उत्तर प्रदेशका उपमुख्यमन्त्रीको नेपालका प्रधानमन्त्रीलाई जवाफः पूर्वमा नेपाल आर्यवर्त (भारत) कै हिस्सा थियो!

उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालमा जन्मिएको हुन सक्ने भनाईलाई आत्ममन्थन गर्न आग्रह गरेका छन्। र, उनले भारत–नेपालबीच सदियौंदेखि रहेको सांस्कृतिक सम्बन्धलाई बिगार्ने किसिमले बयानबाजी नगर्न अपील गरेका छन्। 

सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) को नेता समेत रहेका मौर्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारतको सम्बन्ध ‘रोटी–बेटी’ को मान्दै आइरहेको र यो सम्बन्धलाई धमिलो नबनाउन आग्रह गरे। 

उनले भने, ‘उत्तर प्रदेशको अयोध्या जहाँ भगवान रामको जन्म भएको थियो, जुन इतिहासको विषयमा सबै जानकार छन्। नेपाली प्रधानमन्त्रीले इतिहास परिवर्तन गर्ने प्रयास नगर्दा हुन्छ। भारत सरकारको परराष्ट्र मन्त्रालयले पनि यस विषयमा बयान सार्वजनिक गर्ने नै छ।’
उनले आफ्नो ट्वीटमा भनेका छन्, ‘यो बयानले उनको (नेपाली प्रधानमन्त्री) मानसिक अवस्थाको बयान गर्छ। ओली जीलाई थाहा हुनुपर्छ नेपालको पूर्वी भूभाग पनि आर्यवर्त (भारत) थियो।’

उनले अयोध्यामा राम मन्दिर निर्माणलाई लिएर निकै उत्साह रहेको बेला नेपाली प्रधानमन्त्रीबाट आएको बयानले दुई देशको सम्बन्धमा थप तिक्तता आउने बताए। ‘मन्दिरको काम धमाधम चलिरहेको छ। मानिसहरू निकै उत्साही छन्। वर्षोको पर्खाईपछि अयोध्यामा राम मन्दिरको दर्शन गर्ने अवसर जुरिरहेको छ,’ उनले भने। 

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले रामको जन्म नेपालको वीरगञ्ज नजिकैको ठोरी भन्ने ठाउँमा भएको हुनसक्ने बताएका थिए। उनले उत्तर प्रदेशमा भएको अयोध्यालाई रामको जन्मभूमि बताएर सांस्कृतिक अतिक्रमण गर्न खोजिएको बयान दिएका थिए। 

प्रधानमन्त्रीको यो बयानबाट भारतका हिन्दु धार्मिक संगठन मात्र होइन, सत्तारुढ बिजेपीका नेताहरू पनि चिढिएका छन्।

प्रकाशित मिति: : 2020-07-15 08:05:29

प्रतिकृया दिनुहोस्