वाटरगेट काण्ड : जब राष्ट्रपति निक्सनले प्रेससँगको युद्ध हारे

 

श्रवण उप्रेती

वाटरगेट काण्ड अमेरिकाको राजनीतिक इतिहासमा निकै चर्चित घटना हो । राजधानी वासिंटन डिसीस्थित वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्रेटिक नेसनल कमिटी(डीएनसी)को मुख्यालयमा भएको घुसपैठले अमेरिकामा ठूलो तरङ्ग ल्याएको थियो । सन् १९७२ को राष्ट्रपति चुनाव नजिकिँदै गर्दा डेमोक्रेटिक पार्टीको चुनावी कार्यक्रम चोर्न सत्तारुढ राष्ट्रपति सम्बद्ध मानिसले मुख्यालयमा घुसपैठ गरेका थिए ।

सुरुमा अधिकांश मिडियाले यसलाई सामान्य चोरीको घटनाको रूपमा लिए । वासिंटन पोस्टले समेत यो घटनालाई त्यसरी नै हेरेको थियो । त्यसैले घटनाको रिपोर्टिङका लागि पत्रिकाले अपराध बिटका बव वुडवार्डलाई खटाएको थियो । तर, रिपोर्टिङका क्रममा बव र उनका साथी कार्ल बर्नस्टिनले घटना पछाडि ठूलो राजनीतिक शक्ति रहेको पत्ता लगाए ।

सन् १९७२ जुन १७ को मध्यरातमा डेमोक्रेटिक नेसनल कमिटी (डिएनसी)को मुख्यालयमा फोन ट्याप गर्दै गर्दा पक्राउ परेका पाँच व्यक्तिलाई सामान्य चोरी तथा टेलिफोनमा अवरोध पुर्‍याएको आरोप लागेको थियो । तर, अदालतमा ती पाँच सामान्य 'चोर'को पक्षमा भने निकै महँगा वकिलले वकालत गरिरहेका थिए । यसले नै यस प्रकरणमा केही गडबडी रहेको बवलाई लागेको थियो । पछि बवलाई सघाउन वासिंटन पोस्टले अर्का युवा पत्रकार कार्ल बर्नस्टिनलाई खटायो । यी दुईले आगामी दुई वर्षसम्म यो प्रकरणमा खोज अनुसन्धान गरे । यस क्रममा तिनले उजागर गरेका तथ्यले तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले राजीनामा दिनुपर्ने अवस्था आयो । साथै वाटरगेट काण्डमा दुई वर्ष संलग्न हुँदा वुडवार्ड र बर्नस्टिनले खोज पत्रकारिताको विभिन्न नयाँ आयाम पनि निर्माण गरे । तिनले विकास गरेको शैली आज विश्वभरका पत्रकारिताको कक्षामा पढाइन्छ ।  

प्रकाशित मिति: : 2020-07-19 09:53:08

प्रतिकृया दिनुहोस्