लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवादलाई लिएर नेपाल र भारतबीच राजनीतिक स्तरमा इतिहासकै सबैभन्दा खराब सम्बन्ध बनेको छ। राजनीतिक स्तरमा जति नै सम्बन्ध खराब भएपनि जनस्तरमा अझै नेपाल र भारतबीच ‘रोटी–बेटी’ को सम्बन्ध कायमै छ।
यस्तै, एउटा घटना हालै नेपाल–भारतको पश्चिमी सीमा दार्चुला–धार्चुलामा देखा परेको छ। दुई देशका नेताहरू एकअर्कालाई तल देखाउन कुनै पनि हदसम्म गिर्न तयार रहेको बेला यो क्षेत्रका नागरिकले एउटा छुटै उदाहरण प्रस्तुत गरेका छन्।
मंगलबार नेपाल र भारतीय जोडीको विवाहका लागि नेपालतर्फको दार्चुला र भारततर्फको धार्चुलालाई जोड्ने अन्तर्राष्ट्रिय झुलुङेगे पुल १५ मिनेटका लागि खोलिएको थियो।
कोरोनाको महामारी केही कम भएको बेला भारतबाट आएको बेहुलाका लागि सीमा खुला गरिएको हो। भारतको जिवी गाउँका कमलेश चन्द्र १० मिनेटमा विवाह सम्पन्न गरेर बेहुली लिँदै पुनः भारत फर्किएका थिए। पुलको गेटमा आमा–बुवाले आफ्नो छोरी–ज्वाईलाई आर्शिवाद दिएर बिदा गरे। विवाहका लागि नेपाल र भारतका प्रशासनबीच सहमति बनेपछि लामो समयदेखि बन्द भएको पुल १५ मिनेटका लागि खोलिएको थियो।
पुल खोल्ने वित्तिकै कमलेश जन्ती बोकेर नेपाल प्रवेश गरेका थिए। जन्तीमा बेहुलाका बुवा पुल पार गरेर नेपाल प्रवेश गरेका थिए। बेहुली पक्ष पहिलेदेखि नै पुल नजिकै आएर बसेको थियो। १० मिनेटमा विवाहको मुख्य मन्त्रोचारण गरेर सिन्दुर, पोते लगाउँदै बेहुली राधिका अन्मिएकी थिइन। विवाहको बाँकी रितिरिवाज बेहुलाको घरमा पुरा गरिएको थियो। जिवी गाउँ धार्चुलादेखि ८४ किलोमिटर र पिथौरागढ जिल्लादेखि ६ किलोमिटरको दुरीमा पर्छ।
बेहुली राधिकाले भारतीय अखबारलाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, उनको विहे मार्च महिनामा हुनुपर्ने थियो। तर, लकडाउनका कारण सम्भव भएन। उनले प्रशासनको सहयोगमा विवाह सम्पन्न भएको भन्दै सबैलाई धन्यबाद दिइन।
बेहुला कमलेशले पनि प्रशासनप्रति आभारी जनाए। भने, ‘विहे नभएको भए नोभेम्बरसम्म कुर्नु पथ्र्यो।’