एकादेशमा लकडाउन निकै कडा थियो। कोरोना भाइरसको संक्रमणको डरले मानिसहरू घर भित्रै थुनिएका थिए। नेता पनि घरमै मस्त। बिना काम ‘लकडाउन हेर्न’ बाहिर निस्कनेहरूलाई प्रहरीले दुईचार घण्टा बाटैमा उभ्याउथ्यो। फलामे यन्त्रले मान्छे च्याप्प समाएर प्रहरीले भ्यान भित्र हाल्थ्यो। साथीभाइका पुराना तस्विर खोजेर काव्य लेखिन्थ्यो फेसबुकमा। सामाजिक संजालका भित्ता लकडाउन डायरीले भरिन्थ्यो। कोही खाना प्रदर्शनी गर्ने त कोही किताब। देशविदेश सबैतिर कोरोनाको कहर थियो। समाचार पनि कोरोना डेडिकेटेड।
दिउँसो ४ बजे टिभीमा विकास देवकोटालाई हेरिन्थ्यो। २०/३० जना संक्रमित बढ्दा, ‘ल बर्बादै हुने भयो’ भनिन्थ्यो। भाइबरमा कोरोना संक्रमितको संख्या कुरिन्थ्यो। लकडाउन अझै कडा पार्नुपर्यो भनिन्थ्यो।
अहिले यो सबै एकादेशको कथा झै भइसक्यो। ‘कडा लकडाउन’को कहानी अखबारका पाना र अनलाइनका हेडलाइनमा सीमित भइसक्यो।
करिब साढे दुई महिना कडा लकडाउनमा बसेका नागरिकहरू असार १ गतेबाट स्वतन्त्र भए। बजार खुल्न थाल्यो। मानिसहरूको चहलपहल बढ्यो। सुनसान बनेका सडक भरिए।