भनिन्छ, ‘शिक्षा ज्ञानको ज्योति हो।’ यसले अज्ञानताको अन्धकारलाई छिचोलेर उज्यालो छर्छ।
तर ज्ञान नै बिरामी भयो भने के होला ?
केही समयअघि साहित्यकार आहुतिले लेखेको एउटा गीत सार्वजनिक भयो, ‘ए अछुत बनाउने मान्छे, सञ्चै छौ कि अझै बिरामी !’
हिन्दु वर्ण व्यवस्था अनुसार नेपालमा एक समुदायलाई पानी नचल्ने र अर्कोलाई छोइछिटो नचल्ने जात भनेर छुट्याइएको थियो। मुलुकी ऐन लागु भएपछि यो व्यवस्था खारेज भयो कानूनी रुपमा। तर ऐनले व्यवहारिक रुपमा यो व्यवस्थालाई हटाउन सकेन र ‘अछुत’ अझै अस्तित्वमा रह्यो नदेखिने गरी, उस्तै जकडिएको अवस्थामा ।
शब्दकोषले ‘अछुत’ शब्दलाई यसरी व्याख्या गरेको छ, ‘छुन नहुने वा नछोइएको, अस्पृश्य : छुन नहुने अवस्था।
आहूतिले लेखेको गीतले भन्छ, ‘अछुत’ मानिसले नै बनाएको हो । यो व्यवस्था सुरु हुँदा समाजको संरचना निर्माण इट्टा जस्तो भूमिका भएपनि कालान्तरमा यो कुरीतिको रुपमा स्थापित भयो, ‘मान्छेले मान्छेलाई ‘छुन नहुने’ जात बनाए । र यो रीत चलिरहेको नै छ।