राजा त्रिभुवनका जिमगुरू

नवीन अर्याल

काठमाडौं
१९९० मा टुँडिखेलमा घोडेजात्रा आयोजना गर्दा त्यहाँ आफ्नो गठिलो शरीरको सौन्दर्य र कला देखाउने अवसर पाएका थिए, धर्मभक्तले। यतिबेला जर्मन सेनाको एउटा टुकडी नेपाल आएको थियो। त्यो सेना धर्मभक्तको शारीरिक क्षमता देखेर यति लट्ठिएछ, पछि जुद्धशमशेरले उनीहरूसामु आफ्नो छाती चौडा बनाउने अवसर पाए। घोडेजात्रामा धर्मभक्तको शारीरिक प्रदर्शनबाट तत्कालीन राजा त्रिभुवनलाई खुब घत परेछ। उनले तत्कालै जुद्धसँग व्यायाम सिक्ने इच्छा प्रकट गरे। त्यसपछि धर्मभक्त रातारात राजा त्रिभुवनका शारीरिक सुगठन गुरु बने।

 नेपाली खेलकुदको इतिहास-१ 

१९८० सालतिर जतिबेला आइए पढ्न भारतको कोलकातास्थित स्कटिस चर्च कलेज भर्ना भए, त्यतिबेला धर्मभक्त माथेमा यति दुब्ला थिए कि कलेजका ठिटाहरूले उनलाई जिस्काएछन्, ‘देखो ..गोर्खा लोग’ भनेर। 

उनी त्यतिबेला भर्खर दार्जिलिङमा १० कक्षाको पढाइ सकेर कोलकाता पुगेका थिए । त्यसैले उनलाई अरूले जिस्काएको मन परेन्। सिधै बुवा आदिभक्त कहा“ गुनासो पोख्न पुगे। तर, आदिभक्तलाई छोराको त्यो कुरा फिटिक्कै मन परेन। कड्केर भनेछन्, ‘थुइक्क लाछी! यति सानो कुरा मलाई भन्छस्। अलिकति ज्यान बना।’

बुवाको त्यो कुरा सुनेपछि धर्मभक्तलाई पनि लागेछ– हो, ज्यान भएको मान्छेलाई यिनले जिस्काउन सक्दैनन्। उनले तत्कालै निधो गरे, जसरी पनि ज्यान बनाउने। नभन्दै, धर्मभक्तले २–३ बर्षभित्रै यति गजबको ज्यान बनाए, पछि उनी ‘मिस्टर बंगाल’ नै घोषित भए। 

धर्मभक्तका बुवा आदिभक्तले १९५७ सालमा पाँचौ राणा प्रधानमन्त्रीका रुपमा चन्द्रशमशेरको उदयसँगै नेपाल छोड्नुपर्यो। माथेमा परिवारको सम्बन्ध विशेष थियो, चन्द्रशमशेरअघिका राणा देवशमशेरसँग। देवशमशेर प्रधानमन्त्री हुँदा ८ बर्षको कलिलो उमेरमै आदिभक्तलाई सुब्बा पदमा नियुक्त गरिएको थियो। धर्मभक्त कोलकातामै हुँदा उनको सम्बन्ध नरशमशेरसँग स्थापित भयो। नरशमशेर त्यतिबेला खेलकुदका लागि अक्सर कोलकाता गइरहन्थे। नरशमशेरले कोलकातामै धर्मभक्त शारीरिक सुगठनका स्टार खेलाडी भएको पत्तो मात्र पाएनन्, उनीसँग शारीरिक सुगठनको कला पनि सिक्थे। 

१९८८ मा राणा प्रधानमन्त्रीका रूपमा जुद्धशमशेरको उदयसँगै धर्मभक्तको परिवारले केही राहत महसुस गर्यो। कारण, जुद्धशमशेर कमान्डर इन चिफ हुँदा उनलाई धर्मभक्तका बुवा आदिभक्तले धेरै पल्ट आर्थिक सहयोग गरेका थिए। त्यसैले जुद्धशमशेरको कार्यकालमा धर्मभक्तलाई काठमाडौं बस्न खासै गाह्रो भएन। धर्मभक्तले काठमाडौं आगमनसँगै ओमबहालमा आफ्नी फुपु युगकुमारी रायको घरमा जिमखाना खोले। 

यो नेपालको पहिलो जिमखाना थियो। जिमखाना खोल्नुअघि उनले जुद्धशमशेरबाट स्वीकृति लिनुपरेको थियो। त्यतिबेला जुद्धशमशेरले ‘भीडभाड नगर्नू’ भन्दै जिमखाना खोल्न स्वीकृति दिएका थिए। तर, उनको जिमखानाले सर्वसाधारण जनतामात्र होइन, राणालाई पनि आकर्षित गर्यो। 

१९९० मा टुँडिखेलमा घोडेजात्रा आयोजना गर्दा त्यहाँ आफ्नो गठिलो शरीरको सौन्दर्य र कला देखाउने अवसर पाएका थिए, धर्मभक्तले। यतिबेला जर्मन सेनाको एउटा टुकडी नेपाल आएको थियो। त्यो सेना धर्मभक्तको शारीरिक क्षमता देखेर यति लट्ठिएछ, पछि जुद्धशमशेरले उनीहरूसामु आफ्नो छाति चौडा बनाउने अवसर पाए। 

घोडेजात्रामा धर्मभक्तको शारीरिक प्रदर्शनबाट तत्कालीन राजा त्रिभुवनलाई खुब घत परेछ। उनले तत्कालै जुद्धसँग व्यायाम सिक्ने इच्छा प्रकट गरे। त्यसपछि धर्मभक्त रातारात राजा त्रिभुवनका शारीरिक सुगठन गुरु बने। जुद्धले पहिलो पल्ट त्रिभुवनलाई भेटाउन लानुअघि धर्मभक्तलाई भनेका थिए, ‘तिमी आफ्नै मानिस हौं। तर, राजासँग होसियार रहनू।’ 

१९९७ सालमा राणा शासनविरुद्ध लागेको आरोपमा धर्मभक्त समातिँदा पहिलो पल्ट पोल खुल्यो– उनकै सक्रियतामा ९० सालमा ५ जना सहयोगी मिलेर उनकै घरमा राणाविरोधी पार्टी प्रजापरिषद स्थापना भइसकेको रहेछ। जिम सिकाउने निहुँमा धर्मभक्तले नै राजा त्रिभुवनलाई सुरुवाती दिनमा प्रजापरिषदको गतिविधि अवगत गराउँथे। 

धर्मभक्तलाई १९९७ साल माघ १२ गते मध्यरातमा काठमाडौंको सिफलमा झुन्ड्याएर मारियो। त्यतिबेला उनी ३२ बर्षका थिए। सिफलस्थित खरिबोटमा झुन्ड्याउनका लागि पहिलो पल्ट उनलाई पासो हाल्दा रुखको हाँगो नै लच्केको थियो। दोस्रो पल्ट हाँगो नै भाँचियो। तेस्रो प्रयासमा मात्र उनलाई झुन्ड्याउन सफल भएका थिए, राणाका सिपाहीहरू। 

‘जुद्धशमशेरले मन पराउने भएको भएर अन्तिमसम्म माफी मागोस् भन्ने थियो। तर, उहाँले राणा शासनको अत्याचारविरुद्ध माफी माग्नुभन्दा सहिद हुनु बेस ठान्नुभयो,’ धर्मभक्तका भतिजा केदारभक्त भन्छन्। 

प्रकाशित मिति: : 2021-02-06 23:09:00

प्रतिकृया दिनुहोस्