कसलाई रहर लाग्ला बुढो हुन्? बुढ्यौलीले छोपेका मानिस पनि जवान हुने चाहना राख्छन्।
यस्तो अवस्थामा यो बुझ्न गाह्रो छैन– मानिसहरु धेरै पहिलेदेखि बुढेसकाल नआओस् भनेर भगवानसँग प्रार्थना गरिरहेका छन्। तर, उनीहरुले कहिल्यै विचार गरेका छैनन्, आखिर बुढेसकाल किन आउँदो रहेछ?
अमेरिकाको कोलम्बिया विश्वविधालयको जेनेटिक्स विभागले हालै सार्वजनिक गरेको रिपोर्टमा मानिस किन बुढो हुन्छ भन्ने तथ्य पत्ता लगाएको छ। जेनेटिक्स विभागका प्रमुख प्रोफेसर गेरार्ड कारसेन्टीले ३० वर्ष लगाएर गरेको अनुसन्धानमा यो पत्ता लागेको छ, वास्तवमा बुढेसकाल लाग्नुको सबैभन्दा ठूलो कारण हाम्रो शरीरमा भएको हड्डी हो।
यदी हड्डी मजबुत भयो भने बुढ्यौलीपनले हामीलाई छुन सक्दैन। प्रोफेसर गेरार्डले हड्डीमा निर्माण हुने हार्मोन ‘ओस्टियोकेल्सिन’ को अनुसन्धान गर्ने क्रममा यो पत्ता लगाएका छन्, हड्डीभित्र पुरानो टिशूलाई हटाउने र नयाँ टिशू बनाउने काम लगातार चलिरहेको हुन्छ।
यसले हाम्रो लम्बाई बढाउन पनि सहयोगीको काम गरिरहेको हुन्छ। उनले मुसाबाट यो हार्मोन निकालेर अनुसन्धान गरेका थिए। जसमा पत्ता लागेको थियो, हड्डीभित्र भएको हार्मोनले हाम्रो शरीरमा भएको विभिन्न क्रियालाई प्रभावित पार्ने गर्छ। प्रोफेसर गेरार्ड भन्छन्, ‘पहिले एउटा मान्यता थियो, हड्डीको ढाँचाले हाम्रो शरीरलाई उभ्याउँन सहयोग गरेको छ। तर, त्यो मात्र साँचो होइन। हड्डीले यो भन्दा बढी अन्य चिजलाई पनि प्रभावित गरिरहेको हुन्छ।’
हड्डीभित्र रहेको टिशूले शरीरभित्र रहेको अन्य टिशूसँग सहयोगी भूमिका निर्वाह गरिरहेको हुन्छ। हड्डीले आफै हार्मोन निर्माण गरिरहेको हुन्छ, जसले शरीरको अन्य भागमा संकेत पठाउने काम गर्दछ। यसैको सहयोगले हामी ब्यायाम गर्न सक्छौं। यसले बुढ्यौलीपन रोक्न र स्मरणशक्ति बढाउन सहयोग गर्दछ।
प्रोफेसर गेरार्ड बुढेसकाल आउन नदिन शरीरभित्र ‘ओस्टियोकेल्सिन’ को मात्रा बढाउने बाहेक अन्य कुनै विकल्प नरहेको बताउँछन्। नियमित व्यायामले मानव शरीरभित्र ‘ओस्टियोकेल्सिन’ को मात्रा निर्माण गर्न सकिन्छ। यद्यपि वैज्ञानिकहरु ‘ओस्टियोकेल्सिन’ को औषधि निर्माण गर्ने अभियानमा सक्रिय भइसकेका छन्।
यस्तै, क्यालिफोर्नियास्थित वर्कले विश्वविधालयका वैज्ञानिकले बुढेसकालमा प्रवेश गरिसकेका मुसाहरुमा गरेको अनुसन्धानमा ‘ब्लड प्लाज्मा’ को आधा भाग निकालेर यसको स्थानमा स्लाइन र एल्ब्युमिन परिवर्तन गर्दा उमेर बढ्ने प्रक्रिया पनि परिवर्तन भएको बताइएका छन्।
यसले मांसपेशी, चेतना, लिभरको टिशू पुर्नताजगी भएको देखाएको छ। अनुसन्धान गरिरहेको टिम अब यो निश्कर्ष निकाल्ने अभियानमा छ, संसोधन गरिएको ‘ब्लड प्लाज्मा’ उमेरसँगै यससँग जोडिएको रोगको उपचारमा सहयोगी सावित हुन्छ कि हुँदैन।
यस्तै, बुढ्यौली उमेरका मानिसहरुको स्वास्थ्यमा नयाँ अनुसन्धान कति लाभदायक हुन्छ, यसको पनि परीक्षण भइरहेको छ।