नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, ८५ । पहिलो पुस्ताका नेता सिंह कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनबाटै केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनले नेकपामा ६५ वर्ष बिताइसकेका छन् । उनको स्थायी ठेगाना प्युठान हो ।
केशरजंग रायमाझीसँगको विवाददेखि कम्युनिष्ट पार्टीको ०१९ सालको पहिलो विभाजनका साक्षी हुन् उनी । त्यसपछि लगातार आएका दर्जनौँ फूट र जुट व्यहोरेका पाका नेता हुन् । ०३१ सालमा चौथो महाधिवेशन गरी नेकपालाई संगठिन गर्ने प्रमुख नेता पनि उनी हुन् ।
२०४१ सालमा नेकपा (चौथो महाधिवेशन) मा फूट आयो । उनी नेकपा (मसाल) का महामन्त्री भए । त्यस बेलादेखि अहिलेसम्म महामन्त्री नै छन् । उनको पार्टी अर्द्ध–भूमिगत छ । संसदीय मोर्चाका रुपमा राष्ट्रिय जनमोर्चा खुल्ला छ ।
पहिले दैनिक १८ घन्टासम्म लेखपढ गर्थे उनी । अहिले त्यसलाई १२ घन्टामा झारेको बताउँछन् । अहिले 'जलजला' भन्ने उपन्यास लेखिरहेका सिंह त्यसैका लागि आवश्यक 'रेफरेन्स’ पुस्तक पढ्छन् । जीवनमा उनले ९ वर्ष जेलजीवन बिताएका छन् ।
अहिले सत्तारुढ नेकपा चरम विवादमा फसेको छ । यद्यपि उनी नेकपालाई कम्युनिष्ट मान्दैनन्, वामपन्थी दल भने मान्छन् । विभाजन नै विभाजनको इतिहास व्यहोरेको नेकपाको यो विवादलाई उनले कसरी हेरेका छन् त ? अर्द्ध–भूमिगत नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहसँग माधव ढुङ्गेलले लिएको अन्तर्वार्ता:
तपाईं नेपाल कम्युनिष्ट पार्टी ०१९ सालको पहिलो विभाजनदेखि अनेकौँ टुटफूट व्यहोरेको एक जना पाको नेता हुनुहुन्छ । नेकपाको विवादलाई कसरी हेर्नुभएको छ ? प्रधानमन्त्री केपी ओलीलाई के कारण हटाउन खोजिएको हो ?
लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नक्साको जो विवाद आयो, त्योभन्दा पहिलादेखि नै नेकपाभित्र विवाद थियो । ओलीको राजीनामा माग्ने काम भइरहेको थियो । यो त्यसैको निरन्तरता हो ।
लिम्पियाधुरासमेतको नक्साको जुन विवाद आयो, त्यसमा ओली सरकारले केही अडान लियो । त्यो ओलीको व्यक्तिगत अडान होइन । उनको सम्पूर्ण पार्टीको निर्णय हो । त्यो गरिसकेपछि उनको विरोधमा भारत सरकार, त्यहाँका मिडिया ओलीमाथि सबै वर्षेका छन् । उनलाई हटाउन षड्यन्त्र पनि गरेका छन् । यो त भारतको पहिलेको पनि प्रवृत्ति हो । नेपालको राष्ट्रियताको पक्षमा कसैले आवाज उठायो भने त्यहाँ गएर उसलाई अपदस्थ गर्ने प्रयत्न गर्ने कुरा नयाँ होइन ।
पहिले (ओलीको अघिल्लो कार्यकाल) खासगरी चीनसित पेट्रोलियम, यातायात, पारवहन सम्झौता गरेपछि भारतले उनलाई अपदस्थ नै गराए– एमाले र माओवादीका बीचमा फूट पारेर । अहिले पनि त्यही गरिरहेको छ, उसले । ओली उनीहरुलाई असहज भएको छ । त्यस कारण उनलाई हटाउन खोजेका छन् ।
संयोगले यी दुवै प्रकरण मिसिए । नेकपाभित्रको विवाद भारतसँग भन्दा पहिलेदेखि नै थियो । खास गरी यसको मूल कारण ओलीको गलत प्रकारको कार्यशैली हो । गतल प्रकारको भूमिका हो । संगठनमा पनि सही कार्यशैली अपनाएनन् । सरकारको सञ्चालनमा पनि सही प्रकारको कार्यशैली अपनाएनन् । दुवैको विरोधका पृष्ठभूमि र कारण बेग्लाबेग्लै छन् । अहिले संयोगले त्यो मिसिएका छन् ।
त्यसैले भारतले नेकपाभित्र देखिएको अन्तर्विरोधबाट पनि फाइदा उठाएर आफ्नो उद्देश्य पूरा गर्ने प्रयत्न गर्दैछ । मूल रुपमा यसको प्रवृत्ति दुइटै छ । पृष्ठभूमि बेग्लाबेग्लै छन् ।
नेकपाको विवादबाट भारतले फाइदा उठाएको कि भारतको एजेन्डामा नेकपाभित्रबाट घेराबन्दी भएको ?
नेकपाभित्र प्रधानमन्त्रीको राजीनामाको कुरा त अहिले उठेको हैन, पहिले पनि उठेको थियो । कालापानी क्षेत्रको विषयमा जुन निर्णय ग¥यो, त्यसभन्दा पहिले पनि आवाज उठेको थियो । भारतले विरोध ग¥यो, त्यसैले यिनले आवाज उठाए भन्ने चाहिँ होइन । पहिलेदेखि नै विरोध थियो, भारतले यसबाट फाइदा उठाउने कोशिश गरेको हो ।
नेकपाभित्रको विवाद त दुई महिनाअघि आत्मालोचना गरेर टुंगो लगाइसकेका थिए, अहिले त मदन भण्डारीको जन्मदिनमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा भारतले मलाई हटाउने षड्यन्त्र गर्यो भनेपछि फेरि बल्झिएको देखिन्छ नि त !
उठ्दै बीच–बीचमा 'ड्रप’ हुँदै आएको छ । विवाद उत्पन्न भएका छन्, फेरि त्यसमा केही सामञ्जस्यता आउने गरेको छ । यो क्रम निरन्तर चलेको छ । त्यसैले भारतले त्यो उठाएका कारण यो उठेको भन्न मिल्दैन ।
वास्तवमा भन्ने हो भने नेकपाभित्र अहिले मात्र होइन, पार्टी एकता भएदेखि नै निरन्तर अन्तर्विरोधहरु चलिरहेका छन् । को अध्यक्ष हुने, को प्रधानमन्त्री हुने आलोपालो गर्ने कि के गर्ने भन्ने पहिलेदेखिको विरोध हो । यो त्यसैको निरन्तरता हो ।
तपाईं नेपाल कम्युनिष्ट पार्टीको ७१ वर्षको इतिहासमा करिब ६५ वर्षदेखि सक्रिय हुनुहुन्छ । दुई पार्टी मिले तर अध्यक्ष पनि दुई जना भए । तपाईंले भन्नुभो– नेकपाको विवाद पदको हो । त्योबेलादेखि अहिलेसम्म हुने कम्युनिष्ट पार्टीमा हुने विवादका प्रकृति उस्तै छन् कि फरक ?
यस्तो प्रकारको प्रवृत्ति त मधेशवादीहरुमा देखा परेको छ । पाँच–छ जना अध्यक्ष हुनेसम्म भए त्यहाँ । नेकपामा दुईजना अध्यक्ष भए । यो त सैद्धान्तिकभन्दा पदले काम गरेको छ ।
यसको कारण ओलीको गलत व्यक्तिवादी, स्वेच्छाचारी कार्यप्रणाली हो । यसबाहेक यो विवाद पदका लागि गुटबन्दी पनि हो । स्वस्थ प्रतिस्पर्धा होइन त्यो । त्यो पनि गलत प्रकारको कार्यप्रणाली नै हो । त्यो पक्षले पनि काम गरेको छ नेपालको कम्युनिष्ट आन्दोलनमा ।
त्यसले अहिले पनि काम गरेको छ । राजनीतिक र सैद्धान्तिक कारण हो भन्न मिल्दैन । व्यक्तिगत पद, प्रतिष्ठाले काम गरेको सत्य हो ।
पहिलोपल्ट तेस्रो महाधिवेशनबाट ०१९ सालमा कम्युनिष्ट पार्टी फुट्दा तपाईं केन्द्रीय सदस्य हुनुहुन्थ्यो । दोस्रो महाधिवेशन ०१४ सालदेखि नै विवाद भएको थियो । त्यसबेलाका विवाद र अहिलेको विवाद उस्तै छन् कि फरक ?
यसमा फरक छ । ०१४ सालमा द्वितीय महाधिवेशन भयो । त्यो बेला म केन्द्रीय कमिटीको सदस्य थिएँ । त्यसबेलादेखि तीन–चार वर्षसम्म लगातार विवाद भयो– रायमाझीसँग । उनको राजावादी ट्रेण्ड, संविधानसभाविरोधी ट्रेण्डका विरुद्ध हामीले लगातार संघर्ष गर्यौँ । त्यसैको परिणामस्वरुप हामीले ०१९ सालमा तेस्रो महाधिवेशन भयो । उनलाई कारवाही गर्यो ।
तेस्रो महाधिवेशन हुँदा म जेलमा थिएँ । सहभागी हुन पाइनँ । मलाई महाधिवेशनले केन्द्रीय कमिटीको पोलिटब्युरो निर्वाचित गरेको थियो । त्योबेला माझी (केशरजङ्ग रायमाझी) का विरुद्धको संघर्ष व्यक्तिगत थिएन । पदको लागि थिएन । उनको राजावादी ‘ट्रेन्ड’ का विरुद्ध संघर्ष थियो ।
महाधिवेशनपछाडि स्वस्थ प्रतिस्पर्धा र अन्तर्विरोध अगाडि बढेन । तुलसीलाल–पुष्पलालबीचमा सैद्धान्तिकभन्दा व्यक्तिगत पदका लागि झगडाहरु भए । त्यसको पारिणामस्वरुप पार्टी कैयौँ टुक्रामा बाँडियो । एउटा केन्द्रको विघटन भयो ।
पछि फेरि मनमोहन (अधिकारी), शम्भुराम (श्रेष्ठ), निर्मल लामा सबै मिलेर केन्द्रीय ‘न्यूक्लियस’ बनायौँ । चौथो महाधिवेशन सम्पन्न भयो । यसरी हेर्दा के भने त्यसबेला माझी (रायमाझी) सँग फूट भयो, त्यो सैद्धान्तिक विषय थियो । पार्टीलाई राजावादी भड्कावमा जानबाट रोक्नका लागि फूट भएको थियो । आवश्यक पनि थियो ।
पहिलाका विवाद गुटगत कम हुन्थे, विषयगत हुन्थे । त्यसैले केन्द्रीय सदस्यमात्रै हुँदा पनि तपाईंले राख्नुभएको संविधानसभाको प्रस्ताव महाधिवेशन हलबाट पारित भएको थियो नि, हैन ?
त्यो द्वितीय महाधिवेशनमा होइन त्यो । द्वितीय महाधिवेशनमा त संविधानसभा सर्वसम्मत थियो । माझीहरुसहित पुष्पलाल, हामीहरु सबै एक मत थियौँ । सबै पार्टीको एकमत थियो, त्यसबेला । विवाद यत्ति थियो– वैधानिक राजतन्त्रलाई स्वीकार गर्ने कि गणतन्त्रमा जाने ।
दरभंगा प्लेनममा आएर त्यो मतभेद पैदा भयो । त्यो केन्द्रीय कमिटीको विस्तारित बैठक थियो । ०१८ सालको अन्तिमतिर, ०१९ सालको सुरुतिर भएको हो । त्यसमा संविधानसभाको विवाद उठ्यो ।
त्यसबेला त मुद्दाका आधारमा मतभेद हुन्थ्यो । अहिले त पार्टीका गुट धर्म ग्रहण गरेजस्तै छ नि ? यसको कारण के हो ? यो देख्दा कस्तो लाग्छ ?
त्यसबेलादेखि अहिलेसम्म हेर्दा कम्युनिष्ट पार्टीको चरित्र, चिन्तन र दृष्टिकोणमा धेरै स्खलन भएर गएको छ । त्यसबेला कम्युनिष्ट पार्टीमा मात्र होइन, कांग्रेसमा पनि जो लाग्थे, देश र जनताको सेवा भावनाले लाग्थे । गणेशमान, बीपी वा त्यो बेला पहिलो पिंढीका जो लागे, व्यक्तिगत स्वार्थका लागि उनीहरु लागेका होइनन् । उनीहरु देश र समाजमा परिवर्तन ल्याउनका लागि लागेका हुन् । कम्युनिष्टको मात्र कुरा गर्दैनौँ हामीले ।
पुष्पलाल, मनमोहन त्यो पिढीका साथीहरु जो कम्युनिष्ट पार्टीमा लागे, सैद्धान्तिक आस्थाका आधारमा लागेका हुन् । पछि त्यसमा विकृति आउँदै गयो । सिद्धान्त, नीति, आस्थाभन्दा पनि व्यक्तिगत स्वार्थपूर्ति गर्ने भन्ने दृष्टिकोण पनि कम्युनिष्ट पार्टीमा प्रवेश गर्न थाल्यो । सैद्धान्तिक चिन्तनमा स्खलन हुन थाल्यो । त्यसको असर कम्युनिष्ट पार्टीमा पनि पूरा प¥यो । सैद्धान्तिकभन्दा व्यक्तिगत फाइदा, स्वार्थका लागि काम गर्ने, पदका लागि झगडा गर्ने प्रवृत्ति देखा प¥यो ।
त्यो प्रवृत्ति आज नेकपामा तपाईं देख्नुहुन्छ । उनीहरुको बीचमा जो संघर्ष र मतभेद देखापरेको छ, त्यो सैद्धान्तिक राजनीतिक मात्र होइन । पद, प्रतिष्ठाको लागि पनि हो । त्यस कारण त्यहाँ गुटबन्दी हुने गरेका छन् ।
नेकपाभित्रका धेरै नेताहरु तपाईंकै स्कुलिङबाट आएका पनि हुनुहुन्छ । उहाँहरु पहिले 'उग्र–क्रान्तिकारी’ अनि अहिले चाहिँ 'घोर दक्षिणपन्थी’ जस्तै आचरण र जीवनशैली छ ! यस्तो कसरी हुन्छ ? कम्युनिष्ट दर्शनले कसरी व्यख्या गर्छ यसलाई ?
मालेको विश्लेषण गर्ने बेलामा हामीले 'उग्रवामपन्थी विचारधाराका खण्डन’ भन्ने किताबै लेखेका थियौँ । पछि महाधिवेशनमा पनि हामीले थुप्रै किताब र लेखहरु लेखेका छौँ । उनीहरुको जो कार्यविधि हो, त्यो उग्रवामपन्थी हो । त्यो गलत छ ।
उग्रवामपन्थी कार्यविधिको स्रोत हुन्छ– वस्तुस्थितिको सही विश्लेषण नगरी आत्मगत चिन्तनको आधारमा निर्णयमा पुग्ने । यो छिपछिपे हचुवा प्रकारको तरिका हो । यस प्रकार मान्छे जति सजिलै उग्रवामपन्थी भड्कावमा जान्छन्, त्यत्ति सजिलै उनीहरु दक्षिणपन्थी भड्कावमा पनि जान्छन् ।
हामीले त्यहीबेला विश्लेषण गरेका थियौँ । उनीहरुमा छिपछिपे हचुवा र आत्मगत तरिका जो देखा पर्यो, त्यसको परिणाम स्वभाविक रुपमा दक्षिणपन्थी दिशा लिनु स्वाभाविक थियो । त्यसैले उनमा उग्रवामपन्थी भड्काव र पछि गएर दक्षिणपन्थी भड्काव देखा पर्यो । त्यही रुपमा अहिले पनि उनीहरु देखा परेका छन् । अब माक्र्सवादी–लेनिनवादी चिन्तनबाट उनीहरु विचलत भयो । संगठन प्रणाली पनि एउटा माक्र्सवादी–लेनिनवादी कम्युनिष्टको जस्तो छैन ।
उनीहरुका बीचमा मतभेद छन्– कैयौँ कुरा । ती मतभेद एउटा कम्युनिष्ट पार्टीमा देखा पर्ने मतभेद हैनन् । कम्युनिष्ट पार्टीमा मतभेद भए पनि त्यो सार्वजनिक गर्ने तरिका हुँदैन । बहुमतको कुरा मानेर जाने हुन्छ । तपाईं देख्नुहुन्छ– सबै मत सार्वजनिक आएका छन् । एउटाले अर्काको आलोचना गर्छन् । यो कम्युनिष्टको पद्धति होइन ।
त्योबाहेक पार्टीले एउटा निर्णय गर्छ– त्यसलाई मान्नुपर्ने जरुरत छैन । पार्टीले निर्णय गर्छ– ओलीले अध्यक्षबाट हट्नुपर्छ भनेका छन्, प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्छन् । ओली त्यसबाट बचेर आफ्नै किसिमले जाने प्रयत्न गर्छन् । पार्टीको निर्णयको कुनै महत्व छैन । यो माक्र्सवादी–लेनिनवादी कम्युनिष्ट पद्धतिबाट विचलन हो ।
राजनीतिक दृष्टिकोणबाट मात्र उनको विचलन भएका छैन, संगठनात्मक पद्धतिबाट समेत उनको विचलन भएको छ । आज उनीहरुको संगठनात्मक प्रणाली नेपाली कांग्रेस जस्तो खुला प्रकारको छ । अनुशासन छैन । नियम छैन ।
पार्टी निर्णयको कुनै अर्थ छैन । जनवादी केन्द्रीयता भन्ने कुनै चिज छैन । त्यसले के बताउँछ भने उनीहरु राजनीतिक रुपबाट मात्र होइन, संगठनात्मक कार्यविधिको दृष्टिकोणबाट पनि कम्युनिष्ट प्रणालीबाट धेरै विचलन भइसकेको प्रष्ट हुन्छ । उनीहरु कम्युनिष्ट होइनन् ।
एउटा व्यक्तिगत प्रश्न, तपाईं अहिले पनि भूमिगत, अर्द्ध–भूमिगत हुनुुहुन्छ । यसको कारण के हो ? कहिलेदेखि सार्वजनिक हुने ?
हामी सार्वजनिक हुने–नहुने भन्ने पार्टीको निर्णयमा भर पर्छ । पार्टीलाई मूल रुपमा भूमिगत राख्ने हाम्रो निर्णय छ । अहिले पनि पार्टी खुला रुपमा आएको छैन । को के रुपमा छ, त्यो खुला गर्दैनौँ । वैधानिक मोर्चा खुला छन् । कामरेड चित्रबहादुर केसी अध्यक्ष हुनुहुन्छ । अरु साथीहरु छन् त्यसमा ।
चार दशकदेखि एउटै छ– नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह । गणतन्त्र आइसक्यो, अब कुनै ‘थ्रेट’ बाँकी छैन तर पनि तपाईं किन भूमिगत ?
पार्टीलाई भूमिगत राख्नुको हाम्रो उद्देश्य के हो भने संसदीय प्रणाली जो छ, त्यसैमा संलग्न हुनु, त्यसमा भाग लिनु मात्र हाम्रो हाम्रो कार्यदिशा होइन । हाम्रो उद्देश्य यो व्यवस्थामा आमूल परिवर्तन ल्याउने हो ।
संसदीय प्रणाली, बहुदलीय व्यवस्थामा परिवर्तन ल्याएर नयाँ जनवादी व्यवस्था ल्याउनु हो । यो दीर्घकालीन प्रकारको उद्देश्य छ । त्यस कारण पार्टी संरचनालाई भूमिगत राखेका छौँ । खुला गतिविधिमा सामेल हुन वैधानिक मोर्चा बनाएका छौँ ।
पार्टीको महामन्त्रीको हिसाबले म भन्छु– मेरो नाम बाहिर गयो, पद बाहिर गयो । विचारहरु बाहिर गए । अरु साथीभाइका त्यसरी जान्नन् । खाली प्रवक्ताहरुका जान्छन् । पार्टी भूमिगत छ । म त्यसको महामन्त्रीका हैसियतले अद्र्धभूमिगत छु ।
दीर्घकालीन उद्देश्य र तात्कालिक उद्देश्यका बीच सामिप्यता कायम गर्न भूमिगत र खुला प्रणालीबीच हामीले सामञ्जस्यता कायम गर्ने प्रयत्न गरेका छौँ ।
तपाईंले सोच्नुभएको त्यो उद्देश्य कहिले प्राप्त होला ?
कहिले प्राप्त होला त भन्न सकिन्न । म महामन्त्री कहिलेसम्म रहन्छु, त्यो पनि भन्न सकिन्न । यो त पार्टीले निर्णय गर्ने कुरा हो ।
तपाईंमा यत्रो विश्वास छ तर नेकपा मसाल चाहिँ झन्–झन् खुम्चिँदै गएको छ ?
यसमा दुई कारण छन्– एउटा त अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन । ०३१ सालतिर हाम्रो चौथो महाधिवेशन भयो । त्यो काल र अहिलेको कालमा लामो समय बितिसकेको छ । यसबीचमा नेपालको कम्युनिष्ट पार्टी, हाम्रो पार्टी केही खुम्चेको देख्नुहुन्छ ।
अर्को पक्ष पनि हेर्नुस् न ! विश्वको कम्युनिष्ट आन्दोलन धेरै खुम्चेको छ यो कालमा । सोभियत संघ थियो, समाजवादी व्यवस्था थियो । पूर्वीयूरोप सारा थियो । त्यो कति धेरै खुम्चेको छ । त्यसको असर हाम्रो पार्टीमा पनि परेको छ ।
दोस्रो, खाली हाम्रो पार्टी मात्र खुम्चेको छैन, मान्छेको चिन्तनमा पनि विचलन आएको छ । पहिले पार्टी र पार्टीको उद्देश्यप्रति समर्पित भएर पार्टीमा आउँथे । अब कहाँ स्वार्थ पूरा गर्ने भनेर आउँछन् । त्यो पद, प्रतिष्ठा, पैसा, स्वार्थका लागि नेकपामा लाग्छन् । यसको असर पनि कम्युनिष्ट पार्टीमा परेको छ ।
अर्को असर जनतामा परेको छ । त्यस्तो बेलामा जनताले स्वविवेकले निर्णय गर्छन् । अब जनता पनि त्यस्ता छैनन् । चुनाव आयो, कहाँ पैसा पाइन्छ, कहाँ पद दिन्छन् हेर्छन् ।
अनि जनता जगाउने काम कम्युनिष्ट पार्टीको होइन ?
यो सबैको असर कम्युनिष्ट पार्टीमा पर्यो । हाम्रो शक्ति कम र बेसी हुनुका अगाडि जनताको चेतना र जनताको समर्थनमाथि भर पर्छ । जनताको समर्थन हुन्छ, हामी शक्तिशाली हुन्छौँ । जनताको समर्थन कम हुन्छ, हामी कमजोर हुन्छौँ । कार्यकर्तामा बढी समर्पणको भाव हुन्छ, हामी शक्तिशाली हुन्छौँ, कार्यकर्तामा अलिकति स्खलनको भावना आउँछ, हामी कमजोर हुन्छौँ ।
विश्वमा नै जो परिवर्तन आएको छ, कम्युनिष्ट आन्दोलनको भौतिक रुपमा मात्र होइन, चिन्तन र जनआधारमा पनि बुर्जुवा प्रकारको संस्कृतिको जो असर परेको छ । ती सबैको असर कम्युनिष्ट पार्टीमा परेको छ ।
युरोपमा हेरौँ, कम्युनिष्ट पार्टी कति शक्तिशाली थियो । आज कुन अवस्थामा पुगेको छ । फ्रान्समा ७५ हजार गुरिल्ला थिए, ग्रीकमा २२–२५ हजार गुरिल्ला थिए, मलेसियाका मलायाहरु, ल्याटिन अमेरिका हेरौँ । यो अवधिमा संसारका धेरै कम्युनिष्ट पार्टीहरु समाप्त भएर गए तर त्यो स्थितिमा पनि हाम्रो पार्टी कायम छ । कयौँ फूट, दुष्मनका हमलाका बाजुद पार्टी कायम छ । त्यो हाम्रो महत्वपूर्ण उपलब्धि हो ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (माओवादी–क्रान्तिकारी) सँग पार्टी एकता वार्ता चलेको भन्ने सुनिन्थ्यो । कहाँ पुग्यो वार्ता ?
कुरा चलेको थियो हाम्रो तर एकता हुन सकेन । नयाँ जनवादी क्रान्तिसम्बन्धी हाम्रा कैयौँ विचार एकै छन् । विचार मिल्छ । तात्कालिक राजनीतिमा हाम्रा धेरै मतभेद छन् ।
गणतन्त्रको पक्षमा भन्नुस् । यो गणतन्त्रलाई हामी बुर्जुवा भन्छौँ, सैद्धान्तिक रुपमा हामी त्यसलाई समर्थन गर्दैनाँै तर यो गणतन्त्रलाई सुदृढ पार्नुपर्छ । यसमा प्रतिगामी हमलाको हामीले विरोध गर्नुपर्छ । उहाँले यसलाई खारेज गर्नुपर्छ भन्नुहन्छ । मिल्दैन हाम्रो । यो संविधानलाई मूल रुपमा समर्थन गर्दैनौँ– यसमा संघीयता छ । त्यसका साथै यसमा गणतन्त्र छ, धर्मनिरपेक्षता पनि छ । त्यसैले यसलाई समर्थन गर्नुपर्छ भन्छौँ । संघीयतालाई हामी विरोध गर्छौँ, उहाँहरु समर्थन गर्नुहुन्छ । मतभेदहरु छन् ।
तै पनि हाम्रो, बैद्यजी, विप्लवजी, सीपी मैनालीजी अरु सबै पक्षसँग मिलेर एउटा तात्कालिक विषयहरुमा संभव भएसम्म एकता गरेर जाने हाम्रो प्रयत्न हुन्छ ।
तपाईं त पहिलो पुस्ताको कम्युनिष्ट नेता, नेकपाका तेस्रो पुस्ताका नेतालाई केही अर्ति–उपदेशस्वरुप केही भन्नुहुन्छ ?
त्यसलाई हामी कम्युनिष्ट पार्टी मान्दैनौँ । त्यही पनि नेपाली कांग्रेस जस्तो वा राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो प्रतिक्रियावादी संगठन होइन । त्यसलाई अझै देशभक्त र वामपन्थी मान्छौँ । त्यस कारण देशको राजनीतिमा अहिले यसको भूमिकाले महत्वपूर्ण स्थान राख्छ । नेकपामा फूट हुन्छ भने त्यसको असर सरकारमा पर्छ । सरकार विघटन हुन्छ भने देशलाई प्रतिगमनतिर लैजान्छ । राष्ट्रियतामा नोक्सान पुर्याउँछ । देशको गणतन्त्र र धर्मनिरपेक्षतामा नोक्सान पुर्याउँछ ।
त्यस कारण हाम्रो जोड के हुन्छ भने त्योसितको हाम्रो गम्भीर प्रकारका मतभेदका बाबजुद उनीहरुले यो एकता कायम राख्न प्रयत्न गर्नुपर्छ । यद्यपि, उनीहरुका नीति र कार्यशैलीप्रति हाम्रो गम्भीर प्रकारका मतभेद छन् । त्यसका विरुद्ध लगातार संघर्ष गर्दै जाने हाम्रो नीति रहँदै आएको छ ।