काठमाडौं र ठूला सहरमा बसेर अखबारमा लेख्न र टेलिभिजनमा बोल्न सजिलो छ । सामाजिक सञ्जालमा स्टाटस लेखेर एक–अर्काको देशभक्तिमाथि प्रश्न गर्न झन् सजिलो छ । तर, राष्ट्रवादको यो प्रतिस्पर्धामा ती नागरिक चर्चाबाहिर छन् जसले भारतीय अतिक्रमणको प्रतिवाद गरेर सीमास्तम्भ जोगाएका छन् । कतिले अपशब्द सहेका छन्, कतिले भौतिक आक्रमण भोगेका छन्, अझ कतिले गोली पनि थापेका छन् । तर, उनीहरूले देशको सिमाना जोगाएका छन् । तर, विडम्बना सहरका मञ्चमा उभिएर भाषण गर्नेहरूले सीमाना उभिएर भूगोल जोगाउनेसँग देशभक्तिको प्रमाणपत्र माग्छन् र मानमर्दन गर्छन् ।
सीमा क्षेत्रका बासिन्दाले सीमाको मात्रै होइन, नेपाली सुरक्षाकर्मीको समेत सुरक्षा गरेका उदाहरण छन् । ११ जेठ, ०६७ को राति ९ बजे सीमावर्ती भारतको लैलोखर बेसक्याम्पबाट सादा पोसाकमा हतियारसहित एसएसबीका सुरक्षाकर्मी नेपाल छिरेका थिए । एसएसबीका इन्स्पेक्टर हितेन्द्र सिंहसहित आएका दुईजनाले मोरङको अमाहिवरियाती प्रहरी चौकीका हवल्दार शम्भु चौधरीको हत्या गर्न खोजेका थिए । हवल्दार चौधरीमाथि हातपात गरिरहेको देखेपछि स्थानीय समाजसेवी ५५ वर्षीय वासुदेव साहसहित स्थानीय बासिन्दा त्यहाँ पुगे । उनीहरूले हवल्दार चौधरीलाई जोगाए । एसएसबीका इन्स्पेक्टर सिंह साहमाथि सोझिए र गोली हाने । गोली लागेर साहको घटनास्थलमै ज्यान गयो । तर, स्थानीय प्रशासनले किरिया खर्चबाहेक केही सहयोग गरेन ।