कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ।
नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा दश उपकरण प्रदान गरिएको हो।
समितिका प्रमुख राजेन्द्र ढुङ्गानालगायतको उपस्थितिमा बुधबार ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ स्वास्थ्य केन्द्र, उत्तरगङ्गा नमुना र शिवालय माविको क्वारेन्टिन स्थलमा ती उपकरण वितरण गरिएको थियो।
यस्तै तमानखोलाको जनजागृति, निसीखोलाको प्रभा, ज्ञानेन्द्र, बडिगाडको त्रिभुवन, भानु र खारमाविमा सञ्चालित क्वारेन्टिन स्थलमा पनि उपकरण वितरण गरिएको थियो।
हातले नछोइ प्रयोग गर्न मिल्ने भएको हुँदा उक्त उपकरणले कोरोना भाइरसलगायत अन्य किटाणुबाटसमेत जोगाउने बताइएको छ। खुट्टाले चलाएर हात धुन मिल्ने उक्त उपकरण अहिले धेरै ठाउँमा प्रयोगमा ल्याइएको छ।
धारो हातले खोल्ने, बन्द गर्ने गर्दा कोरोना भाइरस सर्न सक्ने हुँदा खुट्टाले चलाउन मिल्ने प्रविधि विकास गरिएको हो। उक्त प्रविधियुक्त धारोमा खुट्टाले थिचेपछि पानी र साबुन खस्छ। हातले कतै नछोइकल मिचिमिचि हात धुन सकिन्छ।
कोरोना रोकथाम र नियन्त्रणमा यसले सघाउने विश्वास गरिन्छ। सोही उद्देश्यका लागि स्थानीय तहमा रहेका आइसोलेसन र क्वारेन्टिनमामा उपकरण सहयोग गरिएको सो सस्थाले जनाएको छ। उक्त संस्था खानेपानी र सरसफाइका क्षेत्रमा क्रियाशील छ।