नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक साउन १३ गतेसम्मको लागि स्थगित भएको छ।
बाढी पहिरो पीडितको उद्धारका लागि खट्नको लागि बैठक स्थगित गरिएको हाे।
‘बैठकमा बाढीपहिरोका बिषयमा प्रस्ताव पारित गरियो र प्रधानमन्त्रीलाई हामीले आराम गर्न भन्यौं। हामीले बाढीपहिरोका विषयमा प्रस्ताव ल्याउन किन आउनु पर्यो भन्यौं,’ स्थायी कमिटी सदस्य गणेश साहले भने।
उनका अनुसार आजको बैठक आधाघण्टा बसेर स्थगित भएको हो। आजको बैठकमा महासचिव विष्णु पौडेलले बाढी पहिरोमा पार्टीका नेता कार्यकर्ता खटिनुपर्ने प्रस्ताव गरेका थिए।
मंगलबार बिहान ११ बजेको लागि तय भएको बैठक २ घण्टा स्थगित गरी सुरू भएको थियो। तर बैठक सुरू भएको केहीबेरमै स्थगित भएकाे थियाे।
नेकपाभित्र प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायत शीर्ष नेताले स्थायी कमिटीमै राखेपछि विवाद छ।
विवाद साम्य बनाउन केही दिनअघि अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने गरी अगाडि बढ्न सकिने धारणा राखेका थिए।
तर उक्त धारणामा नेकपाका अर्का अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताले पनि सहमति जनाएका छैनन्।
सहमति खोज्न स्थायी समिति बैठक पटक/पटक स्थगित गर्दै अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भए पनि कुनै सहमतिमा पुगेको थिएन।