सम्माननीय प्रधानमन्त्री ज्यू,अभिवादन !
नमस्कार गरिनँ। अभिवादन नै भनेँ। किनभने तपाई कम्युनिस्ट हो। तपाईँले लगाउने क्रान्तिकारी नारामा हामी गन्धर्भ अटाउँछौं। तर तपाई सत्ताको नजरमा हामी कहिले पर्दैनौं।
प्रधानमन्त्री ज्यू, तपाईसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर सायदै प्राप्त होला। तपाईँ आफैं अहिले ‘गम्भीर’ स्वास्थ्य युद्व लडिरहनुभएको छ। भलै यो युद्वको सम्पूर्ण खर्च नेपाल सरकारको होला। हामी पनि अनेक थरि रोगका सिकार छौं। हाम्रो स्वास्थ युद्व त झन् साह्रो निम्छरो छ। हामी लड्यौं कि हार्यौं। तपाईँलाई भन्दा बढी हामीलाई नै स्वास्थ्य युद्वले लल्कारिरहेको छ। युद्वबाट सकभर भागिरहेका छौं।
यति हुँदा पनि देशको कार्यकारी तपाईँलाई मेरो तर्फबाट पनि शिघ्र स्वास्थ्य लाभको कामना।
सोच्नु होला फेरि कुन चाही बेवकुफले पत्र लेखेछ, भनेर। हुन त तपाईँको नजरमा प्रश्न गर्ने जति हामी सबै बेवकुफ नै हौं। यो कुनै अधिकारकर्मीको माग होइन, यो एक स्वतन्त्र गन्धर्भ युवाको मनोलाप मात्र हो। तपाईँहरू जस्ता पुराना कम्युनिस्ट र नयाँ कमाउनिष्टहरूलाई हिजोदेखि आजसम्मको स्थिति अवगत गराउन खोजिएको प्रयास मात्र हो। मलाई लाग्दैन यसले तपाईँहरू परिवर्तन हुनुहोला।
तपाईँलाई पत्रै लेखिहाल्नुपर्ने कारणहरू त खासै धेरै छैनन्। स्वतन्त्रता, लोकतन्त्र र परिवर्तनको चर्को नारा लगाउने तपाईँले अरुको स्वातन्त्रता कत्तिको ख्याल गर्नुभएको छ कुन्नि? यो रहरले भन्दा पनि बाध्य भएर लेख्न खोजेको छु। अझ भनौं आवश्यकता हो। त्यसैले यो पत्रमा म कुनै क्रान्तिकारी देखिन खोजेको छैन। बस् तपाईहरु जस्ता पुराना क्रान्तिकारीलाई सम्झिन खोजेको छु।
बाँसुरीवाला प्रधानमन्त्री ज्यू,
यो देशमा वाली र वालाहरु भाइरल हुन्छन्। तपाई पनि बाँसुरी बजाएर भाइरल हुनुभयो। त्यसैले मैले तपाईलाई ‘बाँसुरीवाला’ भने। तपाईका वरिपरि रहेर सारंगी बजाउनेहरू पनि तपाईकै कारण भाइरल छन्। तर हेर्नुस् त हामी युगौंदेखि सारंगी बजाउनेको हालत? यी हाम्रा पुर्ख्यौली सम्पत्ति तपाईँहरूले चलाउँदा एकाएक हिट भइजानुहुन्छ। तर हामीले चलाउँदा सँधै अछुत, अपहेलित र तल्लो जात हुन्छौं भने कति दिन हिउँदमा भालुले हात चाटेर रात कटाए झैं गरि बाँचिरहेका छौं।
तपाईँले बाँसुरी बजाएर हिट हुँदा म भारतमा मजदुरीको गरिरहेको थिएँ। त्यो बेला मलाई निकै गर्व लागेको थियो। किनकि पहिला म नेपाली हुँ। त्यसपछि गन्धर्भको छोरा। मलाई जानकारी भए अनुसार गणतन्त्र पछिका सायदै शासक होलान्। बेलाबेला पछि यसरी रमाइलो गरिरहने। गन्धर्भ समुदायमा नै लोपउन्मुख अवस्थामा रहेको सारंगी देशको राष्ट्रिय बाजा पनि हो। त्यो पनि प्रधानमन्त्री भइसकेका तीन नेताहरुले सारंगी र बाँसुरी भिर्नु नै एक अनौठो संयोग थियो। अनि भन्नुस् त हाम्रो छाति कति चौडा भयो होला?
तपाईँलाई याद होला, एकपटक प्रचण्डसँग बसेर मार्सी चामलको भोजन गरेपछि ‘मार्सी’ एकाएक ब्राण्ड बन्यो। अफसोच बाँसुरी र सारंगीले चर्चा पाए पनि ब्राण्ड बन्न सकेन। कसैले ‘बाँसुरीवाला प्रधानमन्त्री’ भनी रोमन सम्राट नीरोसँग दाँजे पनि।
तर, यी सबै दृश्यले मेरो मनमा धेरै प्रश्न उब्जिएका छन्। प्रविधिको यो जमानामा आफ्ना जिज्ञासा राख्ने धेरै माध्यम हुँदाहुँदै पनि पत्र लेख्ने विकल्प नै रोजेँ। अझै स्पष्ट के पार्न चाहन्छु भने मेरो पत्रको उद्देश्य तपाईँको विरोध गर्ने र भक्ति गाउँने दुवै होइन। तर प्रश्न धेरै भइकन पनि एउटै सोध्न चाहन्छु। रमाइले गरि आनन्द लिने तपाईले हाम्रो बाजा बजाउँदा हाम्रो धरातल सम्झिनुभयो कि नाई ?
कवि प्रधानमन्त्री ज्यू,
तपाईं ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा खुबै घन्काउनु हुन्छ, कवि शैलीमा। दोस्रो पटक सत्ताको बागडोर सम्हालेको दुई वर्ष बितिनै सक्यो। तर त्यो नारा युवा पुस्ताले पत्याएकै छैन। हरेक दिन विदेशिने युवाको संख्या हेर्दा यो कुरा घाम झैं छर्लङ्ग हुन्छ। समृद्धिको नाराले युवालाई प्रभावित त परको कुरा, छुन समेत सकेको छैन।
यहाँ केही तथ्य प्रस्तुत गर्न चाहन्छु। नेपालका १६ देखि ४० वर्ष उमेरका सक्रिय जनशक्ति खाडी मुलुक, भारत तथा अन्य देशमा पसिना बगाइरहेका छन्। जनसंख्या सम्बन्धि तथ्यांकले यो उमेर समूहका युवा झण्डै ४० प्रतिशत रहेको आंकडा छ। जनसंख्या विद्हरु यसलाई देशको लागि स्वर्णिम अवस्था भन्छन्। तर यी सबै देशको लागि काममा जुटेका छन् त ? वा देशले उपयोग गर्न सकेको छ? स्वयं सरकारले झण्डै ३० लाखको हाराहारीमा युवा विदेशमा रहेको आंकलन गरेको छ। तर युवा सम्बन्धि काम गर्ने संघ संस्थाले भने त्यो संख्या ५० लाख भएको बताउँदै आएका छन्।
नेपालबाट हरेक दिन कामको खोजीमा विदेशिने करिब १५ सय युवाको अवस्था निकै जोखिमपूर्ण तथा अव्यवस्थित छ। तपाईँलाई थाहै होला ती झण्डै ५० लाख नेपाली युवाले पठाउने रेमिट्यान्सले अर्थतन्त्र धानिएको छ। तर तपाईका विज्ञ अर्थमन्त्रीलाई थाहा छ कि नाई जुन देशको अर्थतन्त्र भन्सार र रेमिट्यान्सले धानेको छ त्यो देशको उधोगति हुन्छ भनेर ?
हरेक दिन कम्तिमा ७ जना युवा बाकसमा आउँछन्। यो हृदयविधारक दृश्यले कवि हृदयवाला प्रधानमन्त्रीलाई छुन्न ?
यसैगरी बेरोजगार, श्रमिक लक्षित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुरू भयो । ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ नारा भएको यो कार्यक्रम थियो। झारपात उखेल्दै कार्यक्रम सकियो। तपाईँ करोडौं खर्च गरेर पोलपोलमा टाँसिनुभयो। तर म जस्तै मजदुरी गरेर खाने युवाको मनमा पस्न सक्नुभएन। यहाँका बेरोजगार गन्धर्भहरु मात्रै होइन बहुसंख्यक बेरोजगारले रोजगार कार्यक्रमको संवैधानिक अधिकार पाएनन्। पत्यार नलाग्ला, भूमिहिन र सुकुम्बासीको रूपमा बस्दै आएका हामी गन्धर्भहरुलाई यसको जानकारी समेत छैन। तपाईँले बाँसुरी बजाउँदा भारतको गल्लीमा निकै खुसी थिएँ। तर त्यो खुसी स्थायी रहन सकेन।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ प्रभावकारी भयो त केवल पहुँचवालाका लागि। यो कुनै जनताको कार्यक्रम भन्दा पनि पार्टीका कार्यकर्ताको लागि मात्रै भयो। भन्दा नराम्रो सुनिएला तर हकिकत यही हो। ‘माछो, माछो भ्यागुतो’ मात्रै भयो।
दोस्रो पटक पनि यो कार्यक्रम शुरू हुन लागेको छ। मैले बेरोजगारको फर्म भर्न सकिनँ। त्यसैले सोच्दै छु, मजदुरी गर्न भारततिरै जानुपर्ला। अन्त हाम्रो जाने ठाउँ पनि कहाँ छ र?
म मात्रै होइन यहाँका सयौं बेरोजगार गन्धर्भ कसैले पनि पाएका छैनन्। तपाईँ ‘कोही भोकले मर्दैन, सडकमा बस्नु, पर्दैन’ भन्नुहुन्छ। तपाईँको बोलीमा कस्तो अनुप्रास मिल्छ। तर व्यवहारको अनुप्रास आकाश जमिन फरक छ। छोराछोरी विदेशमा, आमा बाबाले सडक र वृद्धाश्रममा बस्नु पर्ने देश हो यो। अनि कसरी बन्ला समृद्ध नेपाल? एकचोटी सोच्नुहोला।
संगीतप्रेमी प्रधानमन्त्री ज्यू,
हाम्रो पहिचान भनेकै सारंगी हो। म गन्धर्भको छोरा भइकन पनि सांरगी रेटेर गर्व गर्न सकिरहेको छैन। सम्पूर्ण घर मेरो जिम्मेवारीमा छ। परिवारको खुसीका खातिर भारतमा गएर मजदुरी गर्छु। १३ वर्षको उमेरदेखि भारतमा भाँडा माझ्दै आएको छु। यो यात्रा निरन्तर चलिरहेको छ। अब तपाई नै भन्नुहोस्, प्रधानमन्त्रीज्यू, म सारंगी बजाउन हिँडु कि परिवारको पेट पाल्न? के सारंगी बजाएर म पनि हिट हुने सम्भावना छ? नभए यत्ति चाहिँ भनिदिनुस् स्वदेशमै रोजगारी पाउने अवस्थाको सिर्जना कहिले हुन्छ? अनि हामीले राज्य भएको अनुभूति कहिले गर्ने?
लौ त प्रधानमन्त्रीज्यू धेरै के लेखौं। आफ्नै जग भुलेका तपाईँहरूलाई सम्झाएर हुने केही होइन। चप्पल लगाएर राजधानी छिरेका तपाईहरु जिवनस्तर धेरै बदलियो। हामी भूइमै छौं। केही सोच्नुहोला। बाँकी केही छैन। अर्को पत्र लेख्ने खास जाँगर नचल्ला। अभिवादन।
सुकुम्बासी बस्तीमा घर भएको, लालपूर्जा नभएको
महेश गन्धर्भ