छन्द - उपजाति
जो गर्छु मैले पछिबाट गर्ने
विरोधमा फेरि अगाडि सर्ने
बुझ्नै न सक्ने भन के छ भित्र
“त्यो मै हुँ” भन्ने रिपु हो कि मित्र
केही न जान्दा अतिनम्र बन्ने
थोरै बुझेमा दुनियाँ न गन्ने
कृतघ्नताको उसमा छ चित्र
“त्यो मै हुँ” भन्ने रिपु हो कि मित्र
“वा-वाह”मा नै बहुमान्य मान्दा
मै एक सर्वज्ञ भनेर ठान्दा
दुर्गन्ध बन्दो भ्रमजन्य इत्र
“त्यो मै हुँ” भन्ने रिपु हो कि मित्र
बिर्को कहीँ छैन सबै छ नाङ्गो
त्यस्मा छ सानो उपनाम बाङ्गो
बुझिन्छ भाषान्तरमा पवित्र
“त्यो मै हुँ” भन्ने रिपु हो कि मित्र
यो काव्य देखेर अवश्य अर्को
लेखिन्छ काव्योत्तर काव्य चर्को
के द्वेष हो यो, भगवन् ! विचित्र
“त्यो मै हुँ” भन्ने रिपु हो कि मित्र
नक्कल गर्न छोडेर, प्रयोग गर अक्कल
त्यसपछि सबै कार्य बन्नेछन् निजी सक्कल