मधु राई
बन्दाबन्दी शुरू भए यता ४ कक्षामा पढ्ने १० वर्षीय नातिको दैनिकी पनि फेरिएको छ। बिहान उठेर खाजा खाएपछि उसले अघिल्लो दिनको दैनिकी लेख्नुपर्छ। घरमा श्रीमानबाहेक हामी सबै दैनिकी लेख्छौं।
उसलाई शुरूमा नेपाली भाषा सुध्रन्छ भनेर लेख्न फकाउनु परेको थियो। अहिले आफैं लेख्छ। त्यसबाहेक आइतबारदेखि शुक्रबारसम्म बिहान साढे ९ देखि साढे १२ बजेसम्म अनलाइन कक्षामा बस्छ। दिउँसो एकछिन टिभी हेरे पनि छिमेकी साथीहरूसँग खेल्ने गर्छ। यसले उसलाई सामाजिकीकरणको सीप सिकाउँदैछ।
बिहान होस् कि बेलुकी ऊ आफूले खाएको थाल आफैं धुने गर्छ। शनिबार बिहान र बेलुकी घरधन्दा गर्न भान्सामा सघाउँछ। त्यति मात्र हैन वेलावेला अम्लेट बनाउँछ, दिउँसो भात भुटेर खाने गर्छ। शनिबार घरधन्दा सकेर कहिलेकाहीं सुक्खा फोहोर छुट्याउने गर्छ भने बेलुकीपख बिरुवामा पानी हाल्छ।
वास्तवमा औपचारिक शिक्षा ग्रहण गर्ने पहिलो थलो विद्यालय हो। तर, जीवनोपयोगी सीप सिक्ने पहिलो थलो घर हो र अभिभावक सहजकर्ता।