सबैको दुःख बिसाउने ठाउँ। चाहे त्यो सत्ताप्रतिको आक्रोश होस् वा अन्यायको चित्कार वा अन्य नागरिक आन्दोलन। सबैको साक्षी हो- माइतीघर।
आक्रोश र असन्तुष्टिका स्वर गुन्जाउनेदेखि न्यायको चित्कार माइतीघरले सुनेको छ। जसरी एउटी चेलीलाई समस्या पर्दा माइतीको आशा र भरोसा हुन्छ, त्यसरी नै जनताका आक्रोश सत्तालाई सुनाउन र झुकाउन माइतीघरको साहरा छ।
मौलिक नाम ‘फिब्वः ख्यः’ रहेको माइतीघर मण्डलाले राजनीतिक जमघटदेखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रुपमा आफ्नो परिचय बनाएको छ। बेलायतको स्पिकर कर्नर जस्तै काठमाडौंको माइतीघर यस्तो थलो हो जसको सबैले भरोसा गर्छन्।
२०५७ सालमा ११ औं सार्क शिखरको सम्मेलन आयोजना हुने बेलामा आसपासको बस्तीलाई व्यवस्थापन गरी केवल १७ दिनमा निर्माण गरिएको माइतीघर मण्डलाले २० वर्षे उमेरमा सबै खाले आन्दोलन साक्षी बनेर मौलिक ख्याति कमाएको छ।
प्रायः जनताको आक्रोश र असन्तुष्टि पोख्ने माइतीघर अहिले जनतालाई मात्रै होइन, सत्तालाई पनि चाहिएको छ। त्यो पनि सच्चिन दबाब दिन माइतीघरमा भेला भएका जनताप्रति विष बमन गर्ने सरकारलाई।
भ्रष्टाचार काण्डमा मुछिनुअघि वर्तमान सरकारका प्रवक्ता रहेका बेला गोकुल बाँस्कोटाले माइतीघरमा भएका कुनै पनि आन्दोलनको आलोचना गर्न छुटाएनन्। खबरदारीलाई बेवास्ता गरेर जनतालाई गाली गरेर सत्ताको ताबेदारी गर्नु उनको बाध्यता थियो वा मजवुरी।
तर, गुठी विधेयकको विरोधमा भएको विशाल आन्दोलनले भरीभराउ भएपछि त्यो बेला ओली सरकारको शीर दुई तिहाइको दम्भबाट झुकेको थियो।