राधा खनाल/ जितेन्द्रनारायण ठाकुर
‘दिनभरी खोलाको डिलमा बसियो। १० बजेतिर सुत्न गयौँ। ११ बजेतिर नदी उर्लिएर घरको आँगनमै आइपुगेछ। छिमेकी आएर लुगा र भाँडाकुँडा तानिदिए। मैले २ जना काखका नानी घिसारेर बारीतिर पुर्याएँ। हेर्दाहेर्दै मेरो सँगै अरु ३ वटा घर र घर अगाडीको बाटो बगायो।’ शिवशताक्षी-१० की तारा शेर्माले बताइन्।
ऐलानी १ कट्ठा जग्गामा विगत १५ बर्षदेखि बस्दै आएकी विधवा शेर्मा घर न घाटकी बनेकी छन्। उनले भनिन्, ‘बालुवा चालेरै जीवन गुजारा गर्दै आएकी थिएँ। जे जस्तो भएपनि आफ्नो घर थियो। घरै लगेपछि अब कहाँ बस्ने? ’
शेर्माले काखमा बोकेका अढाई बर्षका छोरा शुक्रबार राती घर बगाएपछि घर खोज्दै झनै दुःख दिने गरेको सुनाइन्। उनले भनिन्, ‘खालि हाम्रो घर जाम भनेर दुःख दिन्छ। मैले कहाँ लानु ? ’ उनलाई छोराको प्रश्नले झनै भक्कानिन मन लाग्छ। गहभरी आँसु पार्दै भन्छिन्, ‘आफू दिनभर खोलामा बालुवा चाल्दा पनि छोरो घरमै लुटुपुटु गरेर खेल्थ्यो। छोरीहरुले फूल रोपेका थिए। अहिले तिनै फूल खोज्दै रुन थाल्छन्।’