भनिन्छ जिउन चाहेमा यो जीवन जिउन अति नै सुन्दर छ। तर सुस्त श्रवणहरुको लागी यो कल्पना बाहिरको कुरा हो। हुनत हामी जस्तो छौ त्यसैमा बाँच्न सिक्न पर्छ, त्यसैमा खुशि रहन सिक्नु पर्छ, अनि मात्र जिवन सुन्दर रहन्छ। म पनि एक सुस्त श्रवण हुँ।
मेरो बालापन राम्रोसँग बितेको थियो। तर ८ वर्षको हुँदा म हड्डि सम्बन्धि रोग (बोन इन्फेक्सन) बाट सिकिस्तै बिरामी भए। मैले धेरै औषधिहरु खान पर्थ्यो, लामो समय सम्म एण्टिबायटिकको सेवनले मेरो सुन्ने क्षमतामा कमि आउन थाल्यो। उपचारको लागि ३ वर्ष लाग्यो । म विद्यालय जान सकिन ।
तर मेरो बुवाको साथ र सहयोगले स्कूल छुटाउन परेन। उहाँ सरकारी स्कूलको स्थायी अंग्रेजी र स्वास्थ्यको शिक्षक हुनुहुन्थ्यो। त्यसैले मलाई घरमै पढाउनु भयो, परीक्षा पनि घरबाट नै दिन्थे। मेरो शैक्षिक मूल्यांकन पनि राम्रो नै आउथ्यो। मेरो बुबा मेरो पढाईमा प्रगति देखेर खुशी हुनुहुन्थ्यो।