प्रचण्डले भने- ओलीको राजीनामा दिल्लीले होइन मैले मागेको हो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आफूले मागेको बताएका छन्।

नेकपा स्थायी समितिको बैठकमा मंगलबार ओलीको अभिव्यक्तिको कडा शब्दमा खण्डन गर्दै दिल्लीले नभई आफूले ओलीको राजीनामा मागेको बताएका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी प्रचण्डले गरेका थिए। यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए।

‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भयो। भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन’, बैठकमा प्रचण्डले भनेका थिए।

प्रचण्डले दिल्लीले प्रधानमन्त्री पदबाट हटाउन खोज्यो भन्ने ओलीको अभिव्यक्ति उदास र नैराष्यपूर्ण रहेको बताएका छन्।

जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए। ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए।

त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए।

‘तपाईँ अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन यो मैले भनेको हो’, प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले बताए।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रमा भारतले मलाई हटाउन खोजेको भन्ने अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति: : 2020-06-30 16:15:57

प्रतिकृया दिनुहोस्