सिन्धुपाल्चोकका रामबहादुर तामाङले बौद्धस्थित जनकल्याण स्कुल छेउको पिपलबोटमा चटपटे, पानीपुरी र मिठाई बेच्न थालेको झन्डै बत्तिस वर्ष भइसक्यो । करीव ३५ वर्षअघि काठमाडौं आएका तामाङ दम्पत्ति चटपटे बेचेरै गर्जो टार्ने गरेका थिए।
दिनभर पिपलबोटमा ठेलामा पानीपुरी र चटपटे बेच्छन्। गाउँको खेतीले घरखर्च धान्न नसकेपछि कामका लागि काठमाडौं आएका उनीहरूले चटपटे र पानीपुरीबाट राम्ररी घर खर्च चलाउँदै आएका थिए। ‘दिनभर चटपटे र पानीपुरी बेचेर गरेको आम्दानीले घरखर्च र कोठाभाडा धान्न सजिलो भएको थियो,’ विगत सम्झदै ६५ वर्षिय तामाङले बिएल नेपाली सेवासँग भने, ‘४ महीना यता ब्यापार चौपट छ, खाने बस्नेसमेत ठेगान छैन।’
लकडाउन हुनुभन्दा पहिले दैनिक ३५ सय रूपैयाभन्दा बढीको व्यापार हुन्थ्यो, अहिले कुनै दिन बोहनीसमेत नहुने गुनासो गरे।
ठेलामा चटपटेसँगै राखिएका केही मिठाईले ग्राहक कुरिरहे पनि उनको पसलमा हिजो आज मान्छे आउन छोडेका छन्। सबैभन्दा बढी आउने विद्यार्थी नै लकडाउनले नभए पछि उनको व्यापार हुने त कुरै भएन। फेरि पछिल्लो समय राजधानीमा कोरोना संक्रमण बढेसँगै अरू मानिसहरू पनि विशेष काम नपरि बाहिर निस्कदैनन्। त्यसैले यी वृद्ध दम्पत्तिको ब्यापार शून्य छ।
अहिलेसम्म ब्यापारमा कहिल्यै घाटा खानु नपरेको तामाङ दम्पत्तिले अहिले पुरै घाटाको व्यापार गरिरहेका छन्। ‘पहिलो पटक व्यापार चौपट भयो। स्कुल खुला हुँदा विद्याथी आउँथे। व्यापार राम्रै थियो,' उनले भने, ‘लकडाउनले चौपट पार्यो।’
उनको पसलमा स्कुल विद्यार्थीसँगै बाटो हिँड्ने मानिसले पनि मिठो मानेर खाने गर्थे। ‘हिजो आज सडकमा चहलपहल नै छैन। कहाँबाट होस् त व्यापार?’ उनले मनिन स्वरमा भने।
अहिले व्यापार गर्न भन्दा पनि समय बिताउनका लागि यहाँ बसेको उनले बताए। लकडाउन भएसँगै विगतका दिनमा सजिलै तिर्ने ५ हजार कोठा भाडा नतिरेको चार महीना भयो। ‘घरबेटीले कोठा भाडा मागेर हैरान बनाईसक्यो। घरबाटै निस्केर जा भनिसक्यो' उनले गुनासो पोख्दै भने, 'आम्दानी केही छैन कसरी तिर्ने कोठाभाडा?’
व्यापार नभएकाले आफूसँगै ७३ वर्षकी श्रीमती भोक भोकै बस्नुपरेको उनले बताए। ‘श्रीमतीले मागेर हाम्रो पेट पालिरहेकी छन्। के गर्नु माग्नुपर्ने नै अवस्था छ, लकडाउनले माग्ने बनायो,' उनले भने।
आफ्नो सन्तान भए पाल्थ्यो कि भन्ने आशा राखेका लामाले भने, 'छोराछोरी पनि छैनन्। अहिले मागेर खान परेको छ।’
अहिले पैसानै सबैभन्दा ठूलो रहेको भन्दै उनले केही समान राखौं भने पैसासमेत नभएको गुनासो गरे। ‘अरू काम गरौं बुढो भइयो, यसैमा समान थपेर ब्यापार गरौ भने पैसा छैन के गर्नू?’, उनले भने।
गरिब दुःखीलाई सरकारले हेर्नुपर्ने भन्दै उनले केही राहत दिए ब्यापार गरेरै जीवन चलाउने उनको विचार छ। नेपाल सरकारले गरिब दुःखिलाई राहतका नाममा रकम सहयोग गर्नुपर्ने उनको भनाइ छ।