यो पहिलो पटक होईन सुवोधले छोरी र मलाई छोडेर पार्टीमा गएको। यस्तो धेरै पलहरु भोगेकी छु मैले जीवनमा। हरेक पटक उसले केही न केही वाहना बनाएकै हुन्छ एक्लै घरबाट निस्किन। म जति पनि कोशिश किन नगरौं तर सुवोधको प्यारो कहिल्यै बन्न सकिनँ। उसले मलाई माया नगर्ने पनि होईन, तर कतिपय मायाले भित्रभित्रै जलन हुन्छ।

सुवोधको मप्रतिको माया पनि ठ्याक्कै त्यस्तै छ। उसको र मेरो सोचाई र जीवनयापन गर्ने तरिकामा आकाश पातलको अन्तर छ। ऊ चाहन्छ म उसको घरमात्रै सम्हालेर बसौं। अनि मेरो ईच्छा छ म आत्मनिर्भर बन्न सकूँ। एक एक पैसाको लागि ऊसँग मैले हात फैलाउन नपरोस्। तर मैले चाहनु र नचाहनुमा के नै फरक पर्छ र? मेरो विरूद्धमा चालिने कदमहरू बग्रेल्ती छन् यहाँ। मेरो आँखा अगाडि अचानक विगत नाँच्न थाल्यो। 

***

ममी र ड्याडीको छोरा पाउने ठूलो ईच्छा थियो। त्यसैको आशमा उहाँहरुले मलाई जन्म दिनुभएको थियो। छोराको बदलामा छोरी जन्मेरै होला उहाँहरुको आशाको किरण म कहिल्यै बन्न सकिनँ। त्यसो त मभन्दा पछि जन्मेका मेरा दुई बहिनीहरु भरपूर माया पाएर हुर्के। तीन छोरीलाई जन्म दिईसकेपछि बल्ल ममी र ड्याडीको छोरालाई काखमा खेलाउने ईच्छा पूरा भयो। बिस्तारै बिस्तारै समय बित्दै गयो। म पूरै परिवारबाट पूर्वाग्रह हुँदै गएँ। 

म हरेक कुरामा अगाडि थिएँ। स्कूलमा सधैं टप गर्थेँ। अनुहार पनि राम्रो नै थियो। घरको सबै काम गर्न पनि पोख्त थिएँ। यति सबै हुँदाहुँदै पनि परिवारको आँखाको तारा कहिल्यै हुन सकिनँ। पढाईमा राम्रो भएकै कारण मैले स्नातक अध्ययनको लागि स्कोलरसिप पाएँ अमेरिका पढ्न जानको लागि। म निकै खुशी भएँ किनकि नेपाल बाहिर पढ्न जाने ईच्छा मेरो पूरा हुनेवाला थियो वर्षौको मिहेनतपछि। तर मेरो खुशीमा तगारो हाल्नेहरु आफ्नै घरमा विराजमान थिए। जो मेरो सफलतामा खुशी देखिन पर्ने हो उहाँहरु नै मेरो खुशी र मेरो ईच्छाको विरुद्ध जानु भयो। 

ममीले चर्को स्वरमा भन्नुभयो, ‘नित्या, अब अमेरिका हैन तिमी विवाह गरेर जानुपर्छ। यो नबिर्स कि विवाह गर्न बाँकी तिमी पछिका दुई बहिनीहरु पनि छन्।’ ममिको कुराले मन भारी भयो। मैले अलिकति साहस बटुलेर भनेँ, ‘के तपाईहरुलाई म बोझ भएँ ममी?’ मेरो कुरा सुनेर ड्याडीले थप्नुभयो ‘ईमोस्नल ब्ल्याकमेल गर्न नखोज नित्या। यति राम्रो केटाको कुरा आएको छ। डाक्टर हो, परिवार खानदानी छन् केटा स्मार्ट छ अरू के चाहियो?’ ‘तर ड्याडी......... ’ मेरो स्वर बिचमै अड्कियो। 

ममी ड्याडीले कुरा गरेको दुई दिनमै डाक्टर सुवोध आफ्नो परिवारसँगै मलाई हेर्न आयो। थाहा छैन उनीहरूले ममा के देखे।  एक झलकमै मलाई मन पराए, विशेष गरी डाक्टर सुवोधले।  

घरमा विवाहको तयारी सुरू हुन थाल्यो। सबै परिवार खुशी देखिए सिवाय म। किनकि त्यो विवाह मेरो ईच्छा विपरित हुन लागेको थियो। सुवोध हेर्दा निकै भलाद्मी देखिन्थ्यो। उसको परिवारको काठमाडौं, रामेछाप र नेपालगन्जमा घर थियो। जग्गा जमिन पनि थुप्रै ठाउँमा थियो। सायद त्यसैले होला ड्याडी, ममी उनीहरूको उच्च जीवनस्तरबाट प्रभावित हुनुभयो। सुवोध र मेरो एकैपटक विवाहको दिनमा मात्रै भेट भयो। त्योभन्दा अगाडि मैले ऊसँग भेट्न नखोजेको त हैन। तर उसले आफ्नो व्यस्तताको वाहना देखाएर मसँग भेट्नै खोजेन। साच्चै भन्ने हो भने विवाहको दिन नै हो मैले सुवोधको अनुहार नजिकबाट नियालेर हेरेको। जति सुरूको दिनमा मलाई ऊ भलाद्मी लागेको थियो त्यति भलाद्मी विवाहको दिनमा लाग्न सकेन। हुन त अनुहार नै हेरेर कसैको बारेमा अध्ययन गर्नु त मूर्खता हो तर पनि मनमा त्यस्तै कुराहरु उब्जिरह्यो। 

ममी ड्याडीको लागि बाटोमा भेटिएको काँडा झैं भएकी थिएँ म जसलाई उहाँहरुले आफ्नो बाटोबाट पन्छाई हाल्नुभयो। म बोझ भएकी थिए जसलाई उहाँहरुले बिसाउनुभयो। मेरो परिवारको मप्रतिको बितृष्णाकै कारणले होला मलाई आफू जन्मेको घर छोड्दा पनि आँखाबाट आँशु झर्न सकेन। मैले सोचेकी थिएँ माईतीबाट नपाएको माया मैले श्रीमानको घर र परिवारबाट पाउने छु। 

विवाहको पहिलो रात म मनभरी थुप्रै सपनाहरु संगाल्दै नयाँ बेहुलाको प्रतिक्षा गरिरहेकी थिएँ। त्यो बेहुला जसको नामको सिन्दुर अबका दिनहरुमा मेरो सिउँदोमा हुनेछ। जसको नामको पोते म गलामा झुन्डाएर हिँड्ने छु। मलाई सदुवा महिलाहरूको रित्तो गला र रित्तो सिउँदो देखेर विरक्त लाग्थ्यो अनि म सोच्थेँ म विवाहपछि आफ्नो सिउँदो सधै रंग्याउने छु। तर अफसोच ! विवाहले मेरो सिउँदो रंगाए पनि जीवन र सम्बन्ध रंगाउन सकेन।

म के के सोच्दै मस्त निदाएछु। त्यतिबेला झस्केर उठेँ जतिबेला कोठाको ढोकामा कसैले बेस्सरी हानेको आवाज आयो। ढोका खोलेँ ढोकामा सुवोध उभिएको थियो। ढोका खोलेर भित्र पस्नासाथ मैले सोधिहालेँ ‘यतिबेर सम्म कता हराएका थियौं?’ उसले झर्को मान्दै भन्यो, ‘ओ प्लिज भर्खरै त यस घरमा प्रवेश गरेकी छौं हक जताउन नखोज।’ मेरो मनमा यतिका बेरसम्म सजिएका सपनाका महलहरु एक निमेशमै चकनाचुर भए। 

विवाह सकिएको केही दिनपछि सुवोधको परिवारहरु सबैजना उसको पूख्यौली घर रामेछाप जानुभयो। त्यसपछि घरमा म र सुवोधमात्रै भयौं। खै कस्तो थियो सुवोध मैले कहिल्यै बुझ्न सकिनँ। मेरो रुप देखेर ऊ ईष्र्या गथ्र्यो। उसलाई लाग्थ्यो कि म मेरो रुपको घमण्ड गर्छु। बारम्बार उसको मुखले मलाई भनिरहन्थ्यो, ‘यो मुहार एकदिन चाउरेर जान्छ नित्या तिमी यसको घमण्ड गर्न छोडिदेउ।’ ममा रुपको त के केही कुराको घमण्ड थिएन। न विवाह अगाडि न विवाह पछि। विवाह अगाडि ममी ड्याडीको ईज्जतमा आँच आउला भन्ने डर अनि विवाह पछि सुवोध र उसको परिवारले के भन्लान् भन्ने डर। जीवन डरै डरमा चलिरहेको थियो मेरो। अनि आज विवाह गरेको यतिका वर्ष भईसक्दा पनि सुवोध अझै मलाई आफ्नै अधिनमा राख्न खोज्छ। ऊ डराउँछ मलाई आफ्नो साथीहरुको माझ परिचय गराउन त्यसैले त उसले मलाई यसरी छोडेर गएको छ। के त्यागिनँ मैले उसको लागि? मेरो सपना, करियर, परिवार, साथीभाई अनि मेरो नाम र खुशी सबै त्यागिदिएँ। तर मेरो त्यागको कदर कहिल्यै भएन। विवाह गरेर दुई वटा छोरी भईसक्दा पनि उसले आफूलाई कहिल्यै केही कुराको जिम्मेवार ठान्न सकेन। 

सुवोध पार्टीबाट निकै ढिलो आयो। हल्लिदैं हल्लिदैं आएर ऊ जुत्ता पनि नखोलेर बेडमा लड्यो। ‘नित्या क्यान यू प्लिज ओपन माई सुज ?’ उसको यसपटकको अभद्र बोली र व्यवहारले मेरो दिमाग तात्यो। छोरीहरु सुतिसकेका थिए। उनीहरु उठ्लान भन्ने मलाई ठूलो डर थियो। म चाहन्न थिएँ कि मेरो छोरीहरुमा मेरो जीवनको नकारात्मक प्रभाव परोस्। मैले चुपचाप उसको जुत्ता खोलिदएँ। उसले ममाथि आफ्नो हक जताउन खोज्यो तर म चुपचाप छोरीहरुको रुममा गएर उनीहरूसँगै सुतेँ। 

भोलिपल्ट जब छोरीहरु स्कूल गए। मैले उसँग भनें, ‘म डिभोर्स चाहन्छु।’ यसपटक उसले थचक्क बेडमा बस्दै भन्यो, ‘किन अब बाहिरको केटाहरुसँग संगत गर्दागर्दै तिमीलाई म नै नराम्रो लाग्न थाल्यो ?’ फेरि एकपटक कति सजिलै मेरो चरित्रमा औला उठायो उसले। म कराएँ ‘स्टप ईट सुवोध। बाहिर केटा भएर हैन। आफ्नै घरभित्र रहेको आफ्नै श्रीमानको साथ नपाएर मैले डिभोर्स चाहेकी हुँ।’ मेरो कुराले उसलाई कुनै फरक नै परेन। ऊ सोच्थ्यो कि म मेरो ड्याडी, ममिको ईज्जत र छोरीहरुको मायाको कारणले पनि उसलाई डिभोर्स दिन सक्दिन। तर गलत सोचिरहेको थियो ऊ। 

हामी बिचमा ठूलो झगडा परिसकेपछि केही नभनी ऊ घरबाट निस्कियो। मैले डिभोर्स फाईल गरेँ। बेलुका सुवोध आउनासाथ मैले डिभोर्स फाईल गरेको कुरा उसलाई सुनाईदिएँ। मेरो कुरा सुनेर ऊ घुँडा टेकेर बिन्ती गर्न थाल्यो। ‘नित्या बिन्ती छ त्यसो नगर। मेरो माया नलागे पनि कमसेकम छोरीहरुको बारेमा त सोच।’ मैले यसपटक मनलाई दरो पारेर कठोर स्वरमा भनें, ‘दिनरात हाम्रो झगडा हेर्दै हुर्केका मेरा छोरीहरुले के सिक्छन् यो घरमा बसेर सुवोध?’ सुवोध साच्चै निकै भावुक भएर रून थाल्यो। मैले विगत सम्झिने कोशिश गरेँ। कुनै पनि पल त्यस्तो भेटिन जहाँ उसले मलाई माया गरेको होस् अनि श्रीमतीको दर्जा दिएको होस्। यहाँसम्म कि मैले आफ्नै पहिचान समेत भेटाउन सकिनँ। के डाक्टर सुवोधको श्रीमती हुनु मात्रै मेरो पहिचान हो?

छोरीहरु स्कूलबाट आए। मैले उनीहरुलाई तयार गरेँ अनि हातमा सुटकेश र दुईटा छोरी डोहोर्‍याउँदै हिँडे। छोरीहरु सोधिरहेका थिए, ‘मामु हामीहरू कहाँ जाँदैंछौं?’ मैले मनमनै भनें, ‘आज हामीहरु कसैको छोरी, श्रीमती र बुहारीको हैन आफ्नै पहिचान खोज्न जाँदैंछौं छोरी। त्यही पहिचानको खोजीमा हिड्दैछौं जुन पहिचानपछि कसैले हाम्रो ईज्जतमा औंला उठाउन नसकोस् अनि कुनै नारीले अरुको पहिचानले जिउन नपरोस्। छोरीहरु मेरो मुखमा हेरिरहेँ। म भिजेको आँखा लिएर हिडिरहेँ। 

प्रकाशित मिति: : 2020-07-18 23:10:00

प्रतिकृया दिनुहोस्