बिहारको पूर्वी चम्पारणमा बसेको एउटा सानो शहर हो, रक्सौल। यहाँको बजार सडकको दुई किनारामा समेटिएको छ। पसलको भाडा महिनाको ५० हजार रूपैयाँ छ। यसको कारण छ। यहाँ सामानको बिक्री लाखौंमा हुने गर्छ। र, सबै भन्दा बढी सामान नेपालबाट आएका उपभोक्ताले किन्ने गर्छन्।
बिहानदेखि रातिसम्म बजारमा भीड लाग्ने गर्छ। यो बजारमा भीड यतिसम्म हुन्थ्यो कि, मान्छेको खुट्टा राख्ने ठाउँसमेत हुँदैन्थ्यो। तर, यतिबेला व्यापारीहरू ग्राहकको अनुहार हेर्न नपाएर आँखा तिरमिराउन थालेको छ।
नेपालीहरू खाना खाने भाडासमेत खरिद गर्न यहाँ आउने गर्थे। यसको कारण थियो। यहाँ भाडाका अनेकौ सामान निकै कम मूल्यमा पाइन्छ।
नेपालमा लत्ताकपडा, इलेक्ट्रोनिक्स सामानदेखि खाद्यान्नसमेत भारतको तुलनामा निकै महंगो मूल्यमा पाइन्छ। नेपाल सरकारले यस्ता सामानमा चर्को भन्सार शुल्क लगाउने गरेको छ। सामानहरू प्रायः विदेशबाट आउनेगर्छ। यसैले भारतमा जुन सामान ४ सय रूपैयाँमा पाइन्छ, नेपालमा यसका लागि ८ सय रुपैयाँ तिर्नुपर्ने हन्छ। यसै कारण पनि नेपाली ग्राहक भारत प्रवेश गरेर दिल खोलेर सामान किन्ने गर्थे।
अहिले दुबै देशले लकडाउन खुकुलो पारिसकेका छन्। तर बोर्डर बन्द छ। यसै कारण पनि रक्सौल बजार सुनसान देखिन्छ।
रक्सौलको पुरै बजार नेपालीकै कारण सञ्चालमा आइरहेको छ। यहाँ ८० देखि ९० प्रतिशत सामान नेपाली ग्राहकले खरिद गर्थे। अहिले पुरै बजार खाली देखिन्छ। अवस्था यस्तो छ, दिनमा एक–दुई जना ग्राहक सामान खरिद गर्न आए भने यसलाई ठूलो कुरा मान्दा हुन्छ।
यसअघि बिहान ७ बजेदेखि दिउँसो २ बजेको बीचमा निकै बिक्री हुन्थ्यो। अहिले यो समयमा एक जना ग्राहक पनि आउँदैनन्।
रक्सौलका टेक्सटाइल च्याम्बर अफ कमर्शका अध्यक्ष अरूण कुमार गुप्ता यस बजारमा कपडाको १ सय ५० वटा पसल भएको बताउँछन्। ‘अहिले अवस्था यस्तो छ, १ सय २० देखि १ सय ३० पसलमा एक जना पनि ग्राहक छैनन्। मेन रोडमा बसेको पसलको भाडा मात्र ५० हजार रुपैयाँ छ,’उनले भने।
अहिले यहाँका पसलहरूले आर्थिक समस्याका कारण कर्मचारी पनि कटौती गर्दै लगिरहेका छन्। भाडा व्यापारी निकेश कुमार शर्माका अनुसार कोरोना भाइरसको महामारी समाप्तिपछि नेपाली ग्राहक फेरि फर्किने छन्। उनी भन्छन्, ‘नेपालीहरूसँग अर्को विकल्प छैन। नेपालमा सामान यति महंगो छ, उनीहरू धेरै दिन उता सामान किन्न सक्दैनन्।’
उनी पनि ग्राहक नआउँदा भाडा तिर्नसमेत कठिन भएको बताउँछन्। बिहार सीमा जागरण मञ्चका प्रदेश अध्यक्ष तथा रक्सौलका ठूला व्यापारी महेश अग्रवाल भन्छन्, ‘नेपाल र भारतको सम्बन्ध रोटी–बेटीको छ। यहाँ मानिसहरू काम गर्न आउँछन्। न हामी बिना उनीहरू चल्न सक्छन्, न हामी उनीहरू बिना नैं। किनकि, हामी दुबैको सम्बन्ध अटुट छ। धेरै पुरानो। अहिले बजार ठप्प जस्तै छ। सीमा छिटो खुलेन भने स्थिति दयनीय बन्न सक्छ। धेरै पसलेहरू व्यापार बन्द गर्न बाध्य भइसकेका छन्।’
नेपालीहरू कस्मेटिक सामान पनि ठूलो मात्रामा खरिद गर्छन। अहिले यो सामान बिक्रीमा पनि ठूलो गिरावट आइसकेको छ।
कस्मेटिक विक्रेता राजेन्द्र कुमार भन्छन्, ‘पहिलेको तुलनामा १० प्रतिशत पनि ग्राहक छैनन्।’ उनी नेपालीहरू महंगो सामान किन्न सौखिन भएकाले आफ्नो व्यापार राम्रो भएको तर अहिले चार महिनादेखि सबै व्यापार चौपट भएको बताउँछन्। उनी कुनै पनि हालतमा सीमा पुनः खुलोस् भन्ने कामना गर्छन्।
(भारतीय अखबार दैनिक भास्करबाट)