बीपीको निधन भएको ३८ वर्ष भयो। यो अवधिमा नेपालका सबै शक्तिले सर्वाधिक रूपमा खोजेको व्यक्ति बीपी नै हुनुहुन्छ। उहाँका विचार अहिले पनि मुलुकको राजनीतिक, आर्थिक र मुलुकको अस्तित्व जोगाउन त्यत्तिकै समसामयिक देखिन्छन्। उहाँ जीवित छँदा जुन जुन शक्तिले विरोध गरे, ‘राजासँग द्वन्द्व होइन र पञ्चायतमा समर्पण हुन सक्दैन’ भन्ने नारा दिएर २०३३ साल पुस १६ गते स्वदेश फर्कंदा तत्कालीन पञ्चायत व्यवस्थाभित्र घुसेका विदेशी शक्तिका दलालहरूले उहाँलाई फाँसी दिनुपर्छ भन्ने माग गर्दै प्रस्ताव नै पारित गरे। तिनीहरू नै अहिले बीपी विचारका सर्वाधिक समर्थक बनेका छन्। बीपी जीवित छउञ्जेल सर्वाधिक विरोध गर्ने पञ्चहरू मात्र होइन, कतिपय कम्युनिस्ट पनि बीपीलाई एक राष्ट्रभक्त राजनीतिज्ञ मान्न थालेका छन्।
बीपीको निधन भएको यति धेरै वर्षपछि पनि किन उहाँको यति धेरै चर्चा हुन्छ ? उहाँको निधनपछि प्राध्यापक यदुनाथ खनालले भनेका थिए, ‘किताब पढ्ने नेता अब नेपालमा रहेनन्। उहाँ एक स्वप्नदर्शी नेता हुनुहुन्थ्यो र प्रधानमन्त्री भएर ०१६ सालमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदा उहाँ जसरी प्रस्तुत हुनुभयो, विश्वका ठूला नेताहरूको समकक्षमा पुग्नुभएको थियो। अब त्यो स्तरको नेता नेपालमा कोही छैन।’ प्राध्यापक खनाल उक्त महासभाको प्रतिनिधिमण्डलमा नेपालको तर्फबाट सदस्य हुनुहुन्थ्यो।