मुलुक नेतृत्वहीन भएको छ भन्ने पत्याउन गाह्रो हुन्छ । यति धेरै नेता भएको मुलुक नेपालमा नेतृत्व छैन भन्नु अपत्यारिलो नै हो । गल्ली गल्लीमा नेता भेटिन्छन् । कांग्रेसका हुन् कि कम्युनिस्टका सबैतिर नेतैनेता छन् । अरु राजनीतिक दलमा पनि नेता पगरीधारीको कमी छैन । रेडियो, टेलिभिजन, अनलाइन वा पत्रपत्रिका हेरियो वा सुनियो भने ‘प्रभावशाली’ नेता उपाधि दिइएका बल्ग्रेल्ती ‘मान्छे’ सुनिन्छन् । सायद, यति धेरै घोषित नेताहरुको मुलुकको श्रेणीमा अनुपातका आधारमा नेपाल पहिलो दर्जामा नै दरिन्छ होला । यो गिनिज बुकको विषय भयो तर छिमेकी मित्र चीनको ‘अनाच्छादित’ भूमिकाले चाहिँ नेपाल नेताहीन भएको पुष्टि गरेको छ ।
बर्खे च्याउ जसरी नेतैनेता भएको नेपाललाई नेताहीन भन्नु अबौद्धिक कुरा मानिन सक्छ । तर, नेता भनेको के हो, वा को हो र त्यो कस्तो हुन्छ ? संस्कृत सूत्रमा भनिन्छ ‘नयतिति नेता’, के हाम्रो मुलुकमा यो भनाइ अहिलेको सन्दर्भमा साकार छ त ? अन्य भाषा र संस्कारमा पनि नेताको विशेष गुण किटानीबद्ध छ । ‘नयतिति’ भनेको सँगै लिएर हिँड्ने हो । आज नेपाली नागरिकलाई समुच्चा सँगै लिएर हिड्ने भरपर्दो नेता को छ त ? आफैसँग प्रश्न गर्नोस्, तपाईँ कोसँग यस प्रकार पूरै भर पर्न सक्नुहुन्छ ?