नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस्, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्: गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी बचाउन जे पनि बोल्न थालेको बताएका छन्।

सोमबार प्रधानमन्त्रीले साँच्चैको अयोध्या वीरगन्ज नजिकैको एउटा गाउँमा पर्ने भए पनि भारतले नक्कली अयोध्या बनाएको बताएका थिए। हिन्दुहरूका भगवान् राम भारतीय नभई नेपाली भएको उनको दाबी थियो।

प्रधानमन्त्रीको उक्त भनाइको सर्वत्र आलोचना भइरहेका बेला मंगलबार सांसद थापाले प्रधानमन्त्री ‌ओलीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले ‘अन्टसन्ट’ बोल्ने गरेको आरोप लगाएका हुन्।

‘प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो,’ सांसद थापाले ट्वीट गर्दै भनेका छन्, ‘प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रधानमन्त्रीबाट न देश सुरक्षित छ न लोकतन्त्र!’

सांसद थापाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राजनीतिक होइन भनेर नपन्छिन पनि आग्रह गरेका छन्।

‘नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस्। अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्,’ थापाले भनेका छन्।

यस्तो छ सांसद थापाको भनाइ:

प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले"जे पनि बोल्ने"प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ।

मेरो विचारमा- यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो।

प्रमलाई राम्रोसँग थाहा छ, यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ।

त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई 'कथित राष्ट्रवादी' बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।

यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ। आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने, प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ।

यसलाई हल्का रुपमा नलिऔं। यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं। प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो।

प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र! नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।

प्रकाशित मिति: : 2020-07-14 22:38:59

प्रतिकृया दिनुहोस्