थ चित्रण हुनु त कता गयो कता, ठूलठूला भूल भएका छन्।

सबै सुधारका लागि प्रथम स्वदेशी आँखाले सर्वेक्षण हुनुपर्छ। यो काम प्रशासनको अग्रसरत्वमा पञ्चायतको र स्थानीय जनताको ममत्वपूर्ण सहयोगले हुनुपर्छ। अनि जिल्ला जिल्लाको जातीय खनिज कृषि प्रभृति दृष्टिकोणले सर्वाङगपूर्ण भूगोल पाठ्यक्रममा आउनुपर्छ। अनि मात्र भूगोलका भूमिकामाथि इतिहासको भवन बद्धमूल हुन्छ।

प्रकाशित मिति: : 2020-07-22 17:33:25

प्रतिकृया दिनुहोस्