इयुले तयार पार्‍यो यात्रा स्वीकृतिका लागि १४ ‘सुरक्षित’ देशको सूची, अमेरिका, ब्राजिल र चीन अटाएनन्

युरोपियन युनियन भित्रका देशमा कोरोना भाइरसको महामारीका कारण लागेको विदेशी यात्रु (इयु बाहेकका देश) माथिको प्रतिबन्ध जुलाई १ देखि फुकुवा हुँदैछ।

युरोपियन युनियन (इयु)ले यात्राका लागि स्वीकृति पाउने १४ सुरक्षित देशको सूची सार्वजनिक गरेको छ। 

इयुका अधिकारीहरुले जुलाईमा यात्रा खुला गर्दा भ्रमणका लागि स्वीकृति दिइने सुरक्षित देशहरुको अन्तिम सूची सोमबारको बैठकबाट तय गरेका हुन्।

तर महामारी विश्वका विभिन्न क्षेत्रमा अहिले पनि तीव्र गतिमा फैलिरहेको छ। युरोपमै पनि अवस्था नियन्त्रणमा आइसकेको छैन, तर संक्रमण नियन्त्रणमा आउने क्रममा भने देखिएको छ।

इयुले यात्राका लागि सुरक्षित मानेर तय गरेका १४ देशको सूचीमा महामारीबाट सबैभन्दा बढी प्रभावित भएका अमेरिका, ब्राजिल र महामारीको उद्गमथलो चीन भने समावेश छैन।

यात्राको स्वीकृति पाउने देशको सूचीमा चीनलाई पनि राख्न इयु तयार थियो, तर त्यसका लागि युरोपेली यात्रुलाई पनि चीन भ्रमणको स्वीकृति दिइनु पर्ने शर्तमा चीन सहमत भएन। सोही कारण चीन १४ देशको सूचीमा अटाएन।

यता सूचीमा अस्ट्रेलिया, क्यानडा, जापान, मोरक्को र दक्षिण कोरिया भने अटाएका छन्।

युरोप भ्रमणका लागि सुरक्षित देशको सूचीमा अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मन्टेनेग्रो, मोरक्को, न्यूजिल्याण्ड, रुवाण्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वे रहेका छन्।

इयु भित्रका यात्रुका लागि यसअघि नै सीमा खुला गरिएको थियो। बेलायतका नागरिकलाई पनि आउँदो डिसेम्बर ३१ सम्म इयुका नागरिकसरह व्यवहार हुने जनाइएकाे छ।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा  संक्रमित हुनेको संख्या २५ लाख भन्दा बढी पुगेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या २५ लाख ८६ हजार भन्दा बढी पुगेको छ। त्यसमध्ये एक लाख २६ हजार भन्दा बढीको ज्यान गइसकेको छ।

विश्वभर संक्रमितको संख्या एक करोड दुई लाख ६८ हजार भन्दा बढीमा संक्रमण भएको छ। विश्वभर ज्यान गुमाउनेको संख्या पाँच लाख चार हजार भन्दा धेरै पुगेको छ।

प्रकाशित मिति: : 2020-06-30 07:05:47

प्रतिकृया दिनुहोस्